अर्जेन्टिनाका कप्तान लिओनेल मेसी फिफा विश्वकपमा सबैभन्दा बढी गोल गर्ने अर्जेन्टिनी खेलाडी बनेका छन्। मेसीले जारी विश्वकपमा क्रोएसियाविरूद्ध १ गोल गर्दै समग्र विश्वकपमा अर्जेन्टिनाका लागि ११ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका छन्।
मेसीले गएरातिको गोलसँगै ग्याब्रिएल बाटिस्टुटाले बनाएको १० गोलको कीर्तिमान तोडेका हुन्। अर्जेन्टिनाका लागि डिएगो म्याराडोना र गिलेर्मो स्ताबिलले विश्वकपमा समान ८-८ गोल गरेका छन् ।
मेसीले जारी कतार विश्वकपमा ५ गोल गर्दै गोल्डेन बुटको दाबेदार समेत बनेका छन्। उनले यस विश्वकपमा सर्वाधिक गोलकर्ता सूचिमा फ्रान्सका केलियन एमबाप्पेसँग समान ५ गोल गरेका छन्। यस्तै उनले सर्वाधिक ३ असिस्टसमेत गरेका छन्।
टिममा विश्वास थियो : मेस्सी
अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले दुई तथा लिओनेल मेस्सीले एक गोल गरे । मेस्सीले खेलमा एक दर्शनीय असिस्ट पनि प्रदान गरेका थिए । मेस्सीले प्रतियोगितामा ५ गोलका साथ सर्वाधिक गोलकर्तामा किलीयन एमबाप्पेसँग बराबरी पनि गरे । उनी अर्जेन्टिनाका लागि ११ गोलका साथ विश्वकपको सर्वाधिक गोलकर्ता पनि भए ।
खेलपछि बोल्दै मेस्सीले आफूलाई टिममा विश्वास रहेको बताए । ‘मलाई थाहा छैन यो मेरो उत्कृष्ट विश्वकप हो या होइन । म लामो समयदेखि यो खेलमा रमिरहेको छु । मलाई यो टिममा विश्वास थियो कि हामी अन्त्यसम्म जान सक्छौं भनेर । हामीलाई आफ्नो क्षमता थाहा छ र मात्र विश्वास गरिदिन आग्रह गर्दछौं,’ मेस्सीले सेमिफाइनलमा जितपछि भने ।
‘हामी कठिन परिस्थितिको सामना पार गरेर यहाँ आइपुगेका छौं । आज हामी एकदम राम्रो अवस्थामा छौं । र यो खुसी अर्जेन्टिनी समर्थकसँग साट्न चाहन्छौं । अहिले अर्जेन्टिनामा कस्तो अवस्था होला सम्झेर खुसी छु ।’
‘हामी प्रतियोगिताको सुरुवातमा बलियो दावेदारको रुपमा थिएनौं । तर हामी कसैलाई सहज रुपमा छोड्ने पक्षमा पनि थिएनौं । हामीले हरेक खेलपिच्छे आफ्नो क्षमता देखाएका छौं ।’