फिफा विश्वकपअन्तर्गत गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फ्रान्सका किलियान एम्बाप्पेलाई भेटेका छन्।क्रोएसियाविरुद्धको सेमिफाइनल खेलमा एक गोल गरेसँगै यो विश्वकपमा उनको गोलसंख्या ५ पुगेको छ। मेस्सी एउटै विश्वकपमा ५ गोल गर्ने सबैभन्दा पाको उमेरका खेलाडी हुन्।
एम्बाप्पेले पनि यो विश्वकपमा ५ गोल नै गरेका छन्। मेस्सीले पहिलो खेलमा साउदीविरुद्ध १ गोल गरेका थिए। दोस्रो खेलमा मेक्सिकोविरुद्ध पनि गोल गरेका मेस्सीले अन्तिम १६ मा अष्ट्रेलियाविरुद्ध र क्वार्टरफाइनलमा नेदरल्याण्ड्सविरुद्ध पनि गोल गरेका थिए।
फ्रान्सका लागि एमबाप्पेले पहिलो खेलमा अष्ट्रेलियाविरुद्ध १ गोल गरेका थिए। समूहको दोस्रो खेलमा डेनमार्कविरुद्ध २ गोल गरेका उनले अन्तिम १६ को खेलमा पोल्याण्डविरुद्ध पनि २ गोल नै गरे।
त्यस्तै मेस्सी र एम्बाप्पेका साथै फ्रान्सकै ओलिभर जिरुड र अर्जेन्टिनाका जुलियन अल्भारेज पनि यो प्रतिस्पर्धामा देखिएका छन्।फ्रान्सकै जिरुडले समूह चरणमा अष्ट्रेलियाविरुद्ध २ गोल, पोल्याण्डविरुद्ध १ गोल र क्वार्टरफाइनलमा इंग्ल्याण्डविरुद्ध १ गोल गरेका छन्।
क्रोएसियासँगको खेलमा २ गोल गरेका अल्भारेजले यो विश्वकपमा आफ्नो गोलसंख्या ४ पुर्याएका छन्। उनले यसअघि उनले पोल्याण्ड र अष्ट्रेलियाविरुद्ध १/१ गोल गरेका थिए।
गोल्डेन बुटमा एमबाप्पे अगाडि
कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपको सेमिफाइनल समीकरण पूरा भइसकेको छ। फाइनल प्रवेशका लागि अर्जेन्टिना र क्रोएसिया एवं साविक विजेता फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुँदैछ। विश्वकप फुटबल प्रतियोगिता समापनतर्फ लम्किँदा ‘गोल्डेन बुट’ अवार्ड कसले जित्लान् भन्ने चासो पनि चुलिएको छ।
‘गोल्डेन बुट’ विश्वकप फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड हो। विश्वकप फुटबलको यो अवार्ड जित्नुको अर्थ महान् खेलाडीको सूचीमा आफूलाई समावेश गर्नु पनि हो। त्यसैले यो अवार्डले खेलाडीका जीवनमा पनि विशेष अर्थ राख्दछ।
यस पटक ‘गोल्डेन बुट’को दौडमा फ्रेन्च फरवार्ड काइलिन एमबाप्पे सबैभन्दा अगाडि छन्। चार वर्षअघि रुसमा फ्रान्स विश्वकप विजेता बन्दा टिमका महत्वपूर्ण सदस्य रहेका एमबाप्पेले त्यो संस्करणमा भन्दा धेरै गोल गरिसकेका छन्। उनले अहिलेसम्म पाँच गोल ठोकिसकेका छन्। उनले समूह ‘डी’को अस्ट्रेलियाविरुद्धको पहिलो खेलमै गोलको खाता खोलेका थिए। डेनमार्कलाई २–१ ले हराएको दोस्रो खेलमा दुवै गोल एमबाप्पेले गरेका थिए। यस्तै पोल्यान्डविरुद्धको अन्तिम १६ को खेलमा पनि एमबाप्पेले दुई गोल गरेका थिए।
उनलाई आफ्नै देशका ओलिभर जिरुड र अर्जेन्टिनाका कप्तान लियोनल मेसीले चार÷चार गोलसहित पछ्याइरहेका छन्। फ्रान्सका सर्वकालीन महान खेलाडी थियरी अनरीको ५१ खेलको कीर्तिमान भंग गरेका जिरुडले राष्ट्रिय टोलीबाट ५३ गोल गरिसकेका छन्। उनले विश्वकपको पहिलो खेलमै दुई गोल गरेका थिए। यस्तै पोल्यान्डविरुद्धको अन्तिम १६ को खेलमा तेस्रो गोल गरेका जिरुडले इङ्ल्यान्डविरुद्धको क्वार्टरफाइनलमा पनि एक गोल गरेका थिए।
यसैगरी समूह चरणमा साउदी अरेबियाविरुद्धको खेलमा पेनाल्टीमार्फत गोलको खाता खोलेका मेसीले मेक्सिकोविरुद्धको खेलमा दोस्रो गोल गरेका थिए। यसैगरी अस्ट्रेलियाविरुद्धको एक हजारौं खेलमा पनि मेसीले उत्कृष्ट गोल गरेका थिए। यस्तै नेदरल्यान्ड्सविरुद्धको क्वार्टरफाइनल भिडन्तमा उनले पेनाल्टीमै गोल गरेका थिए।
एमबाप्पे, जिरुड र मेसीलाई पोर्चुगलका गोन्कालो रामोस, स्पेनका अल्भारो मोराटा, इङ्ल्यान्डका मार्कस रासफोर्ड, इक्वेडरका इनर भ्यालेन्सिया, इङ्ल्यान्डकै बुकायो साका, ब्राजिलका रिचार्लिसन, नेदरल्यान्ड्का कोडी गाक्पोले तीन/तीन गोलका साथ पछ्याइरहेका छन्। तीन गोल गरेका सबै खेलाडीको टोली विश्वकपबाट बाहिरिसकेकाले ‘गोल्डेन बुट’का लागि एमबाप्पे, जिरुड र मेसीबीच नै प्रतिस्पर्धा हुने देखिएको छ।