३६ वर्षपछि मेसीले फर्काए विश्वकप, तत्काल संन्यास नलिने मेसीको घोषणा

३६ वर्षपछि मेसीले फर्काए विश्वकप, तत्काल संन्यास नलिने मेसीको घोषणा

दोहा ।  कतारमा आइतबार बिहानैदेखि माहोल अर्जेन्टिनाको पक्षमा थियो । मेट्रो, सपिङ मल, फ्यान जोनलगायत सार्वजनिक स्थलमा नीलो र सेतो धर्के जर्सी लगाउनेहरू आफ्नै भाषामा गीत गाउँदै उफ्रिरहेका थिए । धेरैले लियोनल मेसीको जर्सी लगाएका थिए । जर्सी नं. १० बजारमा पाउनै छाडेको थियो ।

विश्वकप २०२२ फाइनलका लागि चार घण्टाअघि नै लुसेल रंगशाला जाँदा मेट्रोमा उभिने ठाउँ पाउन पनि मुस्किल थियो । निजी कार, ट्याक्सीलगायत सवारीसाधनको ट्राफिक थेगिनसक्नु थियो ।समुद्र पुरेर बनाइएको लुसेल रंगशालाको माहोल पनि अर्जेन्टिनामय थियो । ८८ हजार ९ सय ६६ दर्शकमध्ये धेरैजसो अर्जेन्टिना समर्थक थिए । गीत गाउँदै, हात फैलाउँदै उफ्रिने अर्जेन्टिनी समर्थकले प्यारापिट भरिएको थियो । एउटा गोलपोस्ट पछाडि केही हजार मात्रै फ्रान्सका समर्थक थिए । खाडी क्षेत्रमा पहिलोपल्ट भएको फुटबल महाकुम्भ २९ औं दिनमा सकिँदा पूरा प्रतियोगिता अर्जेन्टिनामय रह्यो । अन्ततः अर्जेन्टिना ३–३ को बराबरीपछि फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराएर ३६ वर्षपछि विश्वकप च्याम्पियन भयो ।

यससँगै मेसीले पनि पाँचौं प्रयासमा विश्वकप जित्ने सपना पूरा गरेका छन् । मेसीको टिम ८ वर्षअघि पनि फाइनलमा पुगेको थियो । तर, त्यसबेला अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले हराएर जर्मनी च्याम्पियन भएको थियो । अर्जेन्टिना तेस्रोपल्ट विश्वविजेता बनेको हो । यसअघि मारियो केम्पस (सन् १९७८) र म्याराडोना (१९८६) को उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना विश्वविजेता भएको थियो । विश्वकप विजेता भएसँगै मेसीले सर्वकालीन महान् खेलाडीका रूपमा आफूलाई बिनाप्रश्न उभ्याएका छन् । विश्वकै सर्वोत्कृष्ट खेलाडीको अवार्ड बालोन डी’अर कीर्तिमानी सातपल्ट जितेका उनले फुटबलमा सम्भव सबै प्रतियोगिता जित्ने क्रमलाई विश्वकपमा आएर पूर्णता दिएका हुन् । गतवर्ष मात्रै उनकै उत्कृष्ट खेलमा अर्जेन्टिना कापा अमेरिका च्याम्पियन भएको थियो ।

Europass CV in Nepal

फ्रान्सेली क्लब पीएसजीमा सँगै खेल्ने मेसी र केलियन एमबाप्पेबीचको प्रतिस्पर्धाजस्तै रह्यो फाइनल । २३ वर्षे एमबाप्पे विश्वकपको ९२ वर्ष लामो इतिहासमा फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बने । यसअघि इंग्ल्यान्डका जोफ हर्स्टले सन् १९६६ मा जर्मनीविरुद्ध ह्याट्रिक गरेका थिए । रुसमा चार वर्षअघि क्रोएसियालाई ४–२ ले हराएर फ्रान्सले उपाधि जित्दा एमबाप्पेले एक गोल गरेका थिए । त्यसैले उनी फाइनलमा सबैभन्दा बढी चार गोल गर्ने खेलाडी भएका छन् । यसपालि कुल ८ गोलसहित उनले गोल्डेन बुट अवार्ड जितेका छन् ।

सात गोल र तीन असिस्ट गरेका मेसीले उत्कृष्ट खेलाडीको अवार्ड ‘गोल्डेन बल’ हात पारे । उपाधि जित्ने क्रममा ३५ वर्षीय उनी समूह चरण, अन्तिम १६, क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्ने विश्वकप इतिहासकै एक्लो खेलाडी बने । मेसीले कतार जानुअघि यसैलाई करिअरको अन्तिम विश्वकप बताइसकेका थिए । विश्वविजेता बनेपछि भने उनले राष्ट्रिय टिमबाट तत्काल संन्यास नलिने घोषणा गरेका छन् ।

अवार्डमा अर्जेन्टिनाकै कब्जा रह्यो । गोलकिपर एमिलियानो मार्टिनेजले गोल्डेन ग्लोभ र एन्जो फर्नान्डेजले उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् ।

अर्जेन्टिना पहिलो खेल हारेर पनि विश्वकप जित्ने दोस्रो टिम हो । साउदी अरेबियाविरुद्ध २–१ ले हारेपछि प्रत्येक खेल फाइनलजस्तै रहेको अवस्थामा जित निकाल्दै अर्जेन्टिना च्याम्पियन भएको हो । स्पेनले सन् २०१० मा पहिलो खेल हारेपछि कमब्याक गर्दै उपाधि जितेको थियो । साउदीविरुद्ध हारेपछि अर्जेन्टिना मेक्सिको, पोल्यान्ड, अस्ट्रेलिया, नेदरल्यान्ड्स र क्रोएसियालाई सिकार बनाउँदै फाइनलमा फ्रान्सलाई पन्छाएर च्याम्पियन भएको हो ।

सनसनीपूर्ण खेल

डिफेन्डिङ च्याम्पियन फ्रान्सविरुद्ध मैदानभित्रको प्रतिस्पर्धामा पनि पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनाले कप्तान मेसीको पेनाल्टी र एन्जेल डी मारियाको गोलमा २–० को अग्रता लिएको थियो । त्यसैले दक्षिण अमेरिकी च्याम्पियनलाई डिएगो म्याराडोनाको युगपछि विश्वकप विजेता बन्न गाह्रो नहुने अनुमान गरिएको थियो । उसका समर्थकले निरन्तर गीत गाउँदै, उफ्रिँदै खुसीयाली मनाउन थालेका थिए ।

तर, खेलाडी परिवर्तन गर्दै फ्रान्सले ६० मिनेटपछि लय समात्यो । केलियन एमबाप्पेले ८० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै फ्रान्सको उपाधि जोगाउने आस कायमै राखे । एक मिनेटभित्रै उनले लोभलाग्दो गोल गरेपछि निर्धारित समय २–२ को बराबरीमै टुंगियो । त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समय अत्यन्तै रोमाञ्चक रह्यो ।

कप्तान मेसीले १०८ औं मिनेटमा अर्जेन्टिनालाई ३–२ ले अघि बढाउँदै फेरि जितनजिक पुर्‍याए । विश्वकप इतिहासमा यो उनको १३ औं गोल हो । उनले यसपालि चार गोल पेनाल्टीमा गरेका हुन् । उनी पोल्यान्डविरुद्धको पेनाल्टीमा भने चुकेका थिए । अतिरिक्त समयमा फ्रान्सले फेरि पेनाल्टी पायो । त्यसमा एमबाप्पेले गोल गर्दै ११८ औं मिनेटमा खेल ३–३ को बराबरी बनाइदिए ।

टाइब्रकेरमा सुरुमै एमबाप्पे र मेसीको प्रहार सफल रह्यो । तर, किंग्स्ले कोम्यानको प्रहार गोलकिपर एमिलियानोले रोक्दै अर्जेन्टिनालाई विजयउन्मुख बनाए । अउरेलिन चाउमेनीले बल पोस्टबाहिर हाने । पाउलो डिबाला, लियान्द्रो पाराडेसपछि गोन्जालो मोन्टियलले सटीक प्रहार गरेपछि अर्जेन्टिना टाइब्रेकरमा ४–२ को जित रच्दै ३६ वर्षपछि विश्वकप विजेता बन्यो ।

अर्जेन्टिनाले फ्रान्सविरुद्ध सन् २०१८ को विश्वकपमा अन्तिम १६ मा बेहोरेको ४–३ को हारको बदला पनि लियो । कप्तान मेसी र अर्जेन्टिनाको सफलतासँगै फ्रान्स भने लगातार दुईपल्ट उपाधि जित्ने तेस्रो टिम बन्न चुक्यो । इटाली (सन् १९३४ र १९३८) र ब्राजिल (१९५८ र १९६२) ले मात्रै लगातार दुईपल्ट विश्वकप जितेका छन् । फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प ८४ वर्षअघि लगातार दुई विश्वकप जितेका प्रशिक्षक भिटोरियो पोज्जोको रेकर्ड बराबरी गर्न असफल रहे । ४४ वर्षीय अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनी ४४ वर्षयता विश्वकप जित्ने सबभन्दा कान्छो प्रशिक्षक भए । सन् १९७८ मा अर्जेन्टिनाले विश्वकप जित्दाका प्रशिक्षक सिजर लुइस मेनोटी ३९ वर्षका थिए ।

युरोप र दक्षिण अमेरिकी टिमबीचको यो ११ औं फाइनल पनि हो । यस्तो समीकरणमा दक्षिण अमेरिकी टिमले फाइनल जितेको आठौं अवसर हो । समग्रमा दक्षिण अमेरिकी टिमले १० पल्ट र युरोपेली टिमले १२ पल्ट विश्वकपको उपाधि जितेका छन् ।