काठमाडौं । फिफा विश्वकप विजेता लियोनल मेसीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँगको सम्झौता नवीकरण गरेको जानकारी दिइएको छ । फ्रान्सको एक दैनिक पत्रिकाकाअनुसार अर्जेन्टिनी मेसी कम्तीमा सन् २०२२–२३ को सिजनसम्म पीएसजीमा रहने छन् । डिसेम्बरको सुरुवातमा मेसी र क्लबबीच कम्तिमा एक सिजन सहकार्य अघि बढ्ने गरी सहमती भएको पत्रिकाले जनाएको छ । यस विषयमा पत्रिकाले कुनै पनि स्रोतलाई भने उल्लेख गरेको छैन ।
पीएसजीले पनि तत्काल कुनै प्रतिक्रिया नजनाएको रोयटर्सले बताएको छ । यसअघि पीएसजीका अध्यक्ष नासिर अल खेलैफिले च्याम्पियन्स लिग वान क्लबमा मेसी खुसी रहेको र विश्वकपपछि सम्झौताबारे छलफल हुने बताएका थिए ।
मेसी सन् २०२१ मा स्पेनिस क्लब बार्सिलोनाको लामो करियर अन्त्य गर्दै पीएसजीमा आबद्ध भएका थिए । उनले सबै प्रतिस्पर्धामा गरी १२ गोल र १४ एसिस्ट गरेका छन् ।अहिले मेसी कतार विश्वकपमा च्याम्पियन बनेपछि स्वदेशमा खुशीयाली मनाइरहेका छन् । मेसीको करियरको यो पहिलो विश्वकप उपाधि हो । अर्जेन्टिनाले ३६ वर्षपछि च्याम्पियन बन्ने क्रममा फ्रान्सलाई पेनाल्टी सूटआउटमा पराजित गरेको थियो ।
म्यानचेस्टर युनाइटेड लिग कपको क्वाटरफाइनलमा
म्यानचेस्टर युनाइटेड बर्नलीमाथि २ – ० गोलको सहज जित हात पार्दै लिग कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।घरेलु मैदान ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा युनाइटेडले २७ औँ मिनेटमा अग्रता लिएको थियो । आरोन वान बासाकाको सहयोगमा क्रिस्टियन एरिक्सनले गोल गरेका थिए ।
बासाकाको सन् २०२१ मे यताको यो पहिलो एसिस्ट हो । युनाइटेड प्रशिक्षक एरिक टेन हाखले कतार विश्वकप खेलेका पाँच खेलाडीलाई सुरुवाती एघारमा उतारेका थिए । ५७ औँ मिनेटमा मार्कस र्यासफर्डले टिमका लागि दोस्रो गोल थपे । लिग कपमा र्यासफर्डको यो दोस्रो गोल हो ।
म्यानचेस्टर सिटीका पूर्व खेलाडी भिन्सेन्ट कोम्पनीको प्रशिक्षणमा रहेको बर्नली खेलमा फर्कन सकेन । र, युनाइटेडले अन्तिम आठमा स्थान सुरक्षित गर्यो। पछिल्लो पाँच वर्ष यता केवल दोस्रो पटक लिग कपमा युनाइटेडले ९० मिनेट भित्र जित निकालेको हो । नटिङहम फरेस्ट पनि ब्ल्याक बर्न रोभर्सलाई पराजित गरेर लिग कपको क्वाटरफाइनमा पुगेको छ ।