कडा सुरक्षाको घेरा पार गर्दै फाइनल खेलको मैदान प्रवेश गर्ने ‘साल्ट बे’माथि फिफाले अनुसन्धान गर्ने

कडा सुरक्षाको घेरा पार गर्दै फाइनल खेलको मैदान प्रवेश गर्ने ‘साल्ट बे’माथि फिफाले अनुसन्धान गर्ने

कतार विश्वकप २०२२ को फाइनल खेलपछि मैदानमा उपस्थित भएका चर्चित टर्किस सेफ नुस्ररेट गोक्सी (साल्ट बे)माथि विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले अनुसन्धान गर्ने भएको छ ।

कडा सुरक्षा घेरा पार गर्दै मैदान प्रवेश गरेका बेको चर्काे आलोचना भइरहेको छ । गत आइतबार दोहामा सम्पन्न फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै अर्जेन्टिना तेस्रोपटक विश्व च्याम्पियन भएको थियो । निर्धारित समयको ९० र अतिरिक्त ३० मिनेटको समयमा ३–३ गोलको बराबरी भएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट भएको थियो ।

फाइनलपछि बेले सामाजिक सञ्जालमा विश्वकप समापन समारोहको तस्बिर सार्वजनिक गरेका थिए । साथै, अर्जेन्टिनाका लियोनल मेसीसहित अन्य खेलाडीसँग खिचेको तस्बिर राखेका थिए । विश्वकपको समापन समारोहमा मैदानमा जान खेलाडी र फिफाका पदाधिकारीलाई मात्रै अनुमति छ । तर, सेफ बे मैदानमै गएर तस्बिर राखेपछि फिफाको चर्काे आलोचना भएको हो ।

बेले विश्वकपको सुरुवातमा फिफाका अध्यक्ष जियानी इन्फान्टिनो, ब्राजिलका रोनाल्डो, काफु र रोबर्टाे कार्लाेससँगका तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । विवादमा आएपछि फिफा अध्यक्ष इन्फान्टिनोले बेलाई इन्स्टाग्राममा ‘अनफलो’ गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । साल्ट बेलाई इन्स्टाग्राममा ५० मिलियनले फलो गरेका छन् । सन् २०१७ पछि चर्चामा आएका बेले पछिल्लो समय खेलाडी र विभिन्न सेलेब्रिटीसँग भिडियो बनाउँदै सामाजिक सञ्जालमा पोस्ट गर्दै आएका छन् ।