मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

रिहा भए क्रिकेटर सन्दीप लामिछाने

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई रिहाइ प्रक्रियाका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ । उनलाई केन्द्रीय कारागारबाट जिल्ला अदालत लगिएको हो ।

यसअघि उच्च अदालत पाटनले बलात्कार आरोप लागेका लामिछानेलाई २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न दिएको आदेशको पत्र जिल्ला अदालत काठमाडौं आइपुगेको थियो । सन्दीपका दाजु मोहन लामिछानेले धरौटी बुझाइसकेको र त्यसको पत्र कारागार पुगिसकेको छ । त्यसपछि उनलाई अदालतमा हाजिर गराइएको हो । अदालतमा मूल मुद्दाको तारिख बुझेपछि पुन केन्द्रीय कारागार लगेर सन्दीपलाई रिहा गरिने उनका कानुन व्यवसायीले बताएका छन् ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा दिइएको पुनरावलोकनको निवेदनमाथि सुनुवाइमा धरौटीमा लिएर थुनामुक्त गर्न आदेश गरेको हो।

पाटन उच्च अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलका अनुसार लामिछाने काठमाडौं उपत्यका बाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाडौंको अनुमति लिनुपर्नेछ भने पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन नपाउने गरी थुनामुक्त गरिएको हो ।गत कात्तिक १६ मा जिल्ला अदालत काठमाडौंमा लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो ।

लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिग नरहेको जिकिर गर्दै आएका थिए । लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसमेत गरिएको थियो । लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका थिए । लामिछाने गत असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ परेका थिए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।