साउदी क्लवको तर्फबाट रोनाल्डो दुई गोल गर्दा पनि मेस्सीको क्लव पिएसजीले खेल जित्यो

साउदी क्लवको तर्फबाट रोनाल्डो दुई गोल गर्दा पनि मेस्सीको क्लव पिएसजीले खेल जित्यो

एजेन्सी ।  साउदी अरबमा भएको रियाद सिजन टोली र पेरिस सेन्ट जर्मेन (पिएसजी) को मैत्रीपूर्ण खेलमा फ्रान्सेली टोलीले जित हासिल गरेको छ । निकै रोमान्चक खेलमा अधिकांश समय १० खेलाडीमा खेलेको पिएसजी ५-४ ले विजयी भयो ।

पिएसजीका लागि लिओनेल मेस्सी, किलीयन एमबाप्पे, मार्किन्हस, सर्जियो रामोस र ह्युगो एकिटिकेले १-१ गोल गरे । रियादका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा एन्डरसन तालिस्का र जाङ ह्युन सुले गोल फर्काएपनि नतिजा बदल्न सकेनन् ।

खेलको तेस्रो मिनेटमै लिओनेल मेस्सीले पिएसजीलाई अग्रता दिलाए । रोनाल्डोले पेनाल्टीमा गोल फर्काएको केहि मिनेटमा पिएसजी १० खेलाडीमा सिमित भएको थियो । कम खेलाडीको बाबजुद पिएसजीले अग्रता लिएको थियो । इन्ज्युरी समयमा नेयमार पेनाल्टीमा चुक्दा अर्कोतर्फ रोनाल्डोले गोल फर्काउँदै पहिलो हाफमा खेल बराबरीमा राखे ।

Europass CV in Nepal

दोस्रो हाफको सुरुवातमा नै पिएसजीले सर्जियो रामोसको गोलमा अग्रता लियो । तर दुई मिनेटमा नै जाङ ह्युन सुले हेडरमार्फत गोल गर्दै खेल पुन: बराबरी गरे । तर बराबरी भएको दुई मिनेटपछि नै पिएसजीका लागि एमबाप्पेले पेनाल्टीमार्फत अग्रता दिलाए । स्टार खेलाडीहरु विश्राममा गएपछि मैदान छिरेका युवा फरवार्ड ह्युगो एकिटिकेले पिएसजीको अग्रता दोब्बर पारे । इन्ज्युरी समयमा रियादले गोल गरेपनि खेलमा फर्कन निकै ढिलो भइसकेको थियो ।

खेलको सुरुवातदेखि नै बल पोसेसनमा पकड जमाएको पिएसजीका लागि मेस्सीले तेस्रो मिनेटमा गोल गरे । उनले नेयमारले दिएको चिप पासलाई गोलमा परिणत गरे । मेस्सीले पेनाल्टी क्षेत्र भित्र गोलरक्षक र डिफेन्सले पछ्याएको अवस्थामा दुई विपक्षीको बीचबाट बललाई पोस्टको दिशा दिएका थिए । लगत्तै पाँचौ मिनेटमा क्रिस्टियानो रोनाल्डोको प्रहार गोलरक्षक केलर नाभासले जोगाए ।

खेलको ३४ औं मिनेटमा रोनाल्डोले साउदी टोलीलाई पेनाल्टीमार्फत गोल गर्दै खेलमा फर्काए । गोलरक्षक केलर नाभास क्रसमा बल रोक्ने क्रममा रोनाल्डोको मुखमा जुधेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीमा रोनाल्डोले सहजै गोल गरे ।

३९ औं मिनेटमा पिएसजी १० खेलाडीमा समेटियो । जुआन बर्नाटले काउन्टर अट्याकमा अघि बढेको अवस्थामा सलेम अल दसारीलाई लडाएपछि रेफ्रीले सिधै रातो कार्ड दिए । तर त्यसले पिएसजीलाई अग्रता लिनबाट रोक्न । कप्तान मार्किन्हसले ४३ औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । उनले किलियन एमबाप्पेको पासलाई सदुपयोग गरे ।

इन्ज्युरी समयमा नेयमारलाई पेनाल्टी क्षेत्र भित्र लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा पिएसजीलाई पेनाल्टी दिए । तर नेयमारको पेनाल्टी गोलरक्षक अल ओवाइसले बचाए । अर्कोतर्फ केहि मिनेटमै रोनाल्डोले बराबरी गोल फर्काए । रोनाल्डोको सुरुवाती हेडर पोस्टमा लागेर फर्केपछि सर्जियो रामोसले राम्रो क्लिअरेन्स गर्न नसक्दा रिबाउन्डमा पोर्चुगिज फरवार्ड चुकेनन् ।

खेलको ५४ औं मिनेटमा पिएसजीले खेलमा तेस्रो पटक अग्रता लियो । एमबाप्पेको कटब्याकलाई रामोसले पहिलो टचमा नै गोल गरे । ६ यार्ड बक्सभित्र अनमार्क रहेका रामोसको प्रहार गोलरक्षक अलओवाइसले बचाउन सकेनन् । तर दुई मिनेटमै रियादले बराबरी गोल फर्कायो । जाङ ह्युन सुले कर्नरमा आएको बललाई हेडरमार्फत पोस्टको दिशा दिँदै खेल ३-३ को स्थितिमा ल्याए ।

५९ औं मिनेटमा पिएसजीले पेनाल्टी पायो । पेनाल्टी क्षेत्रभित्र मेस्सीको प्रहार अल बुलाहीले रोकेपछि रेफ्रीले पेनाल्टी दिए । किलीयन एमबाप्पेले पेनाल्टीलाई गोलमा परिणत गर्दै पिएसजीलाई अघि बढाए । गोल खाएलगत्तै खेलको ६० औं मिनेटमा रोनाल्डोलाई परिवर्तन गरिएको थियो । पिएसजीले पनि त्यसबेला नै मेस्सी, एमबाप्पे र नेयमारलाई विश्राम दिएको थियो ।

७८ औं मिनेटमा पिएसजीले अग्रता दोब्बर पार्यो । ह्युगो एकिटिकेले काउन्टर अट्याकमा आएको बललाई अघि बढाउँदै वन भर्सेस वनको अवस्थामा सुन्दर फिनिस गरे । इन्ज्युरी समयको अन्त्यमा एन्डरसन तालिस्काले गोल गरेपनि खेलमा पिएसजी जित हासिल गर्न सफल भयो ।

Europass CV in Nepal