मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

सन्दिप लक्षित प्रदर्शन, ‘क्रिकेट हेर्न मन छ बलात्कारीको डर छ’

Himali Patrika 1 मिनेट पढाइ

बलात्कार मुद्दाका अभियुक्त सन्दीप लामिछानेलाई खेलमा फर्काएको विरोधमा शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ । युवाहरुको एक समूहले नेपाल क्रिकेट संघ (क्यान) र सन्दीपलाई बहिष्कार गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले बलात्कार आरोपी र उनलाई साथ दिने दुवैलाई बहिष्कार गर्नुपर्ने आशयका नारा लेखेको प्लेकार्ड बोकेका थिए । एक नाबालिकालाई बलात्कार गरेको अभियोग क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ। तर क्रिकेट संघले उनलाई राष्ट्रिय टिममा फर्काएपछि विरोध भइरहेको छ ।

उच्च अदालत पाटनले शर्तसहित रिहा गरेपछि क्यानले अभियुक्त लामिछानेको निलम्बन फुकुवा गरेको थियो। यस्तै क्यानले उनलाई राष्ट्रिय टिममा समावेश गरी बन्द प्रशिक्षणमा समेत राखेको छ। त्यसरी राखेपछि सामाजिक सञ्जालमा क्यानको यो निर्णयको विरोध भइरहेको छ।

पीडितलाई लात बलात्कार आरोपीलाई साथ, मेरो राष्ट्रिय टिममा बलात्कार अभियुक्त हुनसक्दैन!, आर वी सेफ, उता फिक्सिङ गराउने यता बलात्कार आरोपीलाई क्याम्पमा राख्ने क्यान मुर्दावाद लगायतका नाराहरूसहितको प्याम्प्लेट उनीहरूले बोकेका छन्।

सामाजिक सञ्जाल प्रयोगकर्ताले #BoycottCAN अभियान चलाएका छन् । उनीहरुले भोलि शनिबार दिउँसो १ बजे माइतीघरमा भेला भएर क्यानको विरोधमा प्रदर्शन गर्न आह्वान पनि गरेका छन् ।

बसन्त गौतमले #BoycottCAN भन्दै ट्वीट गरेका छन्, ‘फौजदारी अभियोग लागेको एउटा व्यक्तिलाई त्यसको अन्तिम फैसला आउनुअघि नै लोकप्रिय खेलमार्फत देशको प्रतिनिधित्व गर्ने ठाउँमा पुर्‍याएर क्यानले नेपाली क्रिकेट क्षेत्रमा नैतिकता र सार्वजनिक मर्यादा जस्ता विषयले महत्व राख्दैनन् भन्ने जनाउ दिएको छ ।’

तुल्सीराम भुषालले क्यानले बलात्कार जस्तो जघन्य अपराधमा आरोपितलाई राष्ट्रको प्रतिनिधित्व गराउन खोजेको भन्दै प्रधानमन्त्रीलाई मेन्सन गरेर लेखेका छन्, ‘क्रिकेटका मूलीहरु त नाङ्गै हिंडे @PM_nepal_ सरकार कता छ ?’

माइतीघरमा भेला हुन आग्रह गर्दै हिमाले ट्वीट गरेकी छिन्, ‘भोलि शनिबार १ बजे माइतीघर मण्डला, नागरिक मौन बस्दैन ! सरकार, प्रतिपक्षी नभएको सरकार र क्यान #BoyCottCAN’

ट्वीटरमा सोमेशले बन्द प्रशिक्षणमा सन्दीपसँगै रहेका अरु १९ जना खेलाडीलाई प्रश्न गर्दै लेखेका छन्,’नेपाली क्रिकेट टिममा परेका १९ जना खेलाडीलाई प्रश्न: तपाईंहरुलाई अन्य देशसँग खेल्दा हामीले किन समर्थन गर्ने ? (कि त तपाईंहरु बलात्कार आरोपको पक्षमा हुनुपर्छ कि विरोधमा… बीचको बाटोको सुविधा छैन यो मुद्दामा !)’

बलात्कारका आरोपीसँग खेल्न सक्दैनौं भन्ने खेलाडी कोही रहेनछन् भन्दै आदित्यले ट्वीट गरेका छन्, ‘नेपाली क्रिकेट टोली र क्यान बहिष्कार गरौं। एउटा बलात्कार आरोपितलाई टिममा राख्ने कुराको विरोध गर्न नसक्नेहरुले जताबाट जे जितेर ल्याए नि काम छैन ।’

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।