मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

नेपाललाई नामिबियाले दियो २७५ रनको लक्ष्य

Himali Patrika 1 मिनेट पढाइ

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबिया, नेपाल र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नामिबियाले नेपाललाई २७५ रनको लक्ष्य दिएको छ।कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ६ विकेटको क्षतिमा २७४ रन जोड्यो।

नामिबियाका लागि जेन ग्रिनले नटआउट ७५ रन जोडे। उनले ६३ बलमा ११ चौका र १ छक्का प्रहार गरे। ये फ्रान्सले ४९ रन जोड्दा ओपनर लो लाउरेन्सले ४१ रन जोडे।बलिङमा नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए। उनले १० ओभरमा ४६ रन खर्चिए। करण केसीले १ विकेट हात पारे।

सिरिजमा यसअघि नेपालले लगातार दुई खेलमा जित हात पारेको थियो। नेपालले आफ्नो पहिलो खेलमा नामिबिया तथा दोस्रो खेलमा स्कटल्यान्डलाई हराएको थियो।नेपालले मंगलबार अन्तिम खेलमा स्कटल्यान्डसँग भिड्नेछ।

लिग-२ मा स्कटल्यान्ड च्याम्पियन भइसकेको छ। लिग-२ को शीर्ष टिम स्कटल्यान्डले ३४ खेलबाट ४८ अंक जोडेको छ। दोस्रो स्थानको ओमानले आफ्ना सबै ३६ खेल खेल्दा ४४ अंक जोडेको छ। तेस्रो स्थानको नामिबियाले अन्तिम चार खेल बाँकी छदा ३७ अंक जोडेको छ। चौथो स्थानको अमेरिकाले सबै ३६ खेलबाट ३५ अंक जोडेको छ। यो अवस्थामा अब स्कटल्यान्डले बाँकी सबै खेल हारे पनि शीर्ष स्थान गुमाउने छैन।

लिग-२ मा नेपाल छैटौं स्थानमा छ। नेपालले लिग-२ मा आफ्ना १० खेल खेल्न बाँकी छदा २६ खेलबाट २२ अंक जोडेको छ। नेपालभन्दा माथि रहेको पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ। पुछारको पिएनजीको २८ खेलबाट ५ अंक मात्र छ।

लिग-२ का शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। बाँकी चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। लिग-२ बाट स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन्। अब बाँकी एक स्थानका लागि नामिबिया, नेपाल र युएईबीच प्रतिस्पर्धा छ। जसमा नामिबिया बलियो स्थानमा रहदा नेपाललाई शीर्ष तीनमा पर्न कठिन छ।

आइसिसीले क्रिकेट विश्वकप २०२३ को छनोटका लागि तीन वटा लिग गरिरहेको छ। जसमा टेस्ट मान्यता प्राप्त १२ टिम र नेदरल्यान्ड्स गरी १३ टिमबीच सुपर लिग, नेपालसहित सात एकदिवसीय मान्यता प्राप्त टिमबीच लिग-२ र एसोसिएट टिमबीच प्रतिस्पर्धा भएको च्यालेन्ज लिग रहेका छन्।

सुपर लिगबाट ७ टिम र आयोजक भारत गरी आठ टिम विश्वकप २०२३ मा पुग्नेछन्। अब दुई स्थानका लागि सुपर लिगका पाँच टिम, लिग-२ का तीन टिम र क्वालिफायर प्लेअफका दुई टिम गरी १० टिमबीच छनोट प्रतियोगिता हुँदैछ। क्वालिफायर प्लेअफमा लिग-२ का चार टिम र च्यालेन्ज लिगका दुई टिम गरी छ टिमबीच प्रतिस्पर्धा हुनेछ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।