घरेलु मैदानमा जारी आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजमा नेपालले लगातार तेस्रो जित निकालेको छ । सिरिजमा जितको ‘ह्याट्रिक’ पूरा गर्ने क्रममा नेपालले शनिबार नामिबियालाई ३ विकेटले हरायो । जारी श्रृंखलामा नामिबियाविरुद्ध नेपालको यो लगातार दोस्रो जित हो ।
पहिलो खेलमा नामिबियाविरुद्ध नेपाल २ विकेटले विजयी भयो । दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो । विगत सिरिजमा नेपालको प्रमुख समस्या ब्याटिङ मानिन्थ्यो । अधिकांश खेलमा नेपाललाई २ सय रन कटाउन पनि मुस्किल पर्थ्यो । ब्याटिङ नचलेकै कारण नेपालले विगतमा जित नजिक पुगेका धेरै खेल गुमायो ।
यद्यपि जारी सिरिजमा भने नेपालले तीनवटै खेल लक्ष्य पछ्याउने क्रममा पूरा गर्यो । यी तीनै खेलमा नेपालले २ सय ७० भन्दा माथिको लक्ष्य प्राप्त गरेको थियो । र, तीनवटै खेलमा नेपालले उत्कृष्ट ब्याटिङ गर्दै थुप्रै कीर्तिमान बनायो । लगातार उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली टोलीको अहिले चौतर्फी प्रशंसा भइरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि नेपालको जितको बारेमा समाचार प्रकाशन/प्रसारण गरेका छन् ।
भारतीय सञ्चारमाध्यमले पनि नेपालको जितबारे समाचार लेखेका छन् । क्रिकेट वर्ल्डले लेखेको छ, ‘आइसिसी विश्वकप लिग–२ मा नामिबियाविरुद्ध नेपाल ३ विकेटले विजयी ।’ हिन्दुस्तान टाइम्सले पनि नेपाल र नामिबियाबीचको पूरा स्कोरबार्ड आफ्नो वेबसाइटमा राखेको छ । भारतको चर्चित खेलकुद अनलाइन स्पोर्ट्सकीडाले शीर्षकमा लेखेको छ, ‘बलियो टोलीलाई लगातार तेस्रोपटक हराउँदै एकदिवसीय शृंखलामा नेपालको अर्को रोमाञ्चक जित ।’
स्पोर्ट्सकीडाले समाचारमा लेखेको छ, ‘नेपालमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को १९औं चरणको चौथो खेलमा आयोजक नेपालले नामिबियालाई ३ विकेटले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको छ । नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन बनाएको थियो, जसको जवाफमा नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाएर जित हासिल गर्यो । ८१ रनको अविजित इनिङ्सका लागि आसिफ शेख प्लेयर अफ द म्याच घोषित भए ।’
इण्डिया क्रिकेट अनलाइनले लेखेको छ, ‘घरेलु मैदानमा नेपालको जबरजस्त प्रदर्शन, नामिबियाविरुद्ध निकाल्यो रोमाञ्चक जित ।’ क्रिकेट अपडेट इण्डियाले लेख्छ, ‘विश्वकप लिग–२ मा नेपाल उत्कृष्ट लयमा, फेरि नामिबियालाई हरायो ।’