सन्दीप टिमको महत्त्वपूर्ण खेलाडी भएकाले यूएई जान पाउनुपर्ने क्यानको माग

सन्दीप टिमको महत्त्वपूर्ण खेलाडी भएकाले यूएई जान पाउनुपर्ने क्यानको माग

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले खेलाडी सन्दीप लामिछानेलाई यूएई भ्रमणमा लैजान पहल गरिदिन नियमनकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग आग्रह गरेको छ ।

सन्दीपमाथि नाबलिग जबरजस्तीकरणीको आरोप लागेको छ । उनलाई गत पुस २८ गते पाटन उच्च अदालतले २० लाख धरौटीमा ससर्त रिहा गरेको थियो । सन्दीपलाई विदेश जान रोक लगाइएको छ भने काठमाडौं उपत्यका छाड्दा पनि जिल्ला प्रहरी परिसर काठमाडौंबाट अनुमति लिनुपर्नेछ ।

काठमाडौं छाड्ने र फर्किने मिति र आफू रहेको स्थानको नामसमेत जनाउनुपर्ने आदेशमा उल्लेख छ । तर क्यानले विश्व क्रिकेट लिग टुअन्तर्गत यूएई भ्रमणमा जाने नेपाली टोलीसँग सन्दीपलाई लैजान पहल गरिरहेको छ । क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले सन्दीप टिमको महत्त्वपूर्ण खेलाडी भएकाले सरकारी निकाय परिषद्सँग पहल गरिदिन आग्रह गरेको जानकारी दिए ।

Europass CV in Nepal

घरेलु मैदानमा भएको नामिबिया र स्कटल्यान्डविरुद्धको लिग टु सिरिजका चार खेलमा सन्दीपले १३ विकेट लिएका थिए । सन्दीप यूएई गए नेपाललाई ओडीआई मान्यता जोगाउन सहज हुने क्यानको भनाइ छ । परिषद्का सदस्य सचिव टंकलाल घिसिङले भने अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दा आफूहरुसँग नजोडिने प्रतिक्रिया दिएका छन् ।

सामान्य अवस्थामा परिषद्ले अनुमति दिने कुरा फरक भए पनि सन्दीपको विषयमा अदालतको निर्णय अन्तिम हुने घिसिङको भनाइ छ । उच्च अदालतको आदेश त्रुटिपूर्ण भन्दै महान्याधिवक्ताको कार्यालयले थुनामै राखेर मुद्दा अघि बढाउन सर्वोच्चमा निवेदन दिएको छ ।

क्यानले भने उच्च अदालतको आदेशलगत्तै सन्दीपमाथि लगाइएको निलम्बन फुकुवा गरेर राष्ट्रिय टिममा बोलाएको थियो । मुद्दाको टुंगो नलाग्दै सन्दीपलाई राष्ट्रिय टिममा राखेकामा क्यानको आलोचना पनि भइरहेको छ । नेपाली टिम आगामी शनिबार यूएई जाँदै छ ।