काठमाडौँ । आइसिसी यू–१९ एसिया विश्वकप छनोट अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई ९६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनाएको थियो ।
जवाफमा सिंगापुरले इडेन गार्डेन ओभल मैदानमा ७ विकेट गुमाएर १६५ रन मात्रै बनाउन सकेन । सिंगापुरका लागि आर्यन मोदीले निकै दबाबमा खेल्दै सर्वाधिक रन बनाए र १०० बलमा २ चौका प्रहार गर्दै ५८ रन जोडे। सिद्धान्त श्रीकान्तले पनि राम्रो खेल्दै ८० बलमा १ चौका र १ छक्का प्रहार गर्दै ४४ रन बनाए ।
नेपालका हेमन्त धामी र सुवास भण्डारीले २/२ विकेट लिए । हेमन्तले आफ्नो ८ ओभरमा २७ रन दिए भने सुवासले १० ओभरमा मेडन सहित २९ रन दिए। त्यस्तै विशाल विक्रम केसीले १ विकेट लिए ।समग्रमा, नेपालले दबदबा प्रदर्शन गर्दै प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा सहज जित हासिल गरेको थियो।
यसअघि आकाश त्रिपाठी र विशालविक्रम केसी अर्धशतक बनाएपछि नेपालले मजबुत स्कोर बनाएको थियो । आकाशले १ सय बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरी ७८ रन बनाए । उनी ३४ औं ओभरमा आउट भएका थिए, जतिखेर नेपालको स्कोर १ सय ४५ रन थियो । दीपक बोहरा ‘ए’ ५ रनमा आउट भएपछि आकाशले अर्जुन कुमालसँग दोस्रो विकेटमा ९३ रनको साझेदारी गरे । अर्जुनले ६७ बल खेल्दै ३ चौकासहित ३७ रन बनाए ।
कप्तान देव खनालले २१ रन बनाए । उनले २६ बल खेली १ चौका प्रहार गरे । दीपक बोहरा ‘बी’ १५ बल खेली दुई चौका प्रहार गर्दै १७ रनमा आउट भए । दीपक डुम्रे १० ररनमा आउट भए भने मिलन बोहराले ४ रनमात्र बनाउन सके ।
मध्यक्रमलाई सम्हालेर खेलेका विशालले अविजित ६३ रन बनाए । उनले ६४ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । सुवास भण्डारी १ चौका प्रहार गरी ८ बलमा १२ रन बनाई अविजित रहे । सिंगापुरका अर्याविर चौधरी र अभुदय छाजरले २–२ विकेट लिए । नेपालले शनिबार कुवेतसँग दोस्रो खेल खेल्ने छ ।