काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा हिजो फैसला लेख्दै गर्दा सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुडाल ‘ट्वीटर इजलास’ को चर्को दबाबमा थिए । खासगरी सपनालाई अवश्य थाहा थियो कि सन्दीपको विपक्षमा फैसला नगर्दा ट्विटर इजलासका ‘न्यायधीश’हरु उनीमाथि कसरी खनिन सक्छन् । फैसला नै नपढिकन ‘महिला न्यायाधीशले नै महिलामाथि अन्याय गरेको’ आरोप उनीमाथि लगाइन सक्छ ।
तर, न्यायाधीशहरु भनेका महिला वा पुरुष हुँदैनन् । उनीहरु केवल न्यायका पहरेदार हुन्छन् । उनीहरुले घटनाका तथ्यहरु हेरेर फैसला गर्ने हुन्, नकि आरोपी वा पीडितको लिंग हेरेर । महिला न्यायाधीशले महिलाको र पुरुष न्यायाधीशले पुरुषकै पक्षमा फैसला गर्नुपर्ने हो भने सारा बहस-सुनुवाइ गर्नुपर्ने, प्रमाण जुटाउनुपर्ने आवश्यकतै हुन्थेन । इजलास तोकिएकै दिन फैसला सुनाइदिँदा हुन्थ्यो ।
सपना महिला भएकाले महिलाकै पक्षमा फैसला गर्नुपर्छ भन्ने ट्वीटे अभियन्ताको मुढाग्रही मान्यतालाई उनले खण्डित गरिदिइन् र न्यायिक परिपक्वताको प्रदर्शन गरिन् । क्षणिक रुपमा उनले एउटा उग्रवादी समूहबाट आलोचना खेप्नुपर्ला । तर, कानून तथा न्यायको सिद्धान्त बुझेकाहरुले उनलाई स्यावासी नै दिनेछन्, दिइरहेका छन् ।
हिजो सर्वोच्च अदालतले सुनाएको फैसलाले यो बहुचर्चित मुद्दाको धार नै परिवर्तन गरिदिएको छ । अहिलेसम्म मिडियाहरुमा यस घटनालाई लिएर जाहेरीकर्ताको एकतर्फी बयान मात्र आइरहेका थिए । एकतर्फी बयानलाई नै घटना विवरणका रुपमा प्रस्तुत गरिदै आएको थियो । तर, सर्वोच्चले फैसलामा केही नयाँ तथ्यहरु पेश गर्दै सन्दीपले किशोरीमाथि बलात्कार गरेको नहुन सक्ने स्पष्ट आशय व्यक्त गरेको छ ।
घटना भएको भनिएको भोलिपल्ट किशोरी सहजताका साथ सन्दीपकै गाडी चढेर आफ्नो होस्टलसम्म फर्किएको र रुममेटसँग ‘आफूले जीवनकै उत्कृष्ट दिन बिताएको’ अनुभव शेयर गरेको फैसलामा उल्लेख गरिएको छ । साथै, उनले दुई दिनपछि आफ्नो मोबाइलको म्यासेजमा ‘मैले अस्ति सन्दीप लामिछानेलाई हग गरेँ’ भन्दै खुशी साटेकी थिइन् । अनि सन्दीपको नामको जर्सी लगाएर हुटिङ गरेकी थिइन् । सन्दीपले सामाजिक सञ्जालबाट ब्लक गरिदिएपछि उनले घटनालाई बलात्कारतर्फ मोडेको हुन सक्ने सर्वोच्च अदालतको संकेत छ ।
यदि बलात्कार भएको हुन सक्नेमा अदालत सशंकित भएको भए सन्दीपलाई पक्राउ नै गरेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिइने थियो । किनकि बलात्कारका मुद्दामा सामान्यतया धरौटीमा छोडिँदैन । सर्वोच्चले सन्दीपलाई थुनामा राख्नु नपर्ने निर्णयमात्र लिएन, उनीमाथि उच्च अदालतले विदेश भ्रमणमा लगाएको रोकसमेत फुकुवा गरिदियो । यसैले सर्वोच्चका न्यायमूर्तिहरु यो घटना बलात्कार थिएन भन्ने निष्कर्षमा पुगेको देखिन्छ ।
यति हुँदाहुँदै पनि सन्दीप र किशोरीबीच यौन सम्बन्ध भएको थियो कि थिएन भन्ने प्रश्न महत्वपूर्ण छ । किनकि जाहेरीकर्ताले आफू नाबालिग भएको बताएकी छिन् र नाबालिगसँग राजीखुशीमै राखेको यौन सम्बन्ध पनि बलात्कार ठहरिने कानून छ । अदालतले त्यस रात उनीहरुबीच यौन सम्बन्ध रहेको कुनै प्रमाणिक आधार नदेखिएको जनाएको छ । प्रत्यक्षदर्शीहरुको बयान, सीसीटीभी फुटेजका दृश्य तथा किशोरीको स्वास्थ्य परीक्षण केहीले पनि यौन सम्बन्धको पुष्टि नगर्ने अदालतको ठहर छ ।
किशोरीको योनीमा घाउ देखिएको छ, तर त्यो घाउ घटना भएको भनिएकै रात भएको यौन सम्बन्धबाट भएको भन्ने ठहर्याउन सकिँदैन । सन्दीपले यौन सम्बन्धपछि टिस्यूपेपर आफ्नो मुखमा फ्याकेको किशोरीको दाबी पनि पुष्टि हुन सकेन । प्रयोगशालाको परीक्षणबाट किशोरीको योनीमा विर्यका निशाना नभेटिएको पनि फैसलामा उल्लेख छ । यदि यौन सम्बन्ध भएको र विर्य खसाएकै थिए भने पनि धेरै दिनपछि मात्रै किशोरी उजुरी दिन गएकोले त्यस्तो केही भेटिनसक्ने सम्भावना थिएन ।
ट्विटर इजलासले ‘बलात्कारी’ ठह्याइसकेका सन्दीपले अदालतको फैसलापछि ठूलो राहत पाएका छन् । उनलाई मैदानमा गएर देशका लागि खेल्न नैतिक बल मिलेको छ । हालै स्वदेशमा त्रिकोणात्मक सिरिज खेल्दा उनी पूर्ण रुपमा मनोबल गिरेको अवस्थामा थिए । यद्यपि, राम्रो प्रदर्शन गरेका थिए । अबका दिनमा उनीबाट अझै अब्बलस्तरको प्रदर्शनको अपेक्षा गर्न सकिन्छ ।
विदेश भ्रमणमा लगाइएको रोक फुकुवा हुनु सन्दीपका लागि आंशिक र क्षणिक खुशीको कुरा हुनसक्थ्यो, तर सर्वोच्चले यस मुद्दामा उनले सफाइ पाउनसक्ने आधारहरु देखाइदिएको छ, जुन उनका लागि वरदानसरह हो । सर्वोच्चले फास्ट ट्र्याकबाट निरन्तर मुद्दाको सुनुवाइ गर्न जिल्ला अदालतलाई निर्देशन दिएको छ । साथै, जिल्ला अदालतका न्यायाधीशहरुका लागि पनि सर्वोच्चको फैसलाले स्पष्ट मार्गदर्शन गरिदिएको छ र उनीहरुले अब धेरै टाउको दुखाउनुपर्ने अवस्था छैन ।
सन्दीपले पनि केही गल्ती गरेकै हुन् । विदेश भ्रमणमा जानुपर्ने अघिल्लो रात आफ्नो फ्यान गर्ललाई लिएर घुमघाममा हिँड्नु अनि होटलमा सँगै बस्नु उनको गम्भीर अनुशासन उल्लंघन हो । यस निम्ति क्यानले उनलाई करिब ५ महिना निलम्बनमा राखेर दण्डित गरिसकेको छ । भोलि जिल्ला अदालतबाट सफाइ पाए भने पनि सन्दीपले यो घटनालाई एउटा पाठको रुपमा आजीवन सम्झिरहनुपर्ने छ ।