काठमाडौँ । यूएईले क्रिकेट विश्वकप लिग २ मा नेपाललाई ६८ रनले पराजित गरेको छ । २ सय ८ रनको लक्ष्य लिएर आएको नेपाल ३१.५ ओभरमा १ सय ३९ रनमै अलआउट भयो । योसँगैं नेपालको लगातार ५ खेलको जितको यात्रा पनि टुंगिएको छ ।
कुशल मल्लले ६० रन बनाए पनि नेपालले त्यसको फाइदा उठाउन सकेन । पछिल्ला पाँच खेलमा यो उनको तेस्रो अर्धशतक हो । यूएईका बलरमाथि आक्रामक भएर खेलेका उनले ५३ बलको इनिङ्समा ९ चौका र १ छक्का प्रहार गरे ।
पहिलो ओभरमा ११ रन बनाएपछिको अर्को ओभरमा कुशल भुर्तेल अफ स्टम्प बाहिरको बल प्रहार गर्दा ५ रनमा आउट भए । ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले खाता खोल्नै भ्याएनन् । आसिफ शेखले १५ रन बनाए । उनका दाई आरिफ शेखले पनि खाता खोल्न सकेनन् । दीपेन्द्रसिंह ऐरी ७, गुलशन झा र सोमपाल कामी समान ४ रनमा आउट भए ।
करण केसी ५ रनमा आउट भए । सन्दीप लामिछाने २४ बलमा ४ चौकासहित २६ रन बनाउदै अविजित रहे । रोहन मुस्ताफाले १० ओभरमा २ मेडन राख्दै ३१ रन खर्चेर ३ विकेट लिए । कार्थिक मेइयापनले पनि ३ विकेट लिए । उनले ८.५ ओभरमा १ मेडन राख्दै २६ रन खर्चे । जुनाइद सिद्धिकीले २ विकेट लिए ।
यसअघि नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले बिहीबार निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय ७ रन बनाएको थियो ।करणले पहिलो ओभरमा मोहम्मद वासिमलाई बोल्ड गरेपछि यूएई सुरुआत देखि नै दबिएर खेलेको थियो । वृत्या अर्भिन्दलाई १८ रनमा आउट गरेपछि नेपालले खेल पूर्णरुपमा नियन्त्रणमा लिएको थियो । अर्का ओपनर आसिफ खानको ७२ रनमा यूएईले चुनौतीपूर्ण स्कोर बनाउन सक्यो ।
आसिफले ९९ बल खेली ५ चौका प्रहार गरे । अर्भिन्द र आसिफलाई सन्दीप लामिछानेले आउट गरे । कप्तान सीपी रिजवानले २२ रन बनाए । आरिफ शेखले अलिशान सराफुलाई २ रनमा बोल्ड गरे ।
मुस्ताफा र आर्यन लकराले छैटौं विकेटमा ५८ रनको साझेदारी गरे । सन्दीपले ४९ औं ओभरमा लकरालाई राउन्ड द लेग बोल्ड गरि यो साझेदारि तोडेका थिए । लकराले ३६ बल खेलि १ चौका प्रहार गरि ३८ रन बनाए । मुस्ताफा ५२ रन बनाई अविजित रहे । उनले ७६ बल खेली २ चौका प्रहार गरे ।
अन्तिम ओभरमा जुनाइद सिद्धिकी र कार्तिके मेइयापन रन आउट भए । सन्दीपले ३ विकेट लिनेक्रममा १० ओभरमा २७ रन खर्चे । करण, कुशल मल्ल र आरिफले १–१ विकेट लिए । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन नेपालले लिग २ मा आफ्नो बाँकी रहेको ६ मध्येको ४ खेल जित्नु पर्नेछ । यूएईको ३० खेलमा ३१ र नेपालको ३० खेलमा २८ अंक छ ।