मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

नेपाली टिमको उत्कृष्ट प्रदर्शन : पपुवा न्यूगिनीलाई ९ विकेटले हरायो

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ। आईसीसी विश्वकप लीग-२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको खेलमा नेपालले ९ विकेटले पपुवा न्यूगिनीलाई ((पीएनजी) हराएको छ। यो जितसँगै लीगका कुल ३६ खेलमध्ये ३५ वटापछि नेपाल तालिकामा ३८ अङ्कसहित चौथो स्थानमा कायम छ।

आइतवार भएको खेलमा यूएईलाई पराजित गरेपछि नेपालले आफ्नो एकदिवसीय मान्यता जोगाइसकेको छ भने बाँकी खेलमा यूएईलाई पुनः हराउन सके नामिबियालाई उछिन्दै नेपाल तालिकाको तेस्रो स्थानमा उक्लिनेछ। लीग २ का शीर्ष तीन टोलीहरूले जिम्बाब्वेमा आगामि जुन र जुलाई महिनामा हुने विश्वकप क्वालिफाइअरमा स्वतः प्रवेश पाउनेछन्।

यही वर्ष भारतमा हुने विश्वकपमा प्रवेश पाउन नेपाली टोलिको जिम्बाब्वेमा अर्को परीक्षा हुनेछ।

टस जितेर विपक्षी टोलीलाई ब्याटिङ गर्न निम्तो दिएको नेपालले खेलको सुरुदेखि नै पपुवा न्यूगिनीलाई दबावमा राखेको थियो।धारिलो बलिङको सहयोगमा कीर्तिपुरस्थित घरेलु मैदानमा नेपाली टोलीले पपुवा न्यूगिनीलाई ३२ ओभरमा ९५ रनमा सीमित पारिदिएको थियो।

सन्दीप लामिछानेले नेपालका लागि सर्वाधिक पाँच विकेट लिए भने ललित राजवंशी र कुशल मल्ल दुई-दुई विकेट हात पार्न सफल भए। त्यसैगरी सोमपाल कामीले एक विकेट लिएका थिए।लामिछानेले १० ओभर बलिङ गर्ने क्रममा २५ रन दिएर ५ विकेट लिएका हुन्। अन्तिम विकेट उनले आफ्नो दसौँ ओभरको अन्तिम बलमा प्राप्त गरेका थिए।

यो सँगै लिग २ लामिछानेको विकेट सङ्ख्या ७१ पुगेको छ। लिग २ मा उनी भन्दा माथि ओमानका बिलाल खानले ७६ विकेट लिएका छन्।यस्तै लामिछानेको एक दिवसीयमा यो तेस्रो ५ विकेटको उपलब्धि हो।यसअघि उनले केन्यासँग डिभिजन २ अन्तर्गत २०१८ को फेब्रुअरी १२ को खेलमा ५ विकेट लिएका थिए।

अर्को पटक उनले २०२० फेब्रुअरी १२ मा खेलिएको लिग २ को खेलमा अमेरिका विरुद्ध ६ विकेट लिएका थिए।नेपालमा जारी आईसीसी विश्वकप लीग-२को अन्तिम शृङ्खलामा यसअघि खेलिएका दुई खेलमा पनि नेपाल विजयी भएको थियो।

आइतवारको खेलमा स्पिनर ललितनारायण राजवंशीको पाँच विकेट तथा कप्तान रोहित पौडेलको संयमित ब्याटिङ गर्दै अर्धशतक बनाउँदा नेपालले यूएईलाई १७७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।त्यसअघि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै उच्च स्कोर बनाउँदै पपुवा न्यूगिनीलाई नेपालले पराजित गरेको थियो।गत बिहीवार नेपालले पहिला ब्याटिङ गर्दै २९७ रन जोडेको नेपालले पाहुना टोलीलाई ४७.१ ओभरमा २४५ रनमा समेट्दै ५२ रनले विजयी हुन सफल रहयो।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।