राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही ३-३ लाख दिने प्रधानमन्त्रीको घोषणा

राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही ३-३ लाख दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ। युएईलाई हराउँदै जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई सरकारले जनही ३ लाख रूपैयाँसहित सम्मान गर्ने भएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विजयी नेपाली क्रिकेट टोलीलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटार बोलाएर टोलीका प्रत्येक खेलाडीलाई सम्मानस्वरूप सरकारले ३-३ लाख रुपैयाँ दिने घोषणा गर्दै आगामी यात्राका लागि शुभकामना दिएका छन्।

विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको नेपाली क्रिकेट टोलीलाई सम्माननीय प्रधानमन्त्री प्रचण्डले बधाइ ज्ञापन गर्नुहुँदै जनही रू. ३ लाख राशीको पुरस्कार घोषणा गर्नुभएको छ। खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्रीले हिजोको प्रदर्शनबाट आफू अत्यन्तै खुसी भएको प्रतिक्रिया दिए। ‘मलाई अत्यन्त खुसी लागेको छ। हिजो तपाईहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईँहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ’, उनले भने, ‘देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ। आगामी दिनमा समेत तपाईहरूको प्रर्दशन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु।’

खेलाडीको सुखदुःखमा आफू सधैं साथमा रहने प्रधानमन्त्री प्रचण्डले विश्वास दिलाए। ‘विश्वकप छनोटका लागि तपाईँहरूलाई थप सफलता मिलोस्। म तपाईहरूको सुखदुखमा साथमै हुनेछु’ प्रधानमन्त्रीले भने, ‘यसअघि पनि सरकारले तपाईहरूलाई जनही दुई लाख राशीले पुरस्कृत गरिसकिएको छ। आज म तपाईहरूलाई जनही रू. तीन लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्दछु।’

Europass CV in Nepal

प्रधानमन्त्री प्रचण्डले तत्काल कीर्तिपुरस्थित त्रिवि मैदानमा आधुनिक फ्लटलाइट र स्कोरबोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशनसमेत दिएका छन्।

‘कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशित गर्दछु’ प्रधानमन्त्रीले भने, ‘यस सन्दर्भमा मूलपानी, चितवन लगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्दछु।’

नेपालले विश्वकप छनोटमा कुन-कुन टिमसँग प्रतिस्पर्धा गर्छ?

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सन् २०२३ को एकदिवसीय विश्वकपअघि तीन श्रेणीको एकदिवसीय लिग सञ्चालन गर्ने निर्णय गरेको थियो। टेस्ट राष्ट्र र नेदरल्यान्ड्स (विश्व क्रिकेट लिग विजेता) गरी १३ राष्ट्रबीचको सुपर लिग, अस्थायी एकदिवसीय मान्यता पाएका ७ राष्ट्रबीचको आइसिसी विश्वकप लिग-२ र एसोसिएट देशको च्यालेन्ज लिग गरी तीन लिग सञ्चालन भयो। तीन मध्ये लिग-२ र च्यालेन्ज लिग सकिएका छन् भने सुपर लिगको केही खेल बाँकी छन्।

तीनै लिग एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगिता पनि थियो। १० टिमबीच प्रतिस्पर्धा हुने विश्वकपमा सुपर लिगका शीर्ष आठ (आयोजक भारतसहित) सिधैं पुग्ने प्रावधान छ। बाँकी २ स्थानका लागि भने छनोट प्रतियोगिता खेल्नु पर्ने आइसिसीको नियम छ।

छनोट प्रतियोगितामा सुपर लिगका पुछारका पाँच टिम, लिग-२ का शीर्ष तीन टिम र क्वालिफायर प्लेअफका २ टिम गरी १० टिमबीच प्रतिस्पर्धा हुने तय छ। नेपालले लिग-२ को शीर्ष तीनमा पर्दै विश्वकप छनोटमा स्थान बनाएको छ। अन्तिम १२ खेल बाँकी रहदासम्म नेपाल लिग-२ को अंक तालिकामा छैटौं स्थानमा थियो। तर पछिल्ला १२ मध्ये ११ खेल जित्दै नेपाल अंक तालिकाको तेस्रो स्थानमा उक्लन सफल भयो।

अब नेपालले जिम्बावेमा आगामी जुन १८ देखि जुलाई ९ सम्म हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछ। त्यहाँ नेपालसहित स्कटल्यान्ड र ओमान गरी लिग-२ का तीन टिम पुगेका छन्।टेस्ट राष्ट्र जिम्बावेले पनि छनोट खेल्नु पर्नेछ। सुपर लिगको पुछारमा रहेको नेदरल्यान्ड्सले पनि छनोट खेल्दैछ।

अहिलेको सुपर लिगको अंक तालिकाअनुसार दक्षिण अफ्रिका, श्रीलंका र आयरल्यान्डले पनि विश्वकप छनोट खेल्नु पर्ने अवस्था छ। यद्यपी तीन टिमले बाँकी रहेका आफ्ना खेल जिते सुपर लिगको आठौं स्थानमा रहेको वेस्ट इन्डिजलाई पछि पार्न सक्नेछन्।

 

Europass CV in Nepal