आइसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो महत्त्वपूर्ण खेलमा नेपालले चिरप्रतिद्वन्द्वी संयुक्त राज्य अमेरिकालाई छ विकेटले पराजित गरेको छ।नेपाली बलरहरूले कसिलो बलिङ गर्दै अमेरिकालाई २०७ रनमा सीमित तुल्याएका थिए। तर भीम सार्कीको अर्धशतकसहितको मद्दतले नेपालले ४३ औँ ओभरमा निर्धारित लक्ष्य हासिल गरेको थियो।
पहिलो खेलमा जिम्बाब्वेसँग पराजित भएको नेपालले यो जितसँगै महत्त्वपूर्ण दुई अङ्क प्राप्त गरेको छ।टस जितेर पहिलो फिल्डिङ रोजेको नेपालले अमेरिकालाई एक ओभरको खेल बाँकीहुँदै २ सय ७ रनमा सीमित पार्यो। नेपालले जवाफमा ४३ औँ ओभरमा लक्ष्य पूरा गरेको थियो।
ब्याटर भीम सार्कीले अविजित ७७ रन र दिपेन्द्र सिंह ऐरीले ३९ रन हानेका थिए।योसँगै सुपर सिक्समा पुग्ने सम्भावना नेपालले कायमै राखेको छ। अब नेपालले आफ्ना बाँकी खेल वेस्ट इन्डिज र नेदरल्यान्ड्ससँग खेल्नेछ।
भीम सार्कीको निर्णायक योगदान
दुई सय आठ रनको मध्यम लक्ष्य पछ्याउन आएको नेपालको जित भने सहज हुन सकेन।ओपनर आसिफ शेख पाँचौ ओभरमा १२ रनमा आउट भएपछि अर्का ओपनर कुशल भुर्तेलले खेल सम्हालेका थिए।तर १७ औँ ओभरमा भुर्तेल पनि ३९ रन बनाएर आउट हुनपु गे। ५४ बल खेलेर ४ चौका र १ छक्का प्रहार गरेका उनी स्पिनर केन्जिगेको बलमा लामो प्रहार गर्न खोज्दा ‘टप एज’ लागेर उनी ‘कट एन्ड बोल्ड’ हुन पुगेका थिए।
त्यसपछि कप्तान रोहित पौडेल पनि लामो समय टिक्न सकेनन्। उनी २७ औँ ओभरमा व्यक्तिगत १६ रन बनाएर तेस्रो खेलाडीका रूपमा आउट हुँदा टोलीको स्कोर १ सय १२ पुगेको थियो।
तर नेपाली इनिङ्सलाई भीम सार्कीले मज्जाले सम्हाले। उनले धैर्यपूर्ण ब्याटिङ गर्दै अर्ध शतक पूरा गरेका थिएजबकि ९ रन बनाएर खेलिरहँदा उनले जीवनदान पाएका थिए। स्टिभन टेलरले उनको सजिलो क्याच फुत्काउन पुगेका थिए।
कप्तान पौडेल आउट भएपछि आएका युवा कुशल मल्ल धेरै बेर टिक्न सकेनन्। एक चौका र एक छक्कासहित उनी १३ रन बनाएर आउट भए।तर दीपेन्द्रसिंह ऐरीले सार्कीसँग मिलेर नेपाललाई सहज जित तिर डोर्याउने काम गरे।