काठमाडौं । नेपालले आउँदो सोमबारदेखि घरेलु मैदानमा आईसीसी टी-ट्वेन्टी विश्वकप एसिया छनोट खेल्दैछ । त्यसअघि शुक्रबार त्रिकोणात्मक सिरिजको फाइनलमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।
सन् २०१४ मा टी- ट्वेन्टी विश्वकपमा डेब्यू गरेयता नेपाल छनोट हुन सकेको छैन । यो पटक भने नेपाल विश्वकप छनोटको उपाधि दाबेदार हो । त्यसमा पनि अलराउन्डर दीपेन्द्रसिंह ऐरीको उच्च फर्मले टिमको मनोबल बढेको छ ।
गत सोमबार भएको खेलमा यूएईले नेपालसामु १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा घरेलु टोलीको सुरुवात राम्रो भएन् । एघार रनमा तीन विकेट गुमाएको स्थितिबाट कप्तान रोहित पौडेल र आशिफ शेखले इनिङ्स सम्हाले । दीपेन्द्रले १५ बलमा अविजित ४० रन बनाएर उत्कृष्ट फिनिसिङ गर्दै नेपाललाई ५ विकेटको जित दिलाए ।
त्योभन्दा अघि हङकङविरुद्ध पनि उनले ५७ रन जोडे । पााचौं विकेटका लागि दीपेन्द्र र कुशल मल्लले १४५ रनको विश्व कीर्तिमानी साझेदारी गरेका थिए । टिमको आवश्यकता अनुसार उनी जुनसुकै अडरमा पनि ब्याटिङ गर्न सक्छन् । विभिन्न समयमा आएका प्रशिक्षकले उनलाई फरक फरक नम्बरमा प्रयोग गर्दै आएका छन् ।
आवश्यक परेको बेला मज्जाले टिकेर खेल्नु र परिस्थिति अनुसार आक्रामक बन्नु उनको क्षमता हो । घरेलु समर्थकमाझ टी-ट्वेन्टी विश्वकपमा छनोट हुने विश्वास दीपेन्द्रलाई छ ।
दीपेन्द्रको अर्को मुख्य विशेषता हो- उत्कृष्ट फिल्डिङ क्षमता । ३० यार्डभित्र होस् या बाउन्ड्री लाइन उनको स्फूर्ति विश्वका प्रख्यात फिल्डरभन्दा कम हुँदैन । तेज गतिमा रन लिन पनि निकै सिपालु उनी डाइरेक्ट हिट गर्दै रनआउट गराउन पनि माहिर छन् । ओडीआईमा भने अपेक्षाअनुसारको प्रदर्शन गर्न नसक्दा उनी आलोचित पनि भए ।
हालै सम्पन्न एसियाडमा मंगोलियाविरुद्ध ९ बलमा दीपेन्द्रले बनाएको अर्धशतकको विश्व कीर्तिमान कसैले तोड्न सक्ने देखिँदैन ।
दीपेन्द्रले ओडीआईमा १ शतक र ३ अर्धशतकसहित ८ सय ८९ र टी-ट्वेन्टी आईमा १ शतक तथा ७ अर्धशतकसहित १ हजार ३ सय २४ रन बनाएका छन् । टी-ट्वेन्टी आईमा १ हजार रन पूरा गर्ने पहिलो र एकमात्र नेपाली खेलाडी दीपेन्द्र नै हुन् । दीपेन्द्रको यो र्फम विश्वकप छनोटमा कायमै रहने विश्वास टिमलाई छ ।