अन्तिम खेलमा नामिबियामाथि भारतको सानदार जित, फाइनल आइतबार दुबईमा हुने

अन्तिम खेलमा नामिबियामाथि भारतको सानदार जित, फाइनल आइतबार दुबईमा हुने

आइसिसी टि२० विश्वकप २०२१ मा भारतले अन्तिम खेलमा नामिबियामाथि सानदार जित निकालेकाे छ । सुपर १२ को समूह २ मा रहेको भारतले नामिबियालाई ९ विकेटले हराउँदै तेस्रो स्थानमा रहँदै विश्वकप २०२१ बाट बाहिरिएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा जितको लागि १ सय ३३ रनको विजयी लक्ष्य पछ्याएको भारतले १५.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । भारतका ओपनर लोकेश राहुल ३६ बलमा ४ चौका र २ छक्का सहित ५४ रनमा अविजित रहे । सूर्यकुमार यादव १९ बलमा ४ चौका सहित २५ रनमा अविजित रहे । ओपनर रोहित शर्मा ३७ बलमा ७ चौका र २ छक्का सहित ५६ रनमा क्याच आउट भए ।

भारतलाई ओपनर रोहित शर्मा र लोकेश राहुलले पहिलो विकेटका लागि ९.५ ओभरमा ८६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । नामिबियाका जेन फ्रिलिंकले जेन ग्रीनबाट रोहितलाई क्याच गराउँदै साझेदारी तोडेका थिए ।

Europass CV in Nepal

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो । नामिबियाका डेविड विसेले २५ बलमा २ चौका सहित सर्वाधिक २६ रन बनए । विसे २०१६ मा दक्षिण अफ्रिकाबाट टि२० विश्वकप खेलेका क्रिकेटर हुन् ।

ओपनर स्टेफन बार्डले २१ बलमा १ चौका र १ छक्का सहित २१ रन बनाए । नामिबियालाई ओपनर माइकल भ्यान लिङ्गेन र स्टेफन बार्डले पहिलो विकेटका लागि ४.४ ओभरमा ३३ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर जस्प्रित बुमराहले लिङ्गेनलाई १४ रनमा मोहम्मद शामीबाट क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । त्यसपछि भने नामिबियाले लगातार विकेट गुमाउन पुग्यो ।

के्रग विलियम्सलाई छैटौं ओभरको तेस्रो बलमा रविन्द्र जडेजाले शून्यमा स्टम्पिङ आउट गराए । जडेजालेनै आठौं ओभरको चौथो बलमा बार्डलाई एलबीडब्लू आउट गराएका थिए । जेन निकोल लोफ्टी इटनलाई रविचन्द्रन आश्विनले क्याच गराउँदा नामिबिया ९.१ ओभरमा ४७–४ को अवस्थामा पुगेको थियो । १४ रन जोड्न ४ विकेट गुमाएपछि नामिबिया खेलमा समस्यामा परेको थियो ।

कप्तान गेरहार्ड इरास्मस २० बलमा १ चौका सहित १२ रनमा आउट भए । जेजे स्मित ९ र जेन ग्रीन शून्यमा आउट भएका थिए । जेन फ्रिलिंक १५ बलमा १५ रनमा अविजित रहे । रुबेन ट्रम्पलम्यान ६ बलमा १ चौका र १ छक्का सहित १३ रनमा अविजित रहे । भारतका स्पिनर रविन्द्र जडेजाले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । रविचन्द्रन आश्विनले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए ।

भारत ५ खेलमा ३ मा जित र २ मा हार सहित ६ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । भारतले अव अर्को सातदेखि घरेलु मैदानमा न्युजिल्यान्डसँग तीन टि२० आई सिरिज र दुई टेस्ट सिरिज खेल्नेछ । पहिलो टि२० खेल १७ नोभेम्बरमा हुनेछ ।

नामिबिया ५ खेलमा १ मा जित र ४ मा हार सहित २ अंकका साथ पाँचौं स्थानमा रहेर बाहिरियो । पाकिस्तान सुपर १२ को समूह २ मा ५ खेलमा अपराजित रहँदै १० अंकका साथ शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ । अपराजित रहँदै सेमिफाइनल खेल्ने पाकिस्तान यस विश्वकपमा एक्लो टोली हो । न्युजिल्यान्डले ५ खेलमा ४ मा जित र १ मा हार सहित सहित ८ अंकका साथ दोस्रो स्थानमा रह्यो ।

सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ नेटरनरेटका आधारमा शीर्ष स्थानमा रहेको थियो । अष्ट्रेलिया ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ नेटरनरेटको आधारमा दोस्रो स्थानमा रहँदै सेमिफाइनल खेलेको हो ।

पहिलो सेमिफाइनलमा बुधबार इंग्ल्यान्ड र न्युजिल्यान्डबीच शेख जायद स्टेडियम आबूधाबीमा हुनेछ । दोस्रो सेमिफाइनलमा बिहीबार पाकिस्तान र अष्ट्रेलियाबीच दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार दुबईमा हुनेछ ।

Europass CV in Nepal