राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अलमुताइरीले गरे राजीनामा दिएको घोषणा

राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अलमुताइरीले गरे राजीनामा दिएको घोषणा

२६ भदौ, काठमाडौं । अब्दुल्लाह अल्मुताइरीले नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकबाट राजीनामा दिएको घोषणा गरेका छन् । हाल कुवेतमा रहेका अल्मुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

यसअघि पनि उनले बारम्बार नेपाली टिमबाट राजीनामा दिने घोषणा गर्दै आएका थिए । तर उनको शैली फरक थियो । यस पटक भने उनले ५२५ दिन नेपाली फुटबललाई सेवा गरेपछि आफ्नो कार्यअवधी टुङ्ग्याएको जनाएका छन् ।पछिल्लो पटक भएको तीन वर्षको सम्झौता अनुसार उनी २०२४ अक्टोबर ३१ सम्मका लागि प्रशिक्षक थिए ।

उनले आफ्नो यस यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने प्रशिक्षकको राजीनामाको विषयमा कुनै धारणा सार्वजनिक गरेको छैन । एन्फाले यस विषयमा केही समयपछि आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।

Europass CV in Nepal

कतार फुटबल संघ (क्युएफए) को आर्थिक सहयोगमा नेपाल आएका अल्मुताइरीको सुरुको सम्झौतामा तीन पक्ष एन्फा, क्युएफए र अल्मुताइरीबीच सहमति भएको थियो । दोस्रो पटक भने एन्फा र अल्मुताइरीबीच मात्र सम्झौतामा हस्ताक्षर भएको थियो ।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ हालै कतार भ्रमण सकाएर फर्केपछि अल्मुताइरीले राजीनामा घोषणा गरेका छन् । अध्यक्ष नेम्वाङले कतार पुटबल संघका अध्यक्ष हमाद बिन खालिफा बिन अहमेद अल थानीसँग शनिबार भेटवार्ता गरेका थिए ।

भेटमा नेपाललाई कतारको सहयोगलाई निरन्तरता दिने र सम्बन्धलाई सुमधर बनाउने विषयमा छलफल भएको थियो । प्रशिक्षकको विषयमा पनि क्युएफए सकरात्मक बनेको थियो । यो भेटको बारेमा अल्मुताइरीले पनि पाएको अनुमान छ ।

डेढ वर्ष प्रशिक्षक

४० वर्षीय कुवेती अल्मुताइरी झण्डै डेढ वर्षदेखि नेपालको प्रशिक्षकको रुपमा छन् । सुरुमा कतार फुटबल संघले एन्फालाई प्रो लाइसेन्स प्रशिक्षक र फुटबल विकासमा काम गर्नका लागि अल्मुताइरीलाई नेपाल पठाएको थियो । त्यसपछि अल्मुताइरी २०७७ चैतमा एक वर्षका लागि नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । अल्मुताइरी र एन्फाबीच २०७८ कात्तिकमा तीन वर्षको लागि नयाँ सम्झौता भएको थियो ।

दोस्रो पटक नेपालको प्रशिक्षकको रुपमा सम्झौता गर्नुअघि उनले २०७८ असोजमा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनलअघि नेपाल नफर्कने घोषणा गरेका थिए र उतैबाट घर गएका थिए ।

तर एन्फाका तात्कालीन अध्यक्ष कर्मा छिरिङ शेर्पाले अल्मुताइरीसँग भेट गरेर फेरि नेपाल पर्कनका लागि सहमत गराएका थिए । त्यसपछि कात्तिकमा नेपाल आएर तीन वर्षका लागि सम्झौता गर्दा उनले नेपाली फुटबलका लागि योजना समेत सुनाएका थिए ।

नेपालको लक्ष्य तत्कालका लागि नभएर दीर्घकालीन रुपमा हुने उनले बताएका थिए । तर गत जेठमा कुवेतमै भएको एएफसी एसियन कप छनोट खेलेपछि अल्मुताइरी नेपाल फर्किएका छैनन् । एशियन कप छनोटका दौरान मैदानमै ढलेका अल्मुताइरी बिरामी विदा लिएर आफ्नै देश कुवेतमा बसे । उनले यसबारे एन्फालाई जानकारी समेत गराएका थिए ।

एन्फाले भने असोज ११ गते दशरथ रंगशालमा बंगलादेश विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रदिप हुमागाईँलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको छ । हुमागाईँले अमेरिकाबाट नेपाल फर्केर टिमको प्रशिक्षण समेत सुरु गरिसकेका छन् ।

अल्मुताइरीले राजीनामाको घोषणा गर्नुभन्दा केही अघि मात्र एन्फाका प्रवक्ता सुरेश शाहले अनलाइनखबरसँगको कुराकानीमा प्रशिक्षकको विषय चाँडै टुङ्गिने बताएका थिए ।

एन्फाले अघिल्लो कार्यसमितिले अल्मुताइरीबारे निर्णय गर्न नसके पनि नेम्वाङ नेतृत्वको नयाँ कार्यसमितिले यस विषयलाई टुङ्ग्याउन सक्षम रहेको शाहको भनाइ थियो ।तीन पक्षबीच सम्झौता भएकोले अल्मुताइरीको विषयलाई टुङ्ग्याउन पनि कम्तीमा दुई पक्षको सहमति चाहिने थियो ।

विवादको शृंखला

अलमुताइरी गत वर्षभर नै नेपाली मिडिया र नेपाली फुटबलमा छाएका थिए । तर उनी सफलताबाट भन्दा पनि विवादका कारण हेडलाइन बनेका थिए । यस अर्थमा हेर्दा विवादका पर्याय नै थिए । तत्कालीन वरिष्ठ उपाध्यक्षसँगको विवाद, राजीनामा दिन्छु भनेर घुर्काउँदाको विवाद, बन्द प्रशिक्षणमा रहेका १० खेलाडीसँगको विवादमा उनी मुछिएका थिए ।

२०७८ साउन दोस्रो साता तात्कालीन वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले तनाव दिएको भन्दै उनले राजीनामा दिने घोषणा गरे तर एन्फामा राजीनामा भने बुझाएनन् । पछिल्लो पटक एसियन कप छनोटको तयारीमा रहेका फुटबल खेलाडीसँगको विवादले ठूलै रुप लिँदा अल्मुताइरीले १० खेलाडीलाई क्याम्पबाट बाहिरिन बाध्य पारेका थिए ।

खेलाडी प्रशिक्षक विवादको विषयमा एन्फाले दुई सातापछि समस्या पहिचान र समाधान समिति बनाएको थियो । भिक्टर राणाको संयोजकत्वमा बनाएको तीन सदस्यीय समितिले १० दिन लगाएर २८ पृष्ठको प्रतिवेदन बुझाएको थियो ।

समितिले कुवेतमा हुने एसियन कप छनोटपछि नै मुख्य प्रशिक्षक अल्मुताइरीलाई विकल्प खोज्न सुझावसहित प्रतिवेदन बुझाएको थियो । कतार फुटबल संघसँगको सहयोगलाई निरन्तरता र सहमति कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरेको थियो ।

खेलाडी फर्किए, प्रशिक्षक फर्किएनन्

एसियन कप छनोटमा जोर्डन, कुवेत र इण्डोनेसियासँग नेपाल पराजित भयो । जेठ अन्तिममा नेपालले छनोटको तीन खेल खेलेपछि टोली फर्कियो भने अल्मुताइरी तीन महिनाको बिरामी बिदा लिँदै आफ्नै देश कुवेतमा बसेका थिए ।

६ असारमा भएको एन्फा निर्वाचनमा कर्मा छिरिङ शेर्पालाई ६ मतले पछि पार्दै पंकज नेम्वाङ नयाँ अध्यक्ष बने । त्यही निर्वाचनसँगै अल्मुताइरीको भविष्य पनि जोडिएको थियो । अल्मुताइरीले पनि धेरै अघिदेखि कर्मा अध्यक्षमा निर्वाचित नभए नेपाल नबस्ने प्रतिक्रिया दिँदै आएका थिए । नेम्वाङ अध्यक्ष बनेपछि नै प्रशिक्षकको नेपाल आगमन अनिश्चित बन्यो ।

एन्फाको पहिलो कार्यसमिति बैठकले महासचिव किरण राईलाई प्रशिक्षकको विषयमा छानबिन समितिको प्रतिवेदन अनुसार प्रक्रिया अघि बढाउन जिम्मा दिइएको थियो । महासचिव राईले प्रतिवेदनको विषयमा जानकारी गराएर त्यसप्रति धारणा माग गर्दै अल्मुताइरीलाई पत्र पठाएका थिए ।

जवाफमा अल्मुताइरीले समितिको विषयमा प्रश्न उठाउँदै गतिलो जवाफ नदिएपछि अल्मुताइरीको आगमन सकरात्मक देखिएको थिएन र एन्फा चाँडै यस विषयलाई हल गर्ने तयारीमा थियो ।

अल्मुताइरी आफैंले राजीनामा घोषणा गरेपछि यो विषय अब चाँडै टुङ्गिने भएको छ । यो विषय सकरात्मक रुपमा टुङ्गिएमा कतार फुटबल संघले एन्फालाई अर्को प्रशिक्षक पनि पठाउन सक्छ । यद्यपी एन्फाले पनि अब युरोपियन स्तरको प्रशिक्षक भित्र्याउनका लागि प्रयास गरिरहेको स्रोतले अनलाइनखबरलाई बताएको छ । अनलाइनखबरबाट 

 

Europass CV in Nepal