सन्दिप कहाँ बसेर लेख्दै छन् मानसिक तनाव भएको पोस्ट ? सम्पर्कमा नआए इन्टरपोलमार्फत पक्राउ गर्ने तयारी

सन्दिप कहाँ बसेर लेख्दै छन् मानसिक तनाव भएको पोस्ट ? सम्पर्कमा नआए इन्टरपोलमार्फत पक्राउ गर्ने तयारी

काठमाडौं । गएराति नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले आफू मानसिक रूपमा विक्षिप्त बनेको विवरण समाजिक सञ्जालमा ‘पोस्ट’ गरे । त्यसपछि उनी कहाँ छन् भन्ने विषय फेरि एकपटक चर्चाको विषय बन्यो, सामाजिक सञ्जालमा ।

एक नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछाने कहाँ छन् भन्ने खुलेको छैन् । तर, उनी दुबई वा सिंगापुरमा रहेको अनुमान गरिँदै आएको छ । सरकारी स्रोतका अनुसार लामिछानेसँग अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलियालगायत आधा दर्जन बढी मुलुकको भिसा छ ।

सन्दीपले आफूविरुद्ध झुटा गतिविधि भइरहेको दाबी गर्दै नेपाल आएर कानुनी लडाइँ लड्ने उक्त पोस्टमार्फत जनाएका छन् । तर, उनी नेपाल कहिले आउँछन् खुलाएका छैनन् । बरु बिरामी भएको र आफू ‘आइसोलेसन’मा रहेको उनले दाबी गरेका छन् ।

Europass CV in Nepal

लामिछानेले पोष्ट गरेको भावनात्मक पोस्टले प्रहरी अनुसन्धानलाई कुनै प्रभाव नपार्ने प्रहरी अधिकारीहरु बताउँछन् । काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी भरत बोहराले सन्दीपको खोजी कार्य जारी रहेको बताए ।

सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा नाबालिगमाथि जबरजस्ती करणीको कसुरमा किटानी जाहेरी दर्ता भएको थियो । नाबालिगका आफन्तले दर्ता गराएको जाहेरीमा भदौ ५ गते राति सन्दीपले दुईपटक बलात्कार गरेको उल्लेख छ ।

साँझ नगरकोट घुमाउन लगेर मध्यराति काठमाडौंस्थित ‘होटल काठमाडौं इन’मा लगेर बलात्कार गरेको उजुरीमा उल्लेख छ । उक्त घटना भएको भनिएको भोलिपल्ट ६ भदौमा लामिछाने ट्वान्टी–२० सिरिज खेल्न केन्या प्रस्थान गरेका थिए ।

उक्त सिरिज नेपालले जितेको थियो । सोही सिरिजपछि लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैका प्रस्थान गरेका थिए । जमैकामै रहेका बेला सन्दीपविरुद्ध बलात्कारको उजुरी परेपछि उनी त्यहाँबाट निस्किएका थिए । तर, उनी अझै नेपाल आइपुगेका छैनन् ।

हालसम्म उनी सम्पर्कविहीन छन् । प्रहरी अधिकारीहरुका अनुसार सन्दीपका परिवारका सदस्यले समेत प्रहरीमा सम्पर्क गरेका छैनन् । सन्दीप दुबई वा सिंगापुरमा रहेको र त्यहाँ नेपालबाट केही कानुन व्यवसायी पुगेको हुनसक्ने प्रहरी अधिकारीहरुको अनुमान छ । नेपाल पुग्नेबित्तिकै पक्राउ पर्ने भएकाले उनले विदेशबाटै आफ्नो सबै कानुनी व्यवस्थापन गरेर आउने तयारीमा लागेको प्रहरीको बुझाइ छ ।

सन्दीपले आफूलाई कानुनी सहयोग गर्न नेपाल क्रिकेट संघ (क्यान)का अधिकारीहरुलाई समेत आग्रह गरेका थिए ।

नेपाल आएर कानुनीरुपमा अगाडि बढ्ने बताइरहे पनि सम्पर्कविहीन भएपछि प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)सँग समन्वय गरेर नेपाल ल्याउने प्रक्रिया अघि बढाउने तयारी थालेको छ ।

त्यसका लागि आवश्यक कागजी प्रक्रिया अगाडि बढाइएको प्रहरीका एक उच्च अधिकारीले बताए । सन्दीप पक्राउ नपरेसम्म अहिले नै कानुनी प्रक्रिया अगाडि बढाउन केही जटिलताहरु रहेका ती अधिकारीले बताए ।

सन्दीपलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले २३ भदौमा अनुमति दिइसकेको छ । काठमाडौं प्रहरी परिसरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सबै नाका र जिल्ला प्रहरी कार्यालयहरुलाई यसबारे पत्राचारसमेत गरिसकेको छ ।

Europass CV in Nepal