भारतलाई हराउँदै दक्षिण अफ्रिका शीर्ष स्थानमा उक्लियाे

भारतलाई हराउँदै दक्षिण अफ्रिका शीर्ष स्थानमा उक्लियाे

एजेन्सी । दक्षिण अफ्रिकाले आइसिसी टि२० विश्वकपमा भारतमाथि पाँच विकेटको रोमान्चक जित हात पारेको छ । यो जितसँगै दक्षिण अफ्रिका शीर्ष स्थानमा उक्लिदै सेमिफाइनल सम्भावना बलियो बनाएको छ । जितको लागि १ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिकालाई अन्तिम ६ बलमा जितको लागि ६ रन चाहिँएको थियो ।

भुवनेश्वर कुमारले वेन पार्नेललाई पहिलो बल डट राखे । दोस्रो बलमा एक रन लिँदै स्ट्राइक डेविड मिलरलाई दिए । तेस्रो बलमा मिलरले चौका प्रहार गएपछि भारतको जितको सम्भावना सकिएको थियो । चौथो बलमा मिलरले विजयी रन प्रहार गरे ।

दक्षिण अफ्रिका जितमा एडेन माक्ररमले ४१ बलमा ६ चौका र १ छक्कासहित ५२ रनमा आउट भए । डेविड मिलरले ४६ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५९ रनमा अविजित रहँदै जित पक्का गराए । ट्रिस्टन स्टब्स ६ र पार्नेलले दुई रन बनाए ।

Europass CV in Nepal

खराब सुरुवात गरेपनि चौथो विकेटका लागि मिलर र माक्ररमले ६० बलमा ७६ रनको साझेदारी गर्दै जितको आधार तय गरे । माक्ररमले ब्यक्तिगत ३५ रनमा जीवनदान पाएका थिए । स्पिनर रविचन्द्रन आश्विनको १२ औं ओभरको पाँचौं बलमा विराट कोहलीले सहज क्याच छोड्न पुगेका थिए ।

तीव्र गतिका बलर अर्शदीप सिंहले दोस्रो ओभरमा दुई विकेट लिँदै उत्कृष्ट सुरुवात दिलाए । दोस्रो ओभरको पहिलो बलमै क्विन्टन डि कक एज लागेर फस्ट स्लिपमा लोकेश राहुलबाट एक रनमा क्याच आउट भए । एक बलपछि राइली रोसोउ शून्यमा एलबीडब्लू आउट भए । यसअघि लगातार दुई शतक हानेका रोसोउलाई रोहित शर्माले रिभ्यु लिँदै पेभेलिएन फर्काएका थिए ।

लगातार खराब प्रदर्शन गर्दै आएका टेम्बा बभुमा १५ बलमा १ छक्कासहित १० रनमा आउट भए । बभुमा आउट हुँदा दक्षिण अफ्रिका ५.४ ओभरमा २४–३ को कमजोर अवस्थामा पुगेको थियो ।

भारतका तीव्र गतिका बलर अर्शदीप सिंहले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामी, रविचन्द्रन आश्विन र हार्दिक पान्ड्याले एक एक विकेट लिए । त्यसअघि पर्थमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३३ रन बनायो । भारतका सूर्यकुमार यादवले ४० बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६८ रन बनाए । सूर्यको यो विश्वकपमा लगातार दोस्रो अर्धशतक हो ।

सूर्यले यसअघि नेदरल्यान्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए । सूर्य बाहेक अन्य कुनैपनि भारतीय ब्याटरले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । भारतका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

तीव्र गतिका बलर लुन्गि एनगिडीले पाँचौं ओभरमा भारतका दुबै ओपनर लोकेश राहुल र रोहित शर्मालाई पेभेलिएन फर्काउँदै सानदार सुरुवात दिलाए । पाँचौं ओभरको दोस्रो बलमा कप्तान रोहित शर्मा १५ रनमा कट एण्ड बोल्ड आउट भए । रोहितले १४ बलमा १ चौका र १ छक्का प्रहार गरे । त्यो समय भारतले २३ रन बोर्डमा जोडेको थियो । अन्तिम बलमा अर्का ओपनर लोकेश राहुल एज लागेर फस्ट स्लिपमा एडेन माक्ररमबाट ९ रनमा क्याच आउट भए । उनले १४ बलमा १ छक्का हाने । राहुलले आफ्नो खराब लयलाई अन्त्य गर्न सकेनन् ।

सातौं ओभरको पाँचौं बलमा एनगिडीले भारतका प्रमुख ब्याटर विराट कोहलीलाई १२ रनमा कागिसो रबाडाबाट क्याच गराएपछि भारत समस्यामा परेको थियो । कोहली बाउन्सर बलमा फाइन लेगमा क्याच आउट हुन पुगेका थिए ।

कोहलीले ११ बल खेल्दै २ चौका प्रहार गरे । तीव्र गतिका बलर एनरिच नोर्कियाले दीपक हुडालाई क्विन्टन डि ककबाट शून्यमा क्याच गराए । एनगिडीले नै हार्दिक पान्ड्यालाई २ रनमा क्याच गराएपछि भारत ८.५ ओभरमा ४९–५ को अवस्थामा पुगेको हो । हार्दिक सर्ट बलमा फाइन लेगमा रबाडाबाट क्याच आउट भए ।

दीनेश कार्तिक १५ बल खेल्दै ६ रनमा आउट भए । रविचन्द्रन आश्विनले ११ बल खेल्दै ७ रन जोडे । दक्षिण अफ्रिकाका लुन्गि एनगिडीले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । वेन पार्नेलले ४ ओभरमा १ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिए । एनरिच नोर्कियाले एक विकेट लिए ।

भारतले पहिलो खेलमा पाकिस्तानलाई ४ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५६ रनले हराएको थियो । भारतले अव बुधबार बंगलादेश र आइतबार जिम्बावेसँग खेल्नेछ । दक्षिण अफ्रिकाले पहिलो खेलमा जिम्बावेसँग वर्षाको कारण खेल पूरा हुन नसक्दा अंक बाँडेको थियो ।

दोस्रो खेलमा बंगलादेशलाई १ सय ४ रनको फराकिलो अन्तरले हराएको थियो । दक्षिण अफ्रिकाले बिहीबार पाकिस्तान र आइतबार नेदरल्यान्ड्सँग खेल्नेछ । दुबै खेलमा विजयी हुँदा सहजै सेमिफाइनलमा पुग्नेछ ।

 

Europass CV in Nepal