के यसपालिको विश्वकप आयोजक कतारले नै जित्ला ? अल खोरबाट सुरु हुनेछ कतारको खेल

के यसपालिको विश्वकप आयोजक कतारले नै जित्ला ? अल खोरबाट सुरु हुनेछ कतारको खेल

पेरिस ।  कतारले सबैलाई चकित पार्दै विश्वकपमा पहिलो चरणबाटै बाहिरिने दोस्रो आयोजक देश बन्नबाट रोक्ने प्रायस गर्नेछ । आयोजकको समूह ‘ए’ बाट नकआउट चरणमा पुग्ने टिममा नेदरल्यान्ड्स र सेनेगललाई बलियो मानिएको छ । एसियन च्याम्पियन कतारले नोभेम्बर २० मा इक्वेडरविरुद्ध अल खोरमा प्रतिस्पर्धा गर्दै विश्वकप यात्रा सुरु गर्नेछ, जुन खेल आयोजकलाई विश्वकपको पहिलो खेल खेल्न दिएर एक दिनअगाडि सारिएको हो ।

कतारी टिमले प्रतियोगिताका लागि तयारी गरेको लगभग चार महिना भएको छ । कतारलाई हालैका मैत्रीपूर्ण खेलहरूमा संघर्षरत देखियो । उसले क्यानडा र क्रोएसिया यू–२३ विरुद्ध हार बेहोरेको थियो ।

‘उनीहरू (कतारी खेलाडी) ले जीवनमै पहिलोपल्ट विश्वकपका लागि तयारी गरिरहेका छन् । उनीहरूले आफ्नो समय त्यागेका छन्, परिवारभन्दा टाढा भएर घरबाहिरै बसिरहेका छन्,’ कतारका पूर्वखेलाडी मोहम्मद मुबारक अल–मोहन्नदीले भने । विश्वकपमा आयोजक टिम एकपल्ट मात्रै समूह चरणबाटै बाहिरिएको छ, जुन दक्षिण अफ्रिकामा सन् २०१० मा भएको थियो ।

Europass CV in Nepal

कतार विश्व फुटबलको मुख्य प्रतियोगितामा आफ्नो पहिलो सहभागितामै राम्रो प्रभाव पार्नेमा विश्वस्त छ । उसले सन् २०१९ मा एसियन कपको उपाधि जितेको थियो । कतार १२ महिनाअघि भएको अरब कपको सेमिफाइनल पुगेको थियो । चौथोपल्ट विश्वकपमा छनोट भएको इक्वेडरलाई समूहमा ‘अन्डरडग’ मानिएको छ ।

तीनपल्ट विश्वकपको फाइनलमा हारेको नेदरल्यान्ड्सबाट लिभरपुलका सेन्टर–ब्याक भर्जिल भान डाइक तथा पीएसभी आइन्डहोभेनका कोडी गाक्पोसहित आकर्षक युवा खेलाडीहरूको टिमले उद्घाटनको भोलिपल्ट सेनेगलविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

रुसमा २०१८ मा भएको विश्वकपमा अफ्रिकाका पाँचै टिम नकआउट चरणमा पुग्न असफल भएको थियो । जापानविरुद्ध अनुशासनहीनताका कारण चुकेको सेनेगलले यसपालि समूह चरण पार गर्ने अपेक्षा गरिएको छ ।यो वर्ष बालोन डी’अरमा करिम बेन्जेमापछि दोस्रोमा रहेका साडियो मानेले सेनेगलको बलियो टिमको नेतृत्व गर्नेछन् । सेनेगलले पहिलोपल्ट अफ्रिका कप अफ नेसन्स गत फेब्रुअरीमा जितेको थियो ।

एलिउ सिसेको टिमलाई आकांक्षा पूरा गर्ने चुनौती छ । सेनेगलका समर्थक आफ्नो टिम विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टिम हुने आशा गर्छन् । प्रशिक्षक सिसे आश्चर्यजनक रूपमा विश्वकप २००२ को क्वारटफाइनल पुगेको सेनेगली टिमका सदस्य हुन् । त्यो संस्करणमा सेनेगलले डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पराजित गरेको थियो ।

डच टिम रुसी संस्करणमा छनोटबाटै बाहिरिएपछि विश्वकपमा फर्किएको हो । प्रशिक्षक लुइस भान गालले २०१४ मा तेस्रो स्थान दिलाएका थिए । उनी युरो २०२० मा चेक रिपब्लिकविरुद्ध चुकेपछि फेरि जिम्मेवारीमा फर्किएका छन् । भान डाइक चोटमुक्त छन् ।

समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेताविरुद्ध अन्तिम १६ मा खेल्नेछ । विश्वकप २०१८ को सेमिफाइनल खेलेको इंग्ल्यान्ड, अमेरिका, इरान र वेल्स समूह ‘बी’ मा छन् ।

‘मेरो व्यक्तिगत चाहना विश्वकप विजता बन्ने हो र यसलाई म आफ्ना खेलाडीमा दिन चाहन्छु । यदि कसैले मलाई घमण्डी भने पनि फरक पर्दैन,’ ७१ वर्षीय भान गालले भने, ‘मैले यस्तो आफ्ना लागि गर्न चाहेको होइन तर डच फुटबलका लागि हो ।’

उनले आफ्नो अण्डाशयको क्यान्सरको उपचार गराइरहेको कुरा यसै वर्षमात्र सार्वजनिक गरेका थिए । तेस्रोपल्ट नेदरल्यान्ड्सका प्रशिक्षक भएका उनलाई विश्वकपपछि रोनाल्ड रेगनले विस्थापित गर्नेछन् । उनको टिम अनुभवी मिडफिल्डर जर्जिनो विज्नाल्डमबिना हुनेछ । पेरिस सेन्ट जर्मेनबाट ‘लोन’ मा रोमा पुगेपछि एक खेलमै खुट्टा भाँचिएपछि विज्नाल्डमले विश्वकप गुमाएका हुन् ।