कतार विश्वकप सुरु हुन अब मात्रै ६ दिन बाँकी छ । विश्वकप आउन केही दिन मात्रै बाँकी रहेका बेला विश्वको प्रसिद्ध भिडियो गेम फिफा–२३ ले विश्वकपको सम्भावित नतिजाबारे रोचक भविष्यवाणी गर्दै यसपटक उपाधि अर्जेन्टिनाले जित्ने दाबी गरेको छ । इलेक्ट्रोनिक आर्ट्स (ईए) ले फिफासँग आधिकारिकता खरिद गरेर बनेको यस भिडियो गेमलाई फुटबलको नम्बर १ खेल मानिन्छ । यसको विश्वसनीयतालाई धेरैले विश्वास पनि गर्छन् । यही भिडियो गेमले कतार विश्वकपको फाइनलमा एकै महादेशका अर्जेन्टिना र ब्राजिल भिड्ने दाबी गरेको छ ।
जहाँ लियोनल मेस्सीको देश अर्जेन्टिनाले नेइमारको देश ब्राजिललाई १–० को अन्तरमा हराएर उपाधि जित्ने अनुमान गरिएको छ । स्मरण रहोस्, फिफाले यसअघि सन् २०१०, २०१४ र २०१८ मा गरेको भविष्यवाणी पनि सही साबित भएको थियो । अर्थात् जुन–जुन देशले जित्छ भनिएको थियो, ती नै देशले उपाधि जितेका थिए । फिफा–२३ को अनुमान अनुसार सेमिफाइनलमा अर्जेन्टिनाले २०१८ को विजेता फ्रान्सलाई १–० ले पराजित गर्नेछ भने अर्को सेमिफाइनलमा ब्राजिलले क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्नेछ ।
विश्वकपको सर्वाधिक गोलकर्ता र बेस्ट प्लेयर मेस्सी बन्ने अनुमान
फिफा–२३ ले कतार विश्वकपमा अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सी सर्वाधिक गोलकर्ता र बेस्ट प्लेयर अफ् द टुर्नामेन्ट बन्ने अनुमान गरेको छ । भविष्यवाणी अनुसार मेस्सीले प्रतियोगिताभरमा ७ खेलबाट ८ गोल गर्नेछन् । त्यसैगरी, मेस्सी नै प्रतियोगिताको बेस्ट खेलाडी पनि बन्नेछन् । फिफाले मेस्सीले गोल्डेन बुट र गोल्डेन बल दुवै जित्ने भविष्यवाणी गरेको छ । साथमा, विश्वकपको उपाधि । उपाधि, गोल्डेन बुट अनि गोल्डेन बल । यी ३ कुरामा साथमा मेस्सी कतार विश्वकपको हिरो बन्ने अनुमान फिफाले गरेको छ । यो भविष्यवाणीलाई धेरैले रोमाञ्चक ढंगले हेरिरहेका छन् ।
फिफाको भविष्यवाणी अनुसार मेस्सीपछि दोस्रो सर्वाधिक गोलकर्ता नेदरल्यान्ड्सका मेम्फिस डिपाए बन्नेछन् । उनले ५ खेलबाट ६ गोल गर्नेछन् । फ्रान्सका केलियन एमबाप्पेले ७ खेलबाट ६ गोल गर्नेछन् । त्यसैगरी, अमेरिकाका क्रिस्टिएन पुलिसिचले ६ खेलबाट ५ गोल गर्नेछन् । पाँचौं सर्वाधिक गोलकर्ता ब्राजिलका रिचार्लिसन बन्नेवाला छन् । उनले ७ खेलबाट ५ गोल गर्नेछन् । ब्राजिलकै भिनिसियस जुनियरले ६ खेलबाट ५ गोल गर्नेछन् । पोर्चुगलका रोनाल्डोले यस विश्वकपमा ७ देलबाट ३ गोल गर्नेवाला छन् ।