कोरोनाको हालसम्मकै संक्रामक ‘बीए फाइभ’ले चौथो लहरको जोखिम !

कोरोनाको हालसम्मकै संक्रामक ‘बीए फाइभ’ले चौथो लहरको जोखिम !

२३ असार, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण पुनः उकालो लागेको छ । बुधबार चार महिनापछि ११३ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यसअघि गत २६ फागुनमा ११२ जनामा संक्रमण देखिएको थियो । त्यसयता संक्रमितको संख्या निरन्तर घट्दै आएको थियो ।

हालसम्मै संक्रामक मानिएको ओमिक्रोनको भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएसँगै नेपालमा पनि चोथौ लहर आउने जनस्वास्थ्यविज्ञहरुको आंकलन छ । केही हप्तादेखि दैनिक रुपमा संक्रमणदर दोब्बर रुपमा बढ्नुमा ओमिक्रोनको उपप्रजाति ‘बीए.फाइभ’ प्रमुख जिम्मेवार रहेको छ ।

Europass CV in Nepal

पछिल्लो दिनमा नेपाल-भारतको प्रवेश विन्दुमा भेटिने संक्रमितको संख्या तुलनात्मक रुपले बढिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास बताउँछन् । ‘अहिले नेपालमा पनि कोरोनाका केसहरु बढ्दै गएको देखिन्छ । नेपाल-भारत प्रवेश बिन्दुमा तुलनात्मक रुपमा संक्रमित संख्या बढिरहेका छन् । ओमिक्रोनको उपप्रजातिले संक्रमण बढाइरहेको छ,’ डा. दासले भने, ‘यो चौथो लहरको पूर्वसंकेत हो ।’

भारतमा पनि संक्रमित सख्या बढ्दै गएकाले नेपालमा पनि सहज रूपमा फैलिने डा. दास बताउँछन् ।

हालसम्मकै संक्रामक

जनस्वास्थ्यविदका अनुसार ओमिक्रोनको उपप्रजाति ‘बीए.फाइभ’ हालसम्मकै संक्रामक रहेको छ । जसले तीव्र गतिमा संक्रमण सार्ने क्षमता राख्दछ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन ओमिक्रोनको उपप्रजाति ‘बीए.फाइभ’ले खोप लगाएका मानिसलाई पनि पुनः संक्रमणको लहरको रुपमा देखिने बताउँछन् । ‘बीए.फाइभले बढीभन्दा बढी मानिसलाई संक्रमण गर्छ । तर, विभिन्न देशमा देखिएको अनुसन्धानले अस्पताल भर्ना हुने संख्या कम देखिएको छ,’ डा. पुनले अनलाइनखबरसँग भने, ‘अहिले देखिएका पूर्वसंकेतहरुले पुनः संक्रमणको लहरतिर उन्मुख भएको भन्न सकिन्छ ।’

विभिन्न देशको तथ्यांक अनुसार अस्पताल भर्ना तथा मृत्यु गराउने क्षमता पछिल्ला भेरियन्टको भन्दा कम छ । ओमिक्रोनमा परिवर्तित जिन ‘स्पाइक प्रोटिन’ गर्दा तीव्र र छोटो अवधिमा फैलिने संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् ।

‘हामीसँग विकसित भएको कोरोनाविरुद्धको खोपले ओमिक्रोनबाट जति मात्रा सुरक्षित राख्थ्ाो । तर, बीए.फाइभको संक्रमणले खोपको प्रभावकारीतालाई घटाउने देखिन्छ,’ अधिकारी भन्छन्, ‘ओमिक्रोनकै सबभेरियन्ट भएकाले डेल्टाजस्तो घातक हुँदैन ।’ चोथौ लहरको रुपमा पिक अवस्थामा पुग्नका लागि एक महिना लाग्ने डा. अधिकारीको आंकलन छ ।

यो प्रजातिलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ । यो कत्तिको खतरनाक छ भन्ने अध्ययन भइसकेको छैन ।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी पनि अहिलेसम्मकै भेरियन्टभन्दा ‘बीए.फाइभ’ बढी संक्रामक भएको बताउँछन् ।

अहिलेसम्मको अध्ययनले संक्रामक मानिएको ओमिक्रोनको (आर नट) १३ छ । त्यसैगरी, ओमिक्रोनको उपप्रजाति ‘बीए.फाइभ’को भने १८ छ । विज्ञका अनुसार ‘आर नट’ को मतलब संक्रमण सार्ने क्षमता हो । ‘अहिलेसम्म भएको संक्रमण बढी मात्रामा सार्ने दादुरा रहेको थियो । तर, अहिले ओमिक्रोनको उपप्रजाति बीए.फाइभ बढी संक्रामक देखिएको छ,’ डा. सुवेदी भन्छन्,’ यसले ह्वातै संक्रमण बढाएर चाँडै लहर सकिने देखिन्छ ।’ डा. सुवेदी अनुसार बढी संक्रामक भएकाले बीए.फाइभको लहर महिनौंसम्म नरहन पनि सक्छ । तर, यसले जोखिम पार्ने तथा घातक रुप लिने आंकलन गर्न नसकिने उनको भनाइ छ ।

बेलायतको पछिल्लो तथ्यांक हेर्दा अस्पताल भर्ना हुने दर ३० प्रतिशतले बढेको छ । डा. सुवेदीका अनुसार अघिल्लो लहर कति समय अगाडि आएको थियो ? त्यो बिचको अवस्था के थियो ? समुदायस्तरमा रोग प्रतिरोधात्मक क्षमता कस्तो थियो ? भन्ने आधारमा नयाँ भेरियन्ट आउँदा कतिको असर गर्छ भन्ने आंकलन गर्न सकिन्छ । ‘नेपालमा डेल्टा भेरियन्ट फैलिँदा धेरै मानिसको मृत्यु भयो । तर, ओमिक्रोन बढी घातक भएन । तेस्रो लहर फैलिएको एक वर्ष भइसकेको छ । त्यसकारण पनि ओमिक्रोनभन्दा बढी जोखिममा छौं,’ डा. सुवेदी भन्छन् ।’

अर्का जनस्वास्थ्यविद् डा. केदार बराल पनि अन्य विज्ञहरुको कुरालाई समर्थन जनाउँदै नेपालमा कोरोनाको लहर आउने बताउँछन् । ‘ओमिक्रोनको ‘स्पाइक प्रोटिन’ मा पनि परिवर्तन आएको छ । हामीले कोरोना खोपको दोस्रो मात्रा लगाएको धेरै समय भइसकेको छ,’ डा. बराल भन्छन्,’ नेपालीमा रोग प्रतिरोधात्मक क्षमता घट्दै गएसँगै र नयाँ उपप्रजाति आएसँगै अब लहरकै रुपमा आउने देखिन्छ ।’

Europass CV in Nepal