घोराहीमा नगर प्रमुख र उपप्रमुखद्वारा पदभार ग्रहण, पदभार ग्रहणसँगै विभिन्न प्रतिबद्धता

घोराहीमा नगर प्रमुख र उपप्रमुखद्वारा पदभार ग्रहण, पदभार ग्रहणसँगै विभिन्न प्रतिबद्धता

घोराही, जेठ ९ । घोराही उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख नरुलाल चौधरी र उपप्रमुख हुमाकुमारी डिसीले पदभार ग्रहण गर्नुभएको छ । नवनिर्वाचित नगर प्रमुख चौधरी सहित उपप्रमुख हुमाकुमारी डिसीले सोमबार पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गर्दै घोराही उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख नरुलाल चौधरीले नगरका सबै सामुदायिक विद्यालयमा सुरक्षित खानेपानीको व्यवस्थापन र व्यवस्थित शौचालय निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

पदभार ग्रहण गर्दै सोमबारनै नगर प्रमुख चौधरीले नगर भित्रका सबै सामुदायिक विद्यालयमा सुरक्षित खानेपानीको व्यवस्थापन र व्यवस्थित शौचालय निर्माण तथा व्यवस्थापन गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।

यसैविच घोराहीमा नवनिर्वाचित जनप्रतिनिधीको स्वागत, कार्यकाल सकिएकाको बिदाई गरिएको छ । उपमहानगरपालिकाले सोमबार नव निर्वाचित जनप्रतिनिधीहरुको स्वागत र निवर्तमान भएकाहरुको बिदाई गरेको छ । नव निर्वाचित नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरुलाई स्वागत गरिएको हो भने कार्यकाल सकिएकाहरुलाई बिदाई गरिएको हो ।

निवर्तमान नगर उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी र वडा नम्बर १४ का निबर्तमान वडा अध्यक्ष शक्तिराम डाँगीले नवनिर्वाचित नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसी, १९ वटै वडाका अध्यक्ष र सदस्यहरुलाई टिका र माला लगाएर स्वागत गर्नुभएको थियो ।

यसैगरी, कार्यकाल सकिएका जनप्रतिनिधीहरुलाई पनि विदाई गरिएको छ । टिका, दोसल्ला र मायाको चिनो प्रदान गरि कार्यकाल सकिएकाहरुको सोमबार बिदाई गरिएको हो । निवर्तमान नगर उपप्रमुख सहितका व्यक्तिहरुलाई बिदाई गरिएको छ ।

विदाई कार्यक्रममा बोल्दै निवर्तमान नगर उपप्रमुख सीता सिग्देल न्यौपाने र १४ नम्बर वडाका निवर्तमान अध्यक्ष शक्तिराम डाँगीले ५ बर्षे कार्यकालमा जनताको सेवा, विकास र अधिकार स्थापित गर्ने कामको जिम्मेवारी पुराउने सबैलाई धन्यवाद दिनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजिकरण प्रशासन महाशाखा प्रमुख बालकृष्ण खनालले गर्नुभएको थियो ।