चुनाव जित्नैका लागि मात्र सूर्य चिह्न रोजेको हुँ : कमल थापा

चुनाव जित्नैका लागि मात्र सूर्य चिह्न रोजेको हुँ  : कमल थापा

२३ असोज, हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जित सुनिश्चित गर्नका लागि सूर्य चिह्नबाट चुनाव लड्न लागेको बताएका छन् । मकवानपुर–१ बाट नेकपा एमालेको समर्थनमा उम्मेदवारी दर्ता गरेपछि पत्रकारसित कुरा गर्दै उनले नेकपा एमालेसँग सहकार्य गरेर चुनाव लड्न पाउनु खुसीको कुरा भएको बताए ।

एमालेको सहयोगमा चुनाव लड्दा एमालेकै केही नेताहरु चुनावको अवसरबाट वञ्चित भए पनि यो बिषयलाई उनीहरुले बुझ्ने थापाले छ । ‘नेकपा एमालेसँगको सहकार्य एक ठाउँमा मात्र चुनाव जित्नका लागि नभई मुलुकमा विद्यमान संकट समाधान गर्न राष्ट्रिय परिवेशको आवश्यकताको रुपमा रहेको छ’, उनले भने, ‘म नेकपा एमालेका साथीहरुलाई चित्त बुझाउन सक्छु भन्ने लाग्छ । त्यसका निमित्त हरसम्भव प्रयास गर्नेछु ।’

सूर्य चिह्न पाउँदा खुसी छु 

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका का अध्यक्ष कमल थापाले सूर्य चिन्हबाट चुनाव लड्न पाउँदा खुसी लागेको बताएका छन् । मकवानपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गरेपछि थापाले भने, ‘नेकपा एमालेको लोकप्रिय चिन्ह ‘सूर्य’बाट चुनाव लडन पाउँदा खुसी लागेको छ ।’

आठौं पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका थापालाई नेकपा एमालेको साथ रहेको छ । ‘देश र जनताको हितमा इमान्दारीपूर्वक कामगर्ने प्रतिबद्धताका साथ नेकपा एमालेको सहयोगमा मकवानपुर जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएको छु,’ मनोनयनपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सबैको सद्भाव र सहयोगको निम्ति अपिल गर्दछु ।’

अघिल्लो निर्वाचनमा उनी यही क्षेत्रमा नेकपा एमालेका उम्मेदवार कृष्ण दाहालसँग पराजित भएका थिए । उनलाई उक्त चुनावमा लोकतान्त्रिक गठबन्धनको साथ थियो । एमालेले थापालाई समर्थन गरेसँग एमाले मकवानपुरका नेता कार्यकर्ता रुष्ट बनेका छन् ।