बेइजिङको ग्रेट हलमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ सम्मेलनको समापन बैठकबाट चीनका पूर्वराष्ट्रपति हु जिन्ताओलाई जबर्जस्ती निकालिएको छ ।सुरक्षाकर्मीले हु जिन्ताओलाई जबर्जस्ती हातमा समातेर निकाल्दै गरेको भिडियोमा सार्वजनिक भएको छ। यस विषयमा बीबीसीले पनि लेखेको छ ।
हु जिन्ताओ सन् २०१२ मा सी चिनफिङ महासचिव चुनिनुअघि चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव र चीनका राष्ट्रपति थिए। ७९ वर्षका उनी गत आइतबार सुरू भएको कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय अधिवेशनको उद्घाटनमा पनि सहभागी थिए।
अधिवेशनको अन्तिम दिन शनिबार ग्रेट हल अफ द पिपलमा हु जिन्ताओ सीको बाँयातिरको सिटमा बसेका थिए। त्यहीबेला दुई जना सुरक्षाकर्मी आएर उनलाई सिटबाट उठाएर वmाहिर निकालेको दृष्य सामाजिक संजालमा सार्वजनिक भएको छ।
सुरूमा एक जना पुरूषले केही भनेर सिटबाट उठाउन खोज्दा जिन्ताओ उठ्न मानिरहेका हुँदैनन्। केहीबेरको प्रयासपछि उनी सिटबाट उठ्छन्। तर, उनी जर्बजस्ती गरिएकोप्रति विरोध जनाइरहेका छन् । उनको ठीक अगाडि राष्ट्रपति सी चिनफिङ बसेका थिए ।
जाने बेलामा उनले सीलाई केही कुरा भन्छन् र छेऊमा बसेका प्रधानमन्त्री ली खछ्याङको काँधमा धाप मार्छन्। त्यसपछि उनलाई दुई जना पुरूषहरूले हलबाट बाहिर लिएर जान्छन्। चिनियाँ कम्युनिष्ट पार्टीका पूर्वमहासचिव जिन्ताओलाई आज किन हलबाट बाहिर निकालिएको भन्नेबारे अधिकारीहरूले केही जानकारी दिएका छैनन्।
Second by second breakdown of the live-on-air purge of Hu Jin Tao – Xi even physically stops him taking a document… https://t.co/rn2vAp9e6M
— Paul Mason (@paulmasonnews) October 22, 2022
प्रधानमन्त्री ली खछ्याङ केन्द्रीय सदस्यमा परेनन्
चिनियाँ कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय अधिवेशन शनिबार सकिएको छ। अधिवेशनको समापनसँगै सी चिनफिङले ऐतिहासिक तेस्रो कार्यकाल सुरू गरेका छन्। तेस्रो कार्यकालका लागि चिनफिङले केन्द्रीय कमिटी, पोलिटब्युरो र पोलिटब्युरो स्थायी कमिटीमा व्यापक फेरबदल गरेका छन्।
२० औं अधिवेशनले गरेका निर्णयबारे आइतबार औपचारिक जानकारी दिइनेछ। सरकारी सञ्चारमाध्यम सिन्ह्वाले शनिबार नै चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ केन्द्रीय कमिटी सदस्यहरूको सूची सार्वजनिक गरेको छ। उक्त सूचीमा प्रधानमन्त्री ली खछ्याङको नाम छैन।
साउथ चाइना मर्निङ पोष्टका अनुसार यसको अर्थ एक दशकदेखि प्रधानमन्त्री रहेका खछ्याङ अब राजनीतिबाट अवकाश हुने भएका छन्। उनीसँगै अर्का पोलिटब्युरो स्थायी कमिटी सदस्य वाङ याङ पनि अवकाश हुने भएका छन्।
चिनियाँ कम्युनिष्ट पार्टीमा ६८ वर्ष पुगेपछि अवकाश पाउने नियम छ। उनीहरू दुबै जना ६७ वर्षका थिए। चिनियाँ जनकंग्रेसका सभामुख ली झान्सु र उपप्रधानमन्त्री हान झेङ पनि उमेरका कारण अवकाशमा जाने भएका छन्।अहिले नै ६९ वर्ष पुगिसकेका विदेश मन्त्री वाङ यी भने केन्द्रीय कमिटी सदस्यको सूचीमा छन्। उनलाई पोलिटब्युरोमा लैजाने तयारी छ।
स्वशासित क्षेत्र सिन्जियाङका पूर्व पार्टीप्रमुख ६६ वर्षीय चेन गुवाङगौ पनि केन्द्रीय सदस्यको सूचीमा छैनन्। समाचार संस्था सिन्ह्वाका अनुसार आइतबार पत्रकार सम्मेलन गरेर चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ नेतृत्वबारे जानकारी दिइनेछ।






