भारतीय अभिनेत्री शबाना आजमीलाई दयाहाङ राई मनपर्यो

भारतीय अभिनेत्री शबाना आजमीलाई दयाहाङ राई मनपर्यो

भारतकी उम्दा कलाकार हुन्, शबाना आजमी । सयभन्दा बढी बलिउड फिल्ममा काम गरिसकेकी उनले रंगमञ्चमा पनि ठूलो नाम बनाएकी छन् । गीतकार जावेद अख्तरकी श्रीमती रहेकी उनले पाँचपटक राष्ट्रिय चलचित्र उत्कृष्ट अभिनेत्री पुरस्कार जितेकी छन् भने कयौं अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गरेकी छन् । आजमीका ‘गडमदर’, ‘कंधार’, ‘अर्थ’, ‘पार’ सम्झनलायक फिल्म हुन् ।

यतिबेला उनै शबाना नेपालको राजधानी काठमाडौंमा छिन् । दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा सहभागी हुन काठमाडौं आएकी उनले शनिवार मण्डला थिएटरमा नेपाली फिल्मकर्मीहरुलाई मास्टरक्लास दिएकी थिइन् । त्यसक्रममा उनले आफूले अहिलेसम्म नेपाली फिल्म नहेरेको भए पनि नाटकमार्फत् दयाहाङ राई र रेणुनाथ योगी (प्रकाश फेम्ड अभिनेत्री) सँग परिचित रहेको बताइन् ।

शबानाले नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण हुनुपर्ने बताउँदै भनिन्, ‘नेपाली फिल्म अन्तर्राष्ट्रिय स्तरको बनेका छैनन्, त्यसैले मैले अहिलेसम्म नेपाली फिल्म हेर्न पाएकी छैन । बरु, नाटकबाट म दयाहाङ राई र रेणुनाथ योगीलाई चिन्छु ।’ उनले अभिनयप्रति रुचि भएकालाई चरित्रको भावना महसुस गरेर अभिनय गर्न सुझाव दिएकी छन् । असल अभिनय मनभित्रबाट आउने उनको भनाई छ ।

Europass CV in Nepal

दोस्रो पटक नेपाल आएकी उनले नेपालको कला-संस्कृतिको आफू सधैं प्रशंसक रहेको बताएकी छन् । नेपाल कला र संस्कृतिमा धनी रहेको बताउँदै उनले नेपालमा रंगमञ्चको विस्तार भएको देख्दा खुसी व्यक्त गरिन् । रंगमञ्चले समाजको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ । मास्टरक्लासअघि काठमाडौंका केही पर्यटक स्थल घुमेकी उनी आइतबार भारत फर्किँदैछिन् ।

 

Europass CV in Nepal