चकलेटी ब्वाई धिरज मगरले फिल्म ‘भगवत् गीता’मा मुख्य भूमिकामा अभिनय गर्ने भएका छन् । लामो समयको छलफलपछि उनी फिल्ममा काम गर्न तयार भएका हुन् । आइतवार निर्देशक झरना थापा र धिरजबीच सम्झौताको कागजपत्र आदान-प्रदान भयो । फिल्ममा धिरजको जोडी अभिनेत्री सुहाना थापासँग बाँधिनेछ । उनीहरुले पहिलो पटक एकसाथ फिल्ममा काम गर्न लागेका हुन् ।
सबैभन्दा पहिलो यो फिल्मको अफर अभिनेता अनमोल केसीलाई गरिएको थियो । उनी काम गर्न सकारात्मक पनि थिए । झरनाले ‘ए मेरो हजुर ३’ रिलिजपछि अनमोल र सुहाना ‘भगवत् गीता’मा देखिन लागेको संकेत गरेकी थिइन् । तर, पछि अनमोलले काम गर्ने इच्छा देखाएनन् । यसपछि झरनाले धिरजलाई अप्रोच गरिन् । तर, धिरजले ४० लाख पारिश्रमिक मागेपछि कुरा अघि बढेन ।
धिरजको पारिश्रमिकले तर्सिएको निर्माण टिम अन्ततः अडिसनबाट हिरो छान्ने निर्णयमा पुग्यो । दुई हप्ताअघि अडिसन आह्वान पनि गरियो । उता फिल्म ‘बाबरी’को असफलताले हच्किएका धिरजले ‘भगवत् गीता’ आफ्नो हातबाट उम्किने चाल पाएपछि उनी रातारात फिल्म गर्न राजी भएको स्रोत बताउँछ । धिरजले यो फिल्मका लागि कति पारिश्रमिक लिएका छन्, त्यो भने खुलेको छैन ।
फिल्ममा धिरज अनुबन्ध भएसँगै अब निर्देशक थापा छायांकनमा निस्कने तयारीमा छन् । आगामी बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गरिसकिएको फिल्मलाई जनकपुर र दार्चुलामा खिचिनेछ । सुनिल कुमार थापाको निर्माण रहने फिल्ममा सञ्जय लामाको छायांकन, साहिल खानको सम्पादन, रामजी लामिछानेको गीतमा कोरियोग्राफी र प्रभास मल्लिकको ब्याकग्राउन्ड स्कोर रहनेछ ।