एजेन्सी । अकबर–बीरबल, मेरे साई, क्राइम पेट्रोल जस्ता टिभी शोमा काम गरिसकेकी भारतीय टेलिभिजन अभिनेत्री अनाया सोनीले सामाजिक संजालमा आफ्नो मृगौला फेल भएको पोस्टले आफूलाई निकै समस्या पारेको खुलासा गरेकी छिन् ।
उनले आफ्नो मृगौलामा खराबी देखिएपछि दुई वर्षदेखि मृगौलाको डायलासिस गराइरहेको बताएकी छिन् । उनले आफ्नो यथार्थतालाई समाजिक संजालमा लेखेकी थिईन् । तर यो घटना थाहा पाएपछि उनलाई कसैले पनि काम दिएका छैनन् । उनले आफूले काम पाउन समेत छोडेको बताएकी छिन् ।
अनायाले आफ्नो मृगौला फेल भएको खबर सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनको समस्या झनै बढेको छ । उनको अस्वस्थताका कारण धेरै कामहरू उनको हातबाट फुत्किएका छन् । लगातारको डायलासिसको खर्च र कामको कठिनाइले उनलाई निकै समस्या परेको छ ।
भारतीय सञ्चार माध्यम सँगको एक अन्तर्वार्तामा अनायाले यी कुरा बताएकी हुन् । उनले आफूले काम गरिरहेको टिभि सिरियल मेरे साईं’ को सुटिङ स्थलबाट डायलासिसका लागि दुई दिनअघि मात्रै फर्कीएको बताइन् । उनले डायलासिसका कारण नियमित काम गर्न नसकेको र डायलासिस हुने दिन सेटमा पुग्न मुस्किल रहेको बताइन् ।
उनले हप्तामा तीन पटक डायलासिस गर्नुपर्ने बताएकी छन् । अनाया मृगौलाको खोजिमा छिन् ।प्रत्यारोपणका लागि मृगौला फेला नपर्दासम्म डायलासिस जारी रहने उनको भनाइ छ । प्रत्येक डायलासिसमा पन्ध्र सय भारतीय रुपैयाँ शुल्क लाग्ने र यसबाहेक औषधिको मूल्य फरक रहेको उनले बताएकी छन् ।
अनाया भन्छिन्, ‘यो मेरो उपचार खर्च मात्रै हो, घरभाडा लगायत अन्य धेरै खर्च भइरहेको छ भने स्वास्थ्य अवस्थाका कारण आम्दानी पनि निकै घटेको छ । पहिले म मलाडमा बस्ने गर्थे । हाल अस्पताल आउदा जादाँ लाग्ने खर्च जोगाउन मैले अस्पताल नजिक बस्ने गरेको छु ‘।
सामाजिक सञ्जालमा आफ्नो दुवै मृगौला फेल भएको बताएपछि उनले काम पाउन छोडिन् । सामाजिक सञ्जालमा आफ्नो मृगौला फेल भएको बताएर उनी उपचारको लागि कोष जम्मा गर्न चाहन्थिन् । तर, त्यो सबै उनका लागि समस्या बनिदियो । धेरैले उनको उक्त पोस्टको आलोचना गरे भने थोरैले उनलाई सहयोग पनि गरेका छन् । अब उनी जहाँ अडिसनका लागि वा कामको लागि जाने गर्छिन् उनको स्वास्थ्य अवस्थाका कारण उनले काम पाएकी छैनन् ।
सन् २०१५ मा उनको दुवै मिर्गौला फेल भएको थियो । त्यसपछि उनका बावुले एउटा मृगौला दिएका थिए । गत वर्ष त्यो मृगौला पनि कोभिडका कारण फेल भएको उनी बताउछिन् । उनको आमालाई मधुमेह भएका कारण मृगौला दान गर्न असमर्थ रहेको उनको दुखेसो छ । उनी चाँडै निको भएर आफ्नो परिवारलाई मद्दत गर्न चाहान्छिन् । साथै उनले मिर्गौलाका लागि निवेदन पनि दिएकी छन् ।