एक सातामा ३४ अंकले घट्यो नेप्से

एक सातामा ३४ अंकले घट्यो नेप्से

केही समयदेखि निश्चित बिन्दुमा तलमाथि गरिरहेको (साइडबेज मुभमेन्टमा) नेप्से परिसूचक १८६८ को न्यून बिन्दुबाट बढ्ने प्रयासमा देखिएको छ। तर, अझै पनि नेप्सेको दिशा स्पष्ट नभएको प्राविधिक विश्लषणहरूले देखाउँछ। गत साता भने बजार परिसूचक नेप्से ३४.६८ अंकले घटेर १८८२ मा बजार बन्द भएको छ। सातामा कारोबार रकमका समेत ११ प्रतिशतले घटेको छ।

अघिल्लो साता चार दिनको कारोबारमा पाँच अर्ब ८५ करोड रूपैयाँको सेयर किनबेच भएकोमा यस साता बजार खुलेको पाँच दिनमा ५ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको हो। औषत दैनिक कारोबार रकम भने २९ प्रतिशतले घटेको छ। यसबाहेक बजारको वृद्धिलाई सघाउने गरी बजारमा तरलता प्रवाह हुन सकेको छैन। मूल्य वृद्धिले मानिसहरूको क्रय शक्तिमा प्रभाव पारिरहँदा विश्वव्यापी रूपमा आर्थिक मन्दिको सम्भावना समेत देखिएकोले यसको प्रभाव पनि बजारमा देखिएको छ।

मैनबत्ति प्रवित्ति : नेप्सेको मैनबत्ति चित्रमा अन्तिम दिनमा बनेको कालो (रातो) मैनबत्ति आकृति निकै तलसम्म पुगेर बजार बन्द भएको छ। साताको दोस्रो दिन १८६८ सम्म पुगेर बजार फर्किएकोमा अन्तिम दिनसमेत त्यो बिन्दुसम्म नपुगी फर्किने प्रयासमा देखिएको छ। अझै पनि प्रवृत्ति भने स्पष्ट छैन। त्यसैले आइतबारको कारोबार हेरेर मात्रै लगानी निर्णय लिनु सही हुन्छ।

मुभिङ एभरेज प्रवित्ति : नेप्सेको रेखाचित्रमा बनाइएको ७ दिने मुभिङ एभरेज रेखाले २१ दिने रेखालाई काटेर तल लाग्न लागेको देखिन्छ। ७ दिने रेखाले २१ दिने रेखालाई काटेर माथि लाग्ने प्रयास गरेमा भने बुलिश (बढ्ने) प्रवृत्ति सुरू हुने मानिन्छ। भने, २१ दिने रेखाले ७ दिने रेखालाई काटेर माथि लागेमा वियरिश प्रवृत्तिमा बजार रहेको मानिन्छ।

१४ दिने आरएसआइ प्रवृत्ति
बजार अधिक बिक्रीका क्षेत्रमा आएको नेप्सेको १४ दिने आरएसआई सूचक विश्लेषणले देखाउँछ। गत बिहीबार यो २९.४८ बिन्दुमा छ।

आरएसआई सूचक ३० मुनि भएमा बजार अवमूल्यन भएको र अधिक बिक्री बढेको संकेत गर्छ। त्यस्तै, ७० माथि भए अधिकमूल्यन भइरहेको र खरिदारी उच्च दरमा बढेको संकेत गर्छ। ३० देखि ७० बीचमा रहे सन्तुलित अवस्थामा रहेको विश्लेषण गरिन्छ।

पिभट विश्लेषण
यस साता १९१८ मा उच्च बिन्दु बनाएको नेप्सेको पिभट विश्लेषण अनुसार बजारले आगामी साता १८६१ मा पहिलो टेवा पाउने सम्भावना छ। त्यहा पुगेर बढ्न थालेमा १९१० मा पहिलो लक्ष्य पाउने देखिन्छ।