काठमाडौं । जेम्स क्यामरुन निर्देशित हलिउडको साइन्स-फिक्सन फिल्म ‘अवतार : द वे अफ वाटर’ले नेपाली बक्स अफिसमा पहिलो साता आक्रामक कमाइ गरेको छ ।
नेपाल वितरक एप्पल इन्टरटेनमेन्टका अनुसार फिल्मले बिहीबार सात दिनसम्म चार करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको छ । शनिबारको बिदा र आइतबार पनि क्रिसमसको सार्वजनिक बिदा भएकाले फिल्मको कमाइ साढे पाँचदेखि ६ करोडसम्म हाराहारीमा हुने प्रक्षेपण गरिएको छ ।
शुक्रबार पनि फिल्मको अकुपेन्सी ७० प्रतिशतसम्म थियो । ‘अझै बिदाको दिन भएकाले फिल्मको कमाइ अझै माथि जान सक्ने हाम्रो अनुमान छ,’ एप्पलकी जेनिशा पहारीले अनलाइनखबरसँग भनिन् । शुक्रबार रिलिज भएको बलिउड फिल्म ‘सर्कस’को भन्दा पनि ‘अवतार २’को अकुपेन्सी निकै उच्च देखिएको छ । फिल्मले विश्वभरबाट ६०० मिलियन डलरको आँकडा पार गरेको छ ।
तछाड मछाड गर्ने निर्माताले यो साता नयाँ फिल्म ल्याउन सकेनन्
अक्सर नेपाली निर्माता आफ्नो फिल्म रिलिजका लागि तछाड मछाड गर्छन् । राम्रो डेट भयो भने उनीहरु एक अर्कोसँग भिड्न समेत तयार हुन्छन् । एकै मितिमा दुई वा सोभन्दा बढी फिल्म भिडाएका थुप्रै उदाहरण पनि छन् ।
यो साता भने एक पनि नयाँ नेपाली फिल्म हलमा रिलिज हुन सकेन । शुक्रबार नेपालमा बलिउड फिल्म ‘सर्कस’ रिलिज भएको छ। यस्तै अघिल्लो साता रिलिज भएको यस वर्षको प्रतीक्षित हलिउड फिल्म ‘अवतार स् द वे अफ वाटर’ को दबदबा यो साता पनि जारी देख्निछ ।
रिलिजका लागि नेपाली फिल्म नभएर वा बन्ने क्रम रोकिएर यसो भएको होइन । रिलिजका थुप्रै फिल्म तयार छन् । यो शुक्रबार किन रिलिज हुन सकेन नेपाली फिल्म भने हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’को दबदबा जारी रहँदा नयाँ नेपाली फिल्म आउन नसकेको एउटा कारण हो । फेरी अर्को साता भने नयाँ नेपाली फिल्म ‘डिसेम्बर फल्स’ आउन तयार छ ।
यता बलिउड फिल्म ‘सर्कस’ शुक्रबारदेखि नेपालमा प्रदर्शनमा आउदाँ राम्रो सो पाउन सफल भएको छ । कमेडी र ड्रामा जनरामा राखिएको फिल्मलाई रोहित सेट्टीले निर्देशन गरेका हुन् । फिल्ममा रणवीर सिंह, पूजा हेग्डे, ज्याकलिन फर्नान्डिज, जोनी लिभर, वरुण शर्मा र सञ्जय मिश्राको अभिनय छ । फिल्ममा अजय देवगण र दीपिका पादुकोणको अतिथि भूमिका छ ।