ब्लकबस्टर फिल्म ‘कबड्डी’मा ‘मैयाँ’को भूमिका निर्वाह गरेपछि चर्चामा आएकी अभिनेत्री रिश्मा गुरुङले २०७६ साल फागुन ४ गते प्रेमी सन्दिप गुरुङसँग लगनगाँठो कसेकी थिइन् । अमेरिकाको एयर फोर्स आर्मी रहेका श्रीमानसँग रिश्मा विवाह लगत्तै अमेरिका जाने योजनामा थिइन् । तर, कोरोना महामारीका कारण भिसा प्रक्रियामा ढिलाई भएपछि उनी अमेरिका उड्न पाएकी थिइनन् ।
अन्ततः रिश्मा शुक्रवार श्रीमानको साथमा अमेरिका प्रस्थान गर्दैछिन् । उनले गुरुङ भाषीको मौलिक पहिरनमा श्रीमानसँग खिचेका दुई तस्विर फेसबुकमा पोस्ट गर्दै लेखेकी छन्, ‘लाहुरै चलियो लाहुरेसँग । फेरी भेटौला । बाई बाई नेपाल ।’ उनको अमेरिका बसाई कति लामो हुन्छ र अब नेपाल फर्केर फेरि अभिनयमा सक्रिय हुन्छिन् वा हुँदिनन् भन्ने चासो उनका प्रशंसकहरुमा उब्जिएको छ ।
रिश्मा पछिल्लो पटक फिल्म ‘कबड्डी ३’मा देखिएकी थिइन् भने लकडाउनको समयमा फिल्म ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’मा अभिनय गरेकी थिइन् । ‘कबड्डी ३’मा केमियो भूमिकामा देखिएकी उनले ‘कबड्डी ४’मा आफूलाई नलिएपछि चित्त दुखाएकी थिइन् । ‘कबड्डी ४’मा मुख्य भूमिका रहने सहमतिमा नै आफूले ‘कबड्डी ३’मा सानै भूमिका भए पनि काम गरेको रिश्माको भनाई थियो ।
‘कबड्डी २’पछि रिश्मा लामो समय फिल्मबाट टाढा बसेकी थिइन् । यसबारेमा उनले केही समय अगाडि एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘पहिलो कारण त मास्टर्स पूरा गर्न फिल्मबाट टाढा बसेँ । अनि, ‘मैयाँ’ खालकै क्यारेक्टरहरु बढी आए । पहिला फिल्म पाए गर्छु भन्ने लाग्दो रहेछ । तर, पछि अलग-अलग क्यारेक्टर गर्ने लोभ पलाउँदो रहेछ । त्यसैले गर्दा फिल्म अफर हुँदा पनि गरिनँ ।’