‘हरि हारा वीरा मल्लू’ साउथको बहुप्रतीक्षित फिल्ममध्ये एक हो । फिल्ममा पवन कल्याण र निधि अग्रवाल मुख्य भूमिकामा छन् । कृष जगरलामुदी निर्देशक रहेको यो पेन इन्डिया फिल्ममा बलिउड सुपरस्टार बबी देओलको पनि प्रवेश भएको छ । फिल्ममा उनी मुगल सम्राट औरङ्गजेब (आलमगीर) को भूमिकामा देखिने छन् । यतिबेला उनी हैदराबादमा फिल्मको छायांकन गरिरहेका छन् ।
रामोजी फिल्म सिटीमा थोटा थारानीले डिजाइन गरेको १७औं शताब्दीको एक विशाल दरबारमा पवन कल्याण र बबी देओलको एक महत्त्वपूर्ण सिन छायांकन हुनेछ । साउथ फिल्ममा डेब्यूलाई लिएर उत्साहित रहेका बबीले भनेका छन्, ‘मलाई पहिल्यैदेखि साउथ फिल्ममा काम गर्न मन थियो । त्यसका लागि राम्रो मौका पर्खिरहेको थिएँ । राम्रो भूमिका र टिम पाएकाले यसमा जोडिएँ ।’
एएम रत्नम र दयाकर राव निर्माता रहेको फिल्ममा वीएस ज्ञानशेखरको छायांकन, एमएम कीरावनीको संगीत छ । तेलुगु, कन्नड, तमिल, मलयालम र हिन्दी गरी पाँच भाषामा एकसाथ प्रदर्शन हुने फिल्मको हालै रामोजी फिल्म सिटीमा ४० दिनको लामो सेड्युल पूरा भइसकेको छ । फिल्मको टिमले यसलाई ग्रान्ड यूनिभर्सको तयारीका लागि हरेक सानोभन्दा सानो चिजमा ध्यान दिएको छ ।