अन्ततः अभिनेता विपिन कार्की छाडे बलिउड फिल्म ‘एनिमल’

अन्ततः अभिनेता विपिन कार्की छाडे बलिउड फिल्म ‘एनिमल’

काठमाडौं । अन्ततः अभिनेता विपिन कार्की बलिउड फिल्म ‘एनिमल’को हिस्सा नहुने भएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले सेड्युल जुधेको कारण फिल्ममा काम गर्न असमर्थ भएको बताएका हुन् ।

अहिले कास्कीमा छायांकन भइरहेको ‘प्रसाद २’को कारण मुम्बई जान नसक्ने जानकारी निर्देशक सन्दीप रेड्डी भांगालाई गराएको विपिनले बताए ।‘उहाँहरुले ६ दिनभित्रै बोलाउनुभएको थियो । सुटिङ भइरहेको प्रसाद २ छाड्न नसकिने स्थिति भयो । किनभने प्रसाद २ को लागि अझै १४ दिन जति लाग्छ,’ विपिनले भने ।

‘मैले नेपालमा धमाधम सुटिङ भइरहेको जानकारी गराएँ । सहमतिमै फिल्म नगर्ने निधो गरेका हौं । बरु उहाँको अर्को फिल्ममा भविष्यमा काम गर्न सकिने कुरा भएको छ,’ विपिनले भने, ‘काम गर्न सके प्रभाव पार्न सकिन्छ भन्ने लाग्यो । यसपटकलाई यस्तै भयो । अर्कोचोटि सहकार्य गर्न सकिन्छ भन्ने कुरा भएको छ ।’

Europass CV in Nepal

गत महिना पनि एनिमलको सुटिङका लागि मुम्बई पुगेका विपिन सुटिङ नगरिकनै नेपाल फर्किएका थिए । त्यसअघि यही फिल्मको लागि भनेर आफूले चार–पाँच पटक काठमाडौं–मुम्बई आउजाउ गर्नुपरेको हैरानीले उनले सुनाएका थिए ।

एनिमललाई सन् २०१९ मा रिलिज भएको कबीर सिंह फेम्ड निर्देशक सन्दीप रेड्डी भांगाले निर्देशन गरिरहेका छन् । रणवीर कपुर, अनिल कपुर, रश्मिका मन्दाना र बबी देओल फिल्ममा छन् । विपिनले देओलका भाइको भूमिकामा अभिनय गर्ने बताइएको थियो ।

क्राइम थ्रिलर फिल्म एनिमलले आइतबार फस्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ । एनिमल आगामी ११ अगस्ट २०२३ मा प्रदर्शन हुँदैछ । कामको कुरा गर्दा विपिन कार्कीले ‘प्रसाद २’पछि फिल्म पशुपतिप्रसादको स्पिन–अप फिल्म ‘भष्मे डन’मा काम गर्दैछन् । त्यसपछि ‘हरि’ फेम्ड निर्देशकद्वय सफल केसी र प्रतीक गुरुङको फिल्म ‘चलचित्र’मा अभिनय गर्ने उनको तयारी छ ।

 

Europass CV in Nepal