विपिन कार्की बलिउडको चक्करमा लाग्दा धेरै नेपाली फिल्म उम्काए, अन्तिममा हात लाग्यो शून्य

विपिन कार्की बलिउडको चक्करमा लाग्दा धेरै नेपाली फिल्म उम्काए, अन्तिममा हात लाग्यो शून्य

संसारकै दोस्रो ठूलो फिल्म उद्योग बलिउड छिर्न नेपालका स्थापित कलाकारहरु नै कतिसम्म मरिहत्ते गर्छन्, यो बुझ्न विपिन कार्की उपयुक्त पात्र हुनसक्छन् । नेपाली फिल्ममै निकै लोभलाग्दो करिअर बनाएका उनी लकडाउनको समयदेखि बलिउड प्रवेशका लागि कसिएका थिए । विपिनले ‘कबीर सिंह’ फेम्ड निर्देशक सन्दिप रेड्डी वंगाको फिल्म ‘एनिमल’मा काम गर्ने सम्झौता पनि गरे ।

यो फिल्ममा काम गर्नका लागि उनले लगभग एउटा नेपाली फिल्मबाट बुझ्ने पारिश्रमिक हवाई टिकट र मुम्बईको होटलमा खर्च गरेका छन् । उनले गएको दुई वर्षमा नेपाल र मुम्बई ५/६ पटक नै ओहोर–दोहोर गरे । मुम्बईबाट फोन आउनसाथ झोलीझाम्टा बोकेर मुम्बई पुग्थे । तर, उनको भागको छायांकन कहिल्यै भएन । दुई/चार दिन माया नगरीमा डुल्थे अनि निराश भएर फर्किन्थे ।

बलिउड फिल्मको चक्करमा उनले हातमा आएका धेरै नेपाली फिल्म उम्काए । पाइपलाइनमा फिल्मको चाङ भयो । अझै बलिउड प्रेम पालिराखे नेपाली फिल्ममै करिअर संकटमा पर्न सक्ने बुझेपछि उनी फिल्म ‘प्रसाद २’को छायांकनमा व्यस्त भए । अब समय मिले मात्र ‘एनिमल’मा काम गर्ने उनको योजना थियो । अन्ततः उनले व्यस्तताका कारण बलिउड फिल्मबाट हात झिकेका छन् ।

Europass CV in Nepal

‘प्रसाद २’को छायांकन भइरहँदा उनलाई मुम्बईबाट बोलावट आएको थियो । तर, ‘प्रसाद २’को छायांकन छाड्न नमिल्ने भएपछि उनले बलिउड फिल्म माया मारेका हुन् । रणवीर कपूर, अनिल कपूर, रश्मिका मन्दना जस्ता नामी कलाकारको अभिनय रहेको फिल्मबाट डेब्यू गर्दा बलिउडले आफूलाई स्वीकार गर्ने उनको विश्वास थियो । तर, दुई वर्षको दौडधुप उनको बेकार बनेको छ ।

यतिबेला नेपाली फिल्ममै विपिनलाई भ्याइनभ्याइ छ । ‘प्रसाद २’पछि सम्भवतः उनी फिल्म ‘भष्मे डन’को छायांकनमा व्यस्त हुनेछन् । ‘डामाडोल’, ‘चंगा चेट २’, ‘महाजात्रा’, ‘विवेक’ जस्ता फिल्म पनि उनको पाइपलाइनमा छन् । अभिनयमा अब्बल मानिने उनी अहिलेका महंगा अभिनेतामध्ये एक मानिन्छन् । उनले ‘छड्के २’का लागि ४० लाख बढी पारिश्रमिक मागेको चर्चा चलेको थियो ।

 

Europass CV in Nepal