जम्मा ३० लाख कमाएर ६ दिनमै हलबाट उत्रियो अनमोल केसीको छड्के

जम्मा ३० लाख कमाएर ६ दिनमै हलबाट उत्रियो अनमोल केसीको छड्के

काठमाडौं । अनमोल केसीको शीर्ष भूमिका रहेको ग्याङस्टर ड्रामा ‘छड्के २’ प्रदर्शनको ६ दिनमै क्यूएफएक्ससहितका मल्टिप्लेक्सबाट हटेको छ । वितरक सुनिल मानन्धरले दर्शक नै नआएपछि हलबाट फिल्म हटाइएको जानकारी आफूले पाएको अनलाइनखबरलाई बताए ।

वान सिनेमाज्, बिग मुभिज, आईएनआई लगायत मल्टिप्लेक्सले एक-एक शो उपलब्ध गराएपनि औंलामा गन्न सकिने संख्यामा मात्र दर्शकको उपस्थिति देखियो । ‘अनमोलको करिअरमै एक साता नहुँदै फिल्म हलबाट उत्रिएको यो पहिलो हो,’ मानन्धरले भने, ‘यसले ठूलो व्यावसायिक धक्का लागेको छ । हामीले यस्तो आशा राखेका थिएनौं ।’

वितरक मानन्धरका अनुसार फिल्मको पाँचदिने कमाइ ३० लाखभन्दा कम छ । तीन करोड रुपैयाँ बजेटमा निर्माण भएको फिल्ममा आफूले डेढ करोड लगानी गरेको र त्यो डुबेको उनले बताए । ‘मैले अनमोल केसी हेरेरै त्यो लगानी गरेको थिएँ । कथा र निर्देशक नहेरिकनै पैसा खन्याएको हुँ,’ उनले भने ।

Europass CV in Nepal

नायक र स्टारडम हेरेर पैसा लगानी गर्नेहरुलाई ‘छड्के २’को असफलताले सतर्क बनाएको उनले बताए । ‘अब कथावस्तु हेरेरै लगानी गर्ने ट्रेन्ड आउनेछ र मैले पनि त्यस्तै गर्छु । मैले अहिलेसम्म २०० भन्दा बढी फिल्म वितरण गरें तर एक करोडभन्दा बढी डुबेको यो पहिलोपटक हो,’ मानन्धरले भने ।

निगम श्रेष्ठ निर्देशित फिल्मले निकै कमजोर समीक्षा प्राप्त गरेको छ । ओपनिङमै फिल्मको अकुपेन्सी पाँच प्रतिशत हाराहारीमा मात्रै थियो । फिल्मलाई प्रशान्त गिरी र देवकुमार श्रेष्ठले निर्माण गरेका हुन् भने अनमोलले यो फिल्मबाट ५० लाख रुपैयाँ पारिश्रमिक लिएको जनाइएको थियो ।

 

Europass CV in Nepal