प्रख्यात अभिनेता तथा निर्देशक सतीश कौशिकको निधनले बलिउड इन्डस्ट्री स्तब्ध बनेको छ । ६६ वर्षको उमेरमा उनले बिहीबार अन्तिम सास लिए । उनको निधन आर्ट अट्याकका कारण भएको बताइएको छ । आफ्नो जीवनकालमा कयौं यादगार र सानदार फिल्ममा अभिनय गरेका सतीशको कमेडी टाइमिङ जबर्जस्त मानिन्थ्यो । उनी अभिनयसँगै निर्देशनमा पनि उतिक्कै अब्बल थिए ।
सतीशले ‘रूप की रानी, चोरों का राजा’ फिल्मबाट निर्देशकमा डेब्यू गरेका थिए । यो त्यसबेलाको बलिउडकै महंगो फिल्म थियो । उनले ‘तेरे नाम’, ‘कागज’, ‘हम आपके दिल में रहते हैं’, ‘हमारा दिल आपके पास है’, ‘मुझे कुछ कहना है’ जस्ता फिल्मको पनि निर्देशन गरिसकेका छन् । उनको अन्तिम निर्देशकिय फिल्म ‘कागज २’ हो, जसको छायांकन सकिएर अब प्रदर्शन हुन बाँकी छ ।
उनले निर्देशन गरेकामध्ये ‘तेरे नाम’ उत्कृष्ट फिल्ममध्येमा गनिन्छ । यो फिल्म अभिनेता सलमान खानको करिअरको टर्निङ पोइन्ट बनेको थियो । यद्यपि, फिल्म ब्लकबस्टर भने भएको थिएन । तर, फिल्ममा सलमानको अभिनय सशक्त थियो । यसका गीतसंगीत अझै पनि चर्चित छन् । उनी यो फिल्मको दोस्रो पार्ट समेत बनाउन चाहन्थे । त्यसका लागि उनीसँग एउटा कथा पनि तयार थियो ।
सतीश कौशिकले तीन वर्षअघि एक अन्तर्वार्तामा भनेका थिए, ‘मसँग ‘तेरे नाम २’का लागि एउटा कहानी छ । तर, यो विषयमा मेरो सलमान खानसँग कुनै कुराकानी भएको छैन । र, मलाई यो पनि थाहा छैन कि फिल्म बन्छ या बन्दैन । यदि बन्यो भने म एकदमै खुसी हुनेछु । ‘तेरे नाम २’ गर्नुपर्छ भन्ने कुरा खासमा सलमानको दिमागमा नै आउनु पर्छ । किनकि, ऊ अहिलेको ठूलो स्टार हो ।’
कुनै चिज हुनु छ भने भएरै छाड्ने बताउँदै उनले ‘तेरे नाम’ पनि आफ्नो पोल्टामा अचानक परेको स्मरण गरेका थिए । ‘यो फिल्म सुरुमा अर्कैले गर्ने कन्फर्म थियो । तर, बन्न सकेको थिएन । त्यो सब्जेक्टमा कसैले विश्वास नै गरेका थिएनन् । मैले त्यसको रिमेक हेरिसकेकाले मलाई मन परेको थियो र मैले निर्देशन गरेँ । त्यसरी नै ‘तेरे नाम २’ पनि अचानक बन्न सक्छ,’ सतीशले भनेका थिए ।