स्क्रिप्ट नै छेउटुप्पो मिलेको छैन भने स्टारले अभिनय गरेर मात्र हुँदैन : विपिन कार्की

स्क्रिप्ट नै छेउटुप्पो मिलेको छैन भने स्टारले अभिनय गरेर मात्र हुँदैन : विपिन कार्की

काठमाडौं । आशा राखिएका फिल्म नै बक्स अफिसमा असफल हुँदा यसले तरंग मात्र सिर्जना गरेको छैन, फिल्मवृत्तमा बहस जन्माएको छ । रिलिजपूर्व निकै हल्ला गरिएको अनमोल केसी स्टारर ‘छड्के २’ बक्स अफिसमा पूर्णतः असफल रह्यो । निर्माता र वितरक स्वयंले नै अहिलेसम्म फिल्म नहेरेको बताइरहेका छन् ।

यस्तोमा अनलाइनखबरले केही दिनअघि ‘स्क्रिप्ट नै स्टार’ शीर्षकमा समाचार सामग्री प्रकाशित गरेको थियो । यो बहसमा अभिनेता विपिन कार्कीले टिप्पणी गर्दै स्टारडमभन्दा स्क्रिप्ट नै बलियो हुनुपर्ने धारणा व्यक्त गरेका छन् । स्क्रिप्ट नै कमजोर छ भने अभिनयले मात्र केही नहुने उनको तर्क छ ।

पछिल्लो समय फिल्म अभिनयमा चर्चा बटुलेका विपिन भन्छन्, ‘स्क्रिप्ट नै बलियो हुनुपर्छ भन्ने लाग्छ । स्क्रिप्ट नै छेउटुप्पा मिलेको छैन भने एक्टरले जतिसुकै राम्रो काम गर्दा पनि त्यो भन्दा माथि जाँदैछ । टिम बुझेर मात्र स्क्रिप्ट छनोट गर्नुपर्छ । मिलेको स्क्रिप्ट चाहिने रहेछ ।’

Europass CV in Nepal

फिल्म निर्माणपूर्व ‘छड्के २’ निर्माताले विपिनलाई पनि फिल्मको अफर गरेका थिए तर उनले अस्वीकार गरिदिए । उनले त्यतिबेला फिल्म किन खेलेनन् भन्ने कुरा त खुलाएनन् । उनलाई फिल्म प्रस्ताव गरिएको तर अस्वीकार गरेको निर्माताले बताइसकेका छन् ।

निर्देशकहरु अघि भन्छन् एउटा र गर्छन् अर्को । रिलिजपूर्व दमदार स्क्रिप्ट भन्ने निर्माता, निर्देशक र कलाकारको बोलीमा रिलिजपछि तादम्यता नमिल्ने विपिनको तर्क छ । ‘बोली र गराइमा भिन्न हुने देखेको छु । सबै मेकरले आफ्नो टिम बनाएको हुन्छ । त्यहाँ कसले कस्तो काम गर्छ, त्यो पहिल्यै थाहा हुन्छ,’ विपिन भन्छन्, ‘राम्रो मात्र भनोस् भन्ने आशा सबैको हुन्छ । नराम्रो कुरा पनि भन्नुपर्छ । आफूले आफ्नो कामको नराम्रो कुरा पनि गर्नुपर्छ । सबैतिरबाट सोच्नुपर्छ ।’

उनले कलाकारले पनि दर्शक भएर स्क्रिप्ट पढ्नुपर्ने सुझाव दिए । ‘दर्शक भएर स्क्रिप्ट पढ्नुपर्छ । पढ्दा मन छोयो कि छोएन ? मज्जा आयो कि आएन भन्ने कुरा बुझ्नुपर्छ,’ उनले भने ।

कामको कुरा गर्दाको विपिन अभिनित ‘फूलबारी’ एक महिनाभन्दा बढी समयदेखि हलमा चलिरहेको छ भने ‘प्रसाद २’ चैत २४ गतेको रिलिज तयारीमा छ । चैत ४ गतेदेखि उनको शीर्ष भूमिका रहेको फिल्म ‘भष्मे डन’को छायांकन सुरु हुँदैछ भने वैशाखदेखि ‘चलचित्र’ छायांकन हुनेछ । लगत्तै उनले आराम गर्न भन्दै पाँच महिना फिल्मबाट टाढा हुने बताइसकेका छन् ।

Europass CV in Nepal