स्टेजमा प्रस्तुति दिने क्रममा बलिउडका चर्चित गायक केकेको निधन

स्टेजमा प्रस्तुति दिने क्रममा बलिउडका चर्चित गायक केकेको निधन

काठमाडौँ  । बलिउडका चर्चित गायक कृष्णकुमार कुन्नथको मंगलबार राति कोलकातामा निधन भएको छ । उनी ५३ वर्षका थिए । स्टेजमा ‘केके’ का नामले परिचित उनी मंगलबार कोलकाताको एउटा कलेजको कार्यक्रममा प्रस्तुति दिने क्रममा नै बिरामी भएका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार कन्सर्टलगत्तै उनी होटेल फर्किएका थिए । होटेलमा उनी ढलेको र लगत्तै अस्पताल लगिए पनि चिकित्सकले मृत घोषित गरेको बीबीसी हिन्दीले जनाएको छ ।

अस्पताल पुगेका पश्चिम बंगाल सरकारका ऊर्जामन्त्री अरुप विश्वासका अनुसार चिकित्सकहरूले केकेको निधन हृदयघातबाट भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन् ।

Europass CV in Nepal

तमिल, तेलुगु, कन्नड, मराठी, बांग्ला र गुजराती चलचित्रमा थुप्रै गीत गाएका केके कोलकातास्थित गुरुदास कलेजको कार्यक्रममा भाग लिन आएका थिए । निधनभन्दा अगाडि उनको इन्स्टाग्राम पेजमा कोलकाता अडिटोरियममा आयोजित कन्सर्टका भिडियो र तस्बिर पोस्ट भएका छन् ।

सन् १९९६ बाट गायनमा करिअर सुरु गरेका उनको पहिलो एल्बम ‘पल’ सन् १९९९ मा सार्वजनिक भएको थियो । चलचित्रमा भने सलमान खान, ऐश्वर्या राय र अजय देवगन अभिनित ‘हम दिल दे चुके सनम’ बाट गायन यात्रा सुरु गरेका थिए । ‘तडप तडप’ बाट आफूलाई अब्बल गायका रूपमा सावित गरेका केकेले त्यसपछि भने पछाडि फर्केर हेर्नु परेन ।

केकेको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन् । मोदीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘… केकेको आकस्मिक निधनले दु:खी छु । उनका गीतमा अलग-अलग भावना देखिन्थे। उनका गीतले हरेक उमेरका मानिसका मन छुन्थे । उनलाई उनकै गीतमार्फत सम्झिइनेछ । परिवार र प्रशंसकप्रति म समवेदना प्रकट गर्दछु ।’ त्यस्तै बलिउडका अन्य कलाकारले समेत उनको निधनका दु:ख व्यक्त गरेका छन् । केकेका श्रीमती, एक छोरा र एक छोरी छन् । छोरा नकुल र छोरी तमारा पनि सांगीतिक क्षेत्रमै सक्रिय छन् ।

 

Europass CV in Nepal