बिहान १० देखि साँझ ५ बजेसम्म लाइसेन्सको आवेदन भर्न नपाइने

बिहान १० देखि साँझ ५ बजेसम्म लाइसेन्सको आवेदन भर्न नपाइने

काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लागि फारम भर्न अनलाइन प्रणालीमा अधिक चाप परेको भन्दै यातायात व्यवस्था विभागले एक हप्ताका लागि कार्यालय समयमा आवेदन लिन बन्द गरेको छ ।

विभागले एक हप्ताका लागि १० बजेदेखि साँझ ५ बजेसम्म आवेदन लिन बन्द भएको जनाएको छ । अधिक चापले गर्दा यातायात व्यवस्था कार्यालयहरुबाट हुने दैनिक सवारी चालक अनुमतिपत्र सम्बन्धी कार्यमा असर परेको विभागको भनाइ छ ।

विभागले सोमबार एक सूचना निकालेर कार्यालय समयमा अनलाइन आवेदन बन्द गरिएको जनाएको हो । प्रणालीको लोड (चाप) व्यवस्थापन कार्य सम्पन्न भएपछि मात्र अनलाइन आवेदन प्रणाली सञ्चालन हुने जनाएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार लोड बढी भएर नै अनलाइन आवेदन बन्द गरिएको हो ।

‘लोड बढी भएर लाइसेन्स नवीकरण गर्ने, नयाँ लिने लगायतको कामका सिस्टम हयाङ भयो । लोड ब्यालेन्स गर्न दुई चार दिन लाग्ने छ,’ महानिर्देशक घिमिरेले भने, ‘त्यो अवधिमा सिस्टम सटडाउन गर्नु पनि भएन ।’

कार्यालय समयमा मात्र आवेदन लिने कार्य बन्द गरिए पनि राति र बिहान अनलाइन आवेदन दिन पाइने उनले स्पष्ट पारे । विभागले गत कातिक ८ गते नयाँ लाइसेन्सका लागि आवेदन खुल्ला गरेको थियो । नयाँ लाइसेन्सका लागि अहिलेसम्म करिब चार लाखले आवेदन दिएको विभागले जनाएको छ । आवेदन दिएकाले पनि लिखित र ट्रायल परीक्षाका लागि ६–७ महिना कुर्नुपर्ने अवस्था छ ।