विपिन कार्कीले बढाए पारिश्रमिक, व्यावसायिक फिल्ममा ५० लाख लिने

विपिन कार्कीले बढाए पारिश्रमिक, व्यावसायिक फिल्ममा ५० लाख लिने

काठमाडौं । अभिनेता विपिन कार्कीले पारिश्रमिकमा वृद्धि गर्ने निर्णय गरेका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले केही सर्तसहित यस्तो निधो गरेको जानकारी दिए ।

फिल्मको समूह, उद्देश्य, लगानीको आकार र निर्माताको फिल्मसम्बन्धी चेतनाको स्तरलाई उनले सर्त मानेका छन् । सबै सर्त पूरा भए उनले न्यून पारिश्रमिकमा काम गर्ने, तर पैसा कमाउने उद्देश्य छ र लगानीको आकार उच्च छ भने सोहीअनुसार पारिश्रमिक लिने उनको तयारी छ ।

केही फिल्मको लागि आफूले सोही सापेक्षताअनुसार ५० लाख रुपैयाँ पारिश्रमिक मागेको जानकारी पनि दिए ।

Europass CV in Nepal

उनले भने, ‘स्क्रिप्ट हेरेर मात्र पारिश्रमिकबारे निधो गर्छु । भूमिका चित्त पनि बुझ्नुपर्‍यो । मलाई कसैले एक करोड दिन्छु भनेको भरमा म फिल्म गर्दिन । टिम, समय र उहाँहरुको चेतनाको स्तर हेरेर निर्णय गर्छु ।’

आर्थिक लाभ लिने वा नलिने एउटा सर्तलाई उनले महत्वपूर्ण आधार तुल्याएका छन् । सोहीअनुसार उनले हालै फिडेल देवकोटा निर्देशित फिल्म ‘रेड सुटकेस’मा निःशुल्क अभिनय गरे । यो फिल्मलाई फेस्टिभल लक्षित मानिएको छ ।

वैशाखसम्मै व्यस्त, चार फिल्मको तालिका

विपिनले आफू वैशाखसम्मै व्यस्त भएको जानकारी दिए । आफूलाई फिल्मको प्रशस्तै अफर आएको उनले बताए ।

पछिल्लो फिल्म ‘प्रसाद २’को पत्रकार सम्मेलनमा विपिनले आफू वैशाखसम्मै व्यस्त हुने भएकाले फिल्मको अफर नगर्न आग्रह गरेका थिए । विपिन वैशाखसम्म चारवटा फिल्ममा व्यस्त छन् ।

वैशाखपछि पनि उनका दुई फिल्म सेड्युलमा छन् । ‘प्रसाद २’पछि उनी बलिउड फिल्म एनिमलमा व्यस्त हुनेछन् । ‘एनिमल’को लुक्स परीक्षणको लागि उनी चार दिनको लागि यसै साता मुम्बई जाँदैछन् । त्यसपछि रामबाबु गुरुङको अनटाइटल र अर्को फिल्म लूमा उनी व्यस्त हुनेछन् ।

त्यसपछि उनी सफल केसी र प्रतीक गुरुङको फिल्ममा व्यस्त हुनेछन् । यसपछि उनी जी-ट्वान्टी वान प्रोडक्सनको नयाँ फिल्म ‘डामाडोल’मा काम गर्नेछन् । तर ‘पशुपतिप्रसाद २’ बारे कुनै निर्णय नभएकाले यसबारे आएका समाचारप्रति उनले दुःख व्यक्त गरे ।

 

Europass CV in Nepal