मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 16 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
रोचक

अध्यन भन्छ, गर्भवती आमाले गाजर खाए पेट भित्रको बच्चा ई मुस्कुराउँछ

Himali Patrika 1 मिनेट पढाइ

खोज अनुसन्धान धेरै र फरक फरक विषयमा हुन्छन्। जुन खोजबाट प्राप्त नतिजाले हामीलाई कुनैबेला उत्साहित बनाउँछ त कुनै बेला रमाइलो लाग्छ।हामीलाई कौतुहलता लागेका विषय पनि खोज तथा अनुसन्धानबाट पत्ता लाग्ने गर्छ। यस्तै एक रोचक तथ्य एक अनुसन्धानले ल्याएको छ। नयाँ आमा बन्नेहरूको लागि सबैभन्दा धेरै चासोको विषय हुन्छ पेटको बच्चाले के गरिरहेको छ? पेटमा चलेको महसुस हुँदा खुसी हुने आमालाई बच्चाको अरु गतिविधि पनि के कस्तो भनेर खोजी हुने हुन्छ।

आफ्नो सन्तानको वृद्धिविकासका विषयलाई लिएर अभिभावकले धेरै चासोका साथ खोज्ने पनि गरेका छन् । यही विषयसँग मिल्दो खोजको नतिजा यूकेको डरम यूनिभर्सिटीस्थित द नियोनेटल रिसर्च ल्याबले निकालेको छ । जहाँ भ्रूणले विभिन्न स्वादमा प्रतिक्रिया व्यक्त गरेको प्रत्यक्ष प्रमाण पहिलो पटक अभिलेखीकरण गरिएको जनाएको छ।

बीबीसीका अनुसार अनुसन्धानकर्ताले बेलायतमा एक सय जना गर्भवती महिला र तिनको गर्भका बच्चामा अध्ययन गरेका थिए।अनुसन्धानकर्ताले आमालाई विभिन्न खानेकुरा चक्कीमार्फत खुवाएका थिए। आमाले चक्कीमार्फत् खानेकुरा खाएको २० मिनेटपछि गर्भका बच्चाले प्रतिक्रिया जनाएका थिए।

यसरी गरिएको अनुसन्धानमा आमाले गाजर खाँदा गर्भको बच्चा प्रसन्न भएको पाइएको छ। केलको साग खाँदा भने ठुस्स परेको पाइएको छ। ३५ जना गर्भवतीलाई गाजरको धुलोको चक्की र ३४ जनालाई केलको धुलोको चक्की खुवाइएको थियो। बाँकीलाई केही नखुवाइ अनुसन्धान गरिएको थियो।

अनुसन्धानमा संलग्न टोलीले ‘साइकोलजिकल साइन्स’ जर्नलमा प्रकाशित विवरणअनुसार गर्भवती महिलाले ती चक्की खाएको २० मिनेटपछि पेटमा हुर्किँदै गरेका बच्चाहरूले प्रतिक्रिया व्यक्त गरेका थिए।फोरडी अल्ट्रासाउन्ड स्क्यानिङमा केलको चक्की खाएका आमाको पेटमा रहेका बच्चाले मुख बिगारेका थिए भने गाजरको चक्की खाएका आमाका बच्चाहरू मुस्कुराएका थिए।

खानेकुरा नदिएका बाँकी आमाको गर्भमा रहेका भ्रूणले भने कुनै प्रतिक्रिया नै जनाएका थिएनन्। डरम यूनिभर्सिटीका अनुसार यो अध्ययनबाट गर्भमा रहेका बच्चाले विभिन्न स्वादमा प्रत्यक्ष प्रतिक्रिया जनाएको पहिलो पटक पत्ता लागेको हो।

‘आमाले खाने खानाबाट भ्रूणले कस्तो पोषण पाउँछ र बच्चाको स्वास्थ्य विकासका लागि यो निकै आवश्यक छ भन्ने कुरा हामीले यसअघिका अनुसन्धानहरूबाट थाहा पाएका थियौँ। तर त्यो कति समयपछि सुरु हुन्छ भन्ने हामीलाई थाहा थिएन,’ अनुसन्धानमा सहभागी डरम यूनिभर्सिटीको द नियोनेटल रिसर्च ल्याबकी प्रमुख नादिया राइस्लान्डले भनिन्। गर्भको शिशुले १४ हप्तापछि गुलियोको स्वाद थाहा पाउनले उनले बताइन्।

अध्ययनमा सहभागीको भ्रूणको विभिन्न चरणमा अनुसन्धान जारी रहेको बताउँदै राइस्लान्डले बच्चा जन्मिएपछि पनि अनुसन्धान जारी राख्ने बताइन्। राइस्लान्डका अनुसार यसले स्वादको विकास धेरै अगाडि नै हुन्छ तथा यो हाम्रो ‘खाद्य वातावरण’को संस्कारको विकासमा भर पर्छ भन्ने सङ्केत गर्छ।

गर्भस्थ भ्रूणले तीतो स्वाद मन नपराउने गरेको पाइएको उनले बताइन्। अमेरिकास्थित नोर्थवेस्टर्न यूनिभर्सिटी फाइनबर्ग स्कूल अफ मेडिसिनमा नवजात शिशुसँग सम्बन्धित विषयको प्राध्यापन गर्ने डा. ड्यान्यल रोबिन्सनले एनबीसी समाचारसंस्थासँग कुरा गर्दै अल्ट्रासाउन्ड तस्बिरहरूलाई बच्चाले प्रसन्नता वा अरुचि व्यक्त गरेको अर्थमा बुझ्न नहुने बताएका छन्। उनी यो अध्ययनमा सहभागी थिएनन्।

फिलाडेल्फियास्थित मोनेल केमिकल सेन्सेस सेन्टरकी जुली मेनेला यो विषयकी विज्ञ हुन्। गार्डियनसँगको कुराकानीमा उनले यो अध्ययनले भ्रूण बस्ने ठाउँमा हुने तरल पदार्थको माध्यमबाट बच्चाहरूले आमाले खाने खानाबारे थाहा पाउँछन् भन्ने यसअघि पत्ता लागेको तथ्यलाई यो अनुसन्धानले थप पुष्टि गरेको बताएकी छन्। यद्यपि उनी यो अध्ययनमा सहभागी थिइनन्।

गार्डियनका अनुसार भर्जिनियास्थित कलेज अफ विलियम एन्ड मेरीकी प्राध्यापक क्याथरीन फोर्स्टेलले पनि यो अध्ययनले आमाले खाने कुरामा भ्रूणले दिने प्रतिक्रियाबारे भविष्यमा हुने अध्ययनहरूलाई पनि सहयोग पुग्ने बताएकी छन्।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।