मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 16 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
रोचक

संसारको सबैभन्दा होचा जीवित व्यक्ति इरानी अफसिन गदरजादे, कति छ उनको उचाइ ?

Himali Patrika 1 मिनेट पढाइ

संसारको सबैभन्दा होचा जीवित व्यक्ति बनेका छन् इरानका अफसिन इस्माइल गदरजादे बनेका छन्। उनको उचाइ ६५.२४ सेन्टिमिटर छ।गिनिज वर्ल्ड रेकर्डले प्रमाणीकरण गरेकामध्ये अफसिन चौथो सबैभन्दा होचा व्यक्ति हुन्।

२० वर्षका अफसिन इरानको पश्चिम अजरबैजान प्रान्तस्थित बुकान काउन्टीका हुन्। उनी कुर्दिस र फारसी दुवै भाषा जान्दछन्। उनको जन्म १३ जुलाई २००२ मा भएको गिनिज बुक अफ वल्र्ड रेकर्डको वेवसाइटमा उल्लेख गरिएको छ।

जन्मिदा उनको तौल ७ सय ग्राम मात्र थियो। अहिले उनको तौल ६.५ किलो मात्र छ। होचो भएकै कारण उनी स्कुल जान सकेनन्। तर, भर्खरै उनले आफ्नो नाम लेख्न भने सिकेका छन्। जसका कारण उनी निकै खुसी छन्।

‘निरन्तरको उपचार र शारीरिक कमजोरीका कारण उसले पढ्न छाड्यो, नत्र उसलाई मानसिक समस्या छैन,’ उनका बुबा इस्माइल गदरजादे भन्छन्।अफसिन स्मार्टफोन चलाउन सिपालु छन्। तर, उनलाई फोन बोकेर हिँड्न सकस हुन्छ। ‘धेरैबेर चलाउनलाई फोन ज्यादा गह्रौँ हुन्छ। तैपनि म चलाउँछु,’ उनी भन्छन्।

गाउँमा उनका लागि कुनै काम छैन। उनी कार्टुन हेरेर र सामाजिक सञ्जाल स्क्रोल गरेर समय कटाउँछन्। एक साथीको सहयोगमा उनी इन्स्टाग्राम चलाउँछन्।स्थानीयबासीमाझ अफसिन निकै लोकप्रिय छन्। तर, गाउँमा उनी एक्लै हिँड्न सक्दैनन्। त्यसैले बुबाआमामध्ये सधैँ एक जना उनको साथमा हुनुपर्छ। उनी आफैँ हिँड्न सक्छन्। तर, कहिलेकाहीँ अरुले बोकेको मन पराउँछन्।

बच्चाका लागि बजारमा आएका कपडा उनलाई ठिक हुन्छन्। तर, बच्चाका लागि भनेर बनाइएका डिजाइन उनलाई फिटिक्कै मन पर्दैन। त्यसैले सिलाउन दिएर कपडा तयार गर्छन् उनी।

खेल नखेले पनि उनलाई जब कुर्दिस संगीत बज्छ, तब नाच्न खुब मन पर्छ।यसअघि २०१० मा ६७.०८ सेन्टिमिटरका नेपालका खगेन्द्र थापामगर विश्वकै होचा व्यक्ति बनेका थिए। एक वर्षपछि उनको कीर्तिमान तोडियो।

फेरि २०१२ मा नेपालका चन्द्र डाँगी सबैभन्दा होचा व्यक्ति भए। ५४.६ सेन्टिमिटरका उनी हालसम्म भेटिएकामध्ये सबैभन्दा होचा व्यक्ति हुन्। तर, २०१५ मा उनको निधनपछि थापामगर फेरि होचा व्यक्ति बने। २०२० मा उनको पनि मृत्यु भयो।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।