जीवजन्तु मारेर खाएकोमा बेयर ग्रिल्सलाई पश्चाताप, अब जिउँदो जनावर नखाने

जीवजन्तु मारेर खाएकोमा बेयर ग्रिल्सलाई पश्चाताप, अब जिउँदो जनावर नखाने

काठमाडौँ । विश्व प्रसिद्ध एड्भेन्चर शो ‘म्यान भर्सेज वाइल्ड’ का होस्ट बेयर ग्रिल्सले आफूले ‘शो’ को क्रममा जिउँदो जनावरलाई मारेर खाएकोमा पश्चाताप गरेका छन् । उनले सुरुआती दिनमा धेरै जनावरलाई मारेर खाएको स्वीवार गरे ।

तर हालैको एक अन्तर्वार्तामा उनले त्यसप्रति आत्मालोचना गरेका हुन् । यस्तै बेयरले अब आफ्नो शोका लागि कुनै पनि जीव हत्या नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बरु यसका लागि मरेका जनावरहरू नै खाने उनले बताएका छन् ।

‘मलाई लाग्छ कि बाँच्नका लागि वा खानाका लागि पक्कै पनि सुरुआती दिनहरूमा मैले ज्यादै धेरै सर्प, बिच्छी सहित धेरै जनावर मारें । मलाई यसमा ज्यादै पश्चाताप हुन्छ । अब म त्यसबाट धेरै पर आइसकेको छु,’ बेयरले भनेका छन् ।

 

यस्तै उनले सबैजसो महान व्यक्तिहरू इतिहासमा जंगलवासी नै बनेको र उनीहरूले ज्यान जोखिममा राखेर आफ्नो ऊर्जा खर्च गरेको स्मरण गराए । तर पछिल्लो समय उनले आफ्नो शो मा आएका ‘भेगान’ तथा साकाहारी व्यक्तिहरूबाट प्रेरणा मिलेको पनि बताए । र मासु खानेहरूबारे सोच बदलिएको पनि उनको धारणा थियो ।

बेयरले आफ्नो शो मा थुप्रै प्रसिद्ध व्यक्तिहरूलाई आफूसँगै जंगलमा पुर्‍याएका छन् । र उनीहरू सबैको सम्मान गर्ने उनले बताए । बेयर ग्रिल्सले यसअघि अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि जंगलमा लगेका थिए ।