काठमाडौँ । विद्युतीय कार निर्माण कम्पनी टेस्ला र सामाजिक सञ्जाल ट्वीटरका मालिक इलन मस्कले सबैभन्दा धेरै व्यक्तिगत सम्पत्ति गुमाउने नयाँ विश्व कीर्तिमान राखेका छन् ।विश्वका धनाढ्यहरूको सूचीको दोस्रोमा रहेका उनले सन् २०२१ को नोभेम्बरदेखि २०२२ को डिसेम्बरसम्म १ खर्ब ६५ अर्ब अमेरिकी डलर गुमाएका हुन् । विश्व कीर्तिमानबारे अभिलेख राख्ने गिनिज बुक अफ वर्ल्ड रेकर्डस्ले आफ्नो वेबसाइटमा प्रकाशित गरेको ब्लगमा यसबारे विस्तृतमा उल्लेख गरिएको छ ।
ब्लगमा उल्लेख गरिएका विवरणहरू फोर्ब्सले सार्वजनिक गरेका तथ्यांकमा आधारित भएका गिनिजले जनाएको छ । अन्य स्रोतबाट उपलब्ध विवरणहरूअनुसार भने मस्कले एक वर्षको अवधिमा गुमाएको सम्पत्ति अझै धेरै हुन सक्ने देखिएको ब्लगमा उल्लेख छ । विद्युतीय कार निर्माण कम्पनी टेस्लाको सेयरमा आएको उच्च गिरावटका कारण उनले उक्त सम्पत्ति गुमाएका जनाइएको छ । पछिल्लो समय सामाजिक सञ्जाल ट्वीटर खरिद गरेपछि उनी थप चर्चामा आएका थिए । मस्कले गत वर्ष ४४ अर्ब डलरमा ट्वीटर खरिद गरेका थिए । जसका कारण टेस्लाको सेयर अप्रत्याशित रूपमा घटेको थियो । ट्वीटर खरिद गरेसँगै टेस्लाका लगानीकर्ताहरू मस्कले कार निर्माण कम्पनीलाई समय नदिने भन्दै चिन्ता व्यक्त गरेका थिए ।
यसअघि जापानी प्रविधि लगानीकर्ता मासायोसी सोनले सन् २००० मा ५८.६ अर्ब अमेरिकी डलर गुमाएका थिए । उक्त कीर्तिमान मस्कले तोडेका हुन् । मस्कले गुमाएको सम्पत्तिको विवरण उनको स्वामित्वमा रहेका सेयरमा आएको गिरावटका आधारमा निकालिएको हो । जसका कारण सेयरको मूल्य पुनः बढेको खण्डमा भने उनको गुमेको सम्पत्ति फेरि बढ्न सक्छ ।
मस्क गत डिसेम्बरमा विश्वका धनीको सूचीमा पहिलो स्थानबाट दोस्रोमा झरेका थिए । थिए । उनलाई फ्रान्सेली विलासी सामग्री उत्पादक कम्पनी एलभीएमएचका मालिक बेअर्नार अर्नोले पछि पारेका थिए । मस्कसँग हाल १ खर्ब ७८ अर्ब डलर बराबरको सम्पत्ति रहेको फोर्ब्सले जनाएको छ । अर्नोको सम्पत्ति १ खर्ब ८८ अर्ब डलर छ । मस्को टेस्ला कम्पनीको सेयरमा सन् २०२२ मा ६५ प्रतिशतसम्म गिरावट आएको थियो ।
कम्पनीले गत वर्ष जम्मा १३ लाख वटा गाडी मात्रै बजारमा पुर्याएका कारण सेयर मूल्य घटेको जनाइएको छ । त्यसका साथै, ट्वीटर खरिद गरेपछि ठूलो संख्यमा कर्मचारीलाई बर्खास्त गर्ने र सामग्रीसम्बन्धी नीतिमा ल्याएको हेरफेरका कारण सेयरमा गिरावट आएको हो । मस्कले आफ्ना कम्पनीहरू टेस्ला र स्पेस एक्सले झैं ट्वीटरबाट पनि मनग्य पैसा कमाउने उद्देश्य राखेका कतिपयको दाबी थियो । तर व्यवसायका प्रयोगकर्ताका लागि निःशुल्क रहेको ट्वीटरबाट अर्थोपार्जन गाह्रो छ । त्यसका साथै, ट्वीटरमा विज्ञापन पनि कम छैन । फेसबुक र गुगलसरह ट्वीटरका उल्लेख्य प्रयोगकर्ता छैनन् ।
मस्कले भने ट्वीटरको ‘बृहत् सम्भावना’ उजागर गर्ने बताउने गरेका छन् । उनको जुन प्रकारको पृष्ठभूमि छ वा जसरी उनले अनलाइन भुक्तानी प्रणाली, विद्युतीय सवारीसाधन, रकेट कम्पनी, न्युरो टेक्नोलोजी लगायतलाई असाध्यै लोकप्रिय र आर्थिक रूपमा सबल बनाए, उनका कुरामा विश्वास गर्ने आधार देखिन्छ । इलनले हात हालेका जुन कुनै कम्पनी सफल भएका छन् । कतिसम्म भने हिजोआज त उनको एक ट्वीटले नै बजारमा उथलपुथल निम्त्याउने गरेको छ ।
ट्वीटर किनेर सेयर मूल्य ह्वात्तै बढेपछि यसलाई बेच्ने मस्कको रणनीति रहेको कतिपयको दाबी थियो । तर तत्कालका लागि त्यो पनि हुने अवस्था देखिएको छैन । उनले यसअघि पनि कम्पनीहरू बेचेर राम्रो नाफा हात पारेका थिए । ५० वर्षअघि दक्षिण अफ्रिकामा जन्मिएका मस्कले सन् १९९९ मा अनलाइन पेमेन्ट सिस्टम पेपाल स्थापना गरेका थिए । सन् २००२ मा उनले १.५ अर्ब डलरमा पेपाल इबे कम्पनीलाई बेचे । यसबाट उनलाई १८ करोड डलर फाइदा भएको टाइम म्यागजिनको रिपोर्टमा उल्लेख छ । त्यसपछि इलनले स्पेस एक्स नामक रकेट कम्पनी स्थापना गरे । यसले नासासँग मिलेर अन्तरिक्षका मिसनहरूमा काम गर्छ । मंगल ग्रहमा उपनिवेश खडा गर्ने इलनको लक्ष्य छ । उनी मान्छेको टाउकोभित्र कम्प्युटर जडान गर्ने परियोजनामा पनि काम गरिरहेका छन् ।
न्युरोलिंक नामक उनको कम्पनीले मानिसको खोपडीमा माइक्रोचिप्स जडान गर्ने र रोबर्टद्वारा मस्तिष्कको सर्जरी गर्ने प्रणाली निर्माणको काम गरिरहेको छ । आफूहरूले मानव मस्तिष्क र आर्टिफिसियल इन्टेलिजेन्सको सहअस्तित्व विकास गर्न खोजेको मस्क बताउने गर्छन् । न्युरोलिंकलाई उनको अनौठो र भविष्यवादी (फ्युचरिस्टिक) कम्पनीका रूपमा लिइन्छ ।
हार्वर्ड विश्वविद्यालयकी इतिहासविद् जिल लेपोरेले ‘दि इभनिङ रकेट’ नामक आफ्नो पडकास्टमा मस्कलाई साइन्स फिक्सनमा आधारित चरम पुँजीवादका प्रतिनिधि पात्रका रूपमा अर्थ्याउने गरेकी छन् । अन्तरिक्ष कब्जा गर्नुका साथै मानवताको रक्षा गर्ने जस्ता अजीव योजना बनाउने मस्कको पारालाई उनी ‘मस्किजम’ को संज्ञा दिन्छिन् । उनको परिभाषामा मस्किजम भनेको टेक्नो–युटोपियनिजम (प्रविधिसँग सम्बन्धित आदर्शवाद) हो, जुन असाध्यै आकर्षक र उत्तिकै खतरनाक छ ।
आफ्ना महत्त्वाकांक्षी परियोजनाबाहेक मस्क इन्टरनेटलाई ध्रुवीकरण गर्ने व्यक्तिका रूपमा पनि परिचित रहेको यूएसए टुडेको समाचारमा भनिएको छ । ६ सन्तानका पिता उनी ट्वीटरमा खुब चर्चित छन् । यहाँ उनी राजनीति र व्यवसायहरूबारे खुलेर अभिव्यक्ति दिन्छन् । इन्टरनेटको मिम कल्चरलाई उनले आत्मसात् गरेका छन् । उनका केही ट्वीटले कानुनी उल्झनसमेत निम्त्याएका छन् । आफ्ना प्रशंसकसँग बोल्न र जोडिन उनी ट्वीटर प्रयोग गर्छन्, यसलाई उनले मूलतः मनोरञ्जनको माध्यम बनाएको देखिन्छ ।
ट्वीटरका सहसंस्थापक एवं पूर्वप्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले मस्कलाई ट्वीटरका आइडल युजर (आदर्श प्रयोगकर्ता) भन्ने गरेका थिए । डोर्सेका अनुसार मस्कले जुन तरिकाले ट्वीटर प्रयोग गर्छन्, यो वास्तवमा त्यसरी नै प्रयोग गरियोस् भन्ने हेतुले विकास गरिएको थियो । डोर्से र मस्क मिल्ने साथी पनि हुन् । मस्कका धेरैजसो ट्वीट ठट्टा, ट्रोल वा वाहियात चुट्किलाका रूपमा आउँछन् । अन्टसन्ट ट्वीट, अभिव्यक्ति र व्यवहारलाई लिएर कतिपय सूचना प्रविधिविज्ञहरूले उनलाई एक ‘वयस्क बच्चा’ भन्छन् । तसर्थ केही दिनअघि मस्कले ट्वीटर किन्न चाहेको कुरा ट्वीट गर्दा कतिपयले उनी ‘यस विषयमा गम्भीर छैनन्, पहिलेझैं ठट्टा मात्रै गरेका हुन्,’ भनेका थिए ।
उनले केही समयअघिदेखि नै ट्वीटरको सेयर किन्दै आएको र पछिल्लो समय आफूसँग सबैभन्दा धेरै ९.२ प्रतिशत सेयर स्वामित्व रहेको खुलासा गरे । त्यसपछि ट्वीटरले उनलाई व्यवस्थापन बोर्डमा आउन आग्रह गरेको थियो । सुरुमा उनले मानेका भएपनि पछि बोर्ड सदस्य बन्दिनँ भने । त्यसको केही दिनपछि उनले ५४.२० डलर प्रतिकित्ता मूल्यमा ट्वीटर खरिद गर्न चाहेको बताए ।
त्यसपछि ट्वीटरको बोर्ड समितिले कम्पनी बेच्ने निर्णय गरेको जनाएपछि इलनले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद गरेका हुन् । सन् २००६ मा स्थापना भएदेखि नै ट्वीटर सधैं खराब व्यवस्थापकको हातमा परेको जानकारहरूको भनाइ छ । तर इलनले पनि यसलाई प्रभावकारी ढंगले अघि बढाउनेमा भने शंकै छ ।