नेपालभरिका सिडियो सतर्क बनाउने दुर्गा प्रसाई को हुन्?

नेपालभरिका सिडियो सतर्क बनाउने दुर्गा प्रसाई को हुन्?

काठमाडौं । झापाका दुर्गा प्रसाई अहिले वित्तीय संस्थाविरूद्ध अभियान चलाएर चर्चामा छन् । ‘लघुवित्त तथा वित्तीय संस्थाका मानिस गाउँमा आए भने च्याप्प समाउने कालो मोसो दलिहाल्ने । बैंकको मान्छेले टर्चर गर्‍यो भनेर बैंकभित्र पसेमा डाँका मुद्दा लाग्छ तर बाहिर रूँघेर बस्ने कालोमोसो दल्ने’ उनको यो अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा छाएको छ । उनले बैंक वित्तीय संस्थाको ऋण नतिर्न पनि उक्साइरहेका छन् ।

साथै प्रसाईले बैंकका माथिल्लो तहका कर्मचारीलाई फोन गरेर थर्काइरहेको कुरा पनि सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको छ । प्रसाईका अभिव्यक्ति र क्रियाकलापबाट आफूहरूले असहजता महसूस गरेकाले काम गर्ने वातावरण राज्यले बनाई दिनुपर्ने माग वित्तीय क्षेत्र सम्बद्ध व्यक्तिहरूले गरेका छन् ।

गृह मन्त्रालयले पनि प्रसाईको अभिव्यक्तिपछि सबै जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई पत्राचार गरेर सुरक्षा निकायलाई सतर्क अवस्थामा राख्न निर्देशन दिएको गृह मन्त्रालयका अधिकारी बताउँछन् । कुनै पनि व्यक्तिले शान्ति भंग हुने, हूलदंगा निम्तिने, जातीय एवं साम्प्रादायिक सद्भाव खलबलिने किसिमले प्रचारप्रसार गर्न वा नारा जुलुस गर्न नपाइने गृहका अधिकारी बताउँछन् ।

Europass CV in Nepal

यस्ता किसिमका क्रियाकलाप र विवादीत टिप्पणी गरेर पटकपटक चर्चामा आइरहने प्रसाई आखिर को हुन् त ? सर्वत्र जिज्ञासाको विषय बनेको छ । झापा, बिर्तामोडका स्थायी निवासी प्रसाई बीएन्डसी मेडिकल कलेजका सञ्चालकका रूपमा बढी चिनिन्छन् । नजिकबाट चिन्नेहरू मेडिकल कलेजबाहेकका क्षेत्रमा पनि प्रसाईको लगानी भएको बताउँछन् ।

पूर्वी पहाडको तेह्रथुमबाट झापा झरेका प्रसाईको परिवार सामान्य आर्थिक अवस्थाको थियो । खेतीपाती गरेर जीविकोपार्जन चलाउँथ्यो । प्रसाईले ८ कक्षाभन्दा बढी पढेका छैनन् । उनले कलिलै उमेरमा विवाह गरे । केही समय प्रसाई ग्रिल फ्याक्ट्रीमा काम गरेका उनी रोजगारीका लागि यूरोप पनि पुगे । यूरोपमा धेरै समय टिक्न नसकेपछि स्वदेश फर्किए । विदेशमा भैंसी फार्ममा काम गरेका अनुभवले प्रसाईले बिर्तामोडमा व्यावसायिक रूपमा भैंसी पाल्न थाले ।

प्रसाईले भारतको हरियाणाबाट उन्नत जातका भैंसी किनेर फार्म शुरू गरेको स्थानीय बताउँछन् । त्यतिबेला प्रसाईसँग सयओटा जति भैंसी थिए । प्रसाईले दूधसँगै भैंसी पनि बेच्थे । नेपालमा मात्र नभएर उनको फार्मबाट उत्पादित दूध मेची नदीपारि भारतसम्म पुग्थ्यो । बैंकबाट ऋण लिएर शुरू गरेको भैंसीपालन केही समय राम्रैसँग चले पनि पछि चलेन । प्रसाईले बैंक ऋणको साँवाब्याज नियमित तिर्न सकेनन् । थप ऋण माग्न जाँदा बैंकले पत्याएनन् । अन्ततः प्रसाईको भैंसीपालन व्यवसाय डुब्यो ।

शुरूमा नेपाली कांग्रेसमा आबद्ध रहेका प्रसाई व्यवसाय डुबेपछि त्यतिबेला भूमिगत अवस्थामै रहेको नेकपा माओवादीमा लागेको बताइन्छ । पारिवारिक अंशका लागि मुद्दा लडिरहेका आफ्ना सालालाई सहयोग गर्न प्रसाईले ससुराविरुद्ध माओवादी छापामार प्रयोग गरेको उनलाई चिन्नेहरूको भनाइ छ । अदालतमा लामो समयदेखि छिनोफानो हुन नसकेको मुद्दामा माओवादी त्रासका कारण ससुरा अंश दिन तयार भए र प्रसाईका सालाले जग्गा पाए ।

उक्त जग्गा पाएपछि प्रसाईको भाग्य चम्किएको स्थानीय बताउँछन् । सालासँग मिलेर जग्गा प्लटिङ गरी धुरको ५ लाख रुपैयाँसम्ममा बेचेपछि उनले थुप्रै धन आर्जन गरेको जानकारहरूको भनाइ छ । यसरी कमाएपछि प्रसाईले काठमाडौंमा पनि जग्गाको कारोबार गरे । भक्तपुरमा आलिसान घर बनाए । सोही घरमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई मार्सी चामलको भात खुवाएको फोटो सार्वजनिक भएपछि प्रसाई राष्ट्रिय स्तरमै चर्चामा आए ।

उनले बीएन्डसी मेडिकल कलेजका साथै थुप्रै व्यवसायमा हात हालेको बताइन्छ । नेकपाको विघटनपछि नेकपा (एमाले) प्रवेश गरेका प्रसाईलाई एमाले नेतृत्वले केन्द्रीय सदस्यको जिम्मेवारी दियो । त्यसपछि माओवादी अध्यक्ष दाहालको चर्को आलोचना गर्दै प्रसाईले चुनावअघि ५ लाख मान्छे एमालेमा प्रवेश गराउँछु भन्न थाले । उनले मेडिकल कलेज चलाउन खोजे पनि डा. गोविन्द केसीले आन्दोलन गरेका कारण मेडिकल कलेजको लाइसेन्स पाउन सकेका छैनन् ।

संयुक्त अरब इमिरेट्सका राजकुमारलाई नेपाल भ्रमणमा ल्याएर उनीबाट सुनको छडी उपहार पाएको भनेर पनि प्रसाईको चर्चा भयो । प्रसाईले फागुन १ गते पूर्वराजपरिवारका सदस्यलाई साक्षी राखेर राजसंस्था पुनःस्थापनाका लागि भन्दै मेचीपुलबाट अभियान शुरू गरेको घोषणा गरे । उक्त कार्यक्रममा पनि बैंक तथा वित्तीय संस्थाविरुद्ध अनेक कुरा गरेका प्रसाईले शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा पनि सोही शैली र प्रसंग दोहोर्‍याए ।

छोटो समयमा आर्जन गरेको सम्पत्तिका साथै यूएईका राजकुमारसँगको सम्बन्धलाई लिएर प्रसाईलाई शंकाको दृष्टिले हेर्ने गरिन्छ । बैंक तथा वित्तीय संस्थालाई गालीगलौज गर्दै हिँडे पनि उनले आफ्नो व्यवसायका लागि भने तिनै वित्तीय संस्थाबाट कर्जा लिएका छन् । कतिपयले उनलाई बैंक कर्जा तिर्न मुश्किल परेको आंशका गरे पनि उनी भने कर्जाको साँवाब्याज भाकाअनुसार तिरिरहेको दाबी गर्छन् । साभार : अभियान डेली