मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 15 September 2026
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
रोचक

७५ बर्षीय बृद्धलाई हनी ट्र्यापमा पार्ने महिला धरौटीमा रिहा

Himali Patrika 1 मिनेट पढाइ

दाङ, ३० फागुन । दाङको लमही नगरपालिका वडा नं. ९ लमहीका ७५ वर्षीय जानकीलाल बस्नेतसँग बिहेको नाटक गरी १२ कठ्ठा जग्गा आफ्नो नाममा लैजाने तुलसीपुरकी कमला थापा धरौटीमा छुटेकी छन् ।

दाङ जिल्ला अदालतले थुनछेक बहस गरी एक लाख धरौटीमा छोड्न उनलाई आदेश दिएको हो।धरौटी रकम बुझाएर उनी तारेखमा छुटेकी छन्।न्यायाधीश रामप्रसाद बत्यासको इजालसबाट फागुन २७ गते उक्त आदेश भएको अदालतका सूचना अधिकारी राजेन्द्र शर्माले बताए ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बरुवा गाउँकी ३७ वर्षीया कमलाले कात्तिक २८ गते (साबिक फूलबासी गाविस वडा नं. ५) हालको अमेलिया नगरपालिका– ९ स्थित बस्नेतको नाममा रहेको कित्ता नं. १९ को १ बिगाहा ८ कठ्ठा १५ धुर जग्गामध्ये १२ कठ्ठा १५ धुर जग्गा आफ्नो नाममा पास गराएकी थिइन्।

पीडित बस्नेतले कमलाले आफूसँग विवाह गर्छु भनेर जग्गा आफ्नो नामसारी गरेपछि सम्पर्कविहीन बनेको हुँदा आफूमाथि जालसाजी भएको भन्दै ठगी मुद्दा दर्ता गरेको अदालतका सूचना अधिकारी शर्माले बताए।

बस्नेतले केही दिनअघि तुलसीपुरमा पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएका थिए।६ महिना लामो सम्बन्धका कारण आफू विश्वासमा परेर एक लाख बढी रकम, एउटा सुनको औंठी र लाखौं मूल्य पर्ने जग्गा कमलालाई पास गरिदिएको भए पनि उनले धोका दिएको हुँदा मुद्दा दायर गरेको बताएका थिए। त्यतिखेर उनले आफूले जग्गा फिर्ता पाउनु पर्ने माग पनि गरेका थिए।

बस्नेतले माघ २५ गते कमलाविरूद्ध जिल्ला प्रहरी कार्यालय घोराहीमा पुगेर बिहेको नाटक गरी आफ्नो जग्गा फुत्काएर सम्पर्कविहीन बनेको भन्दै जालसाजी र ठगी मुद्दा दिएका थिए। सोही जाहेरीका आधारमा उनी पक्राउ परेकी थिइन्।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।