राज्यमन्त्री वलीले बस्नेतको घरमा गरेको हर्कतको कारण ‘लेनदेन’ पनि

राज्यमन्त्री वलीले बस्नेतको घरमा गरेको हर्कतको कारण ‘लेनदेन’ पनि

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्य मन्त्री बिमला खत्री वलीले गरेको हर्कतपछि मंगलबार दिनभर उनको चर्को विरोध भयो। प्रहरी प्रशासनलाई आक्रोशित स्थानीय शान्त पार्न निकै सकस खेप्नुपर्‍यो।

मंगलबार बिहान करिब ८ बजे अंगरक्षकसहित झण्डावाला गाडी लिएर दाङ तुलसीपुर उपमहानगरपालिका-५ आलुमण्डीस्थित एकराज बस्नेतको घरमा प्रवेश गरि उनकी पत्नी मिना र नाबालिक छोरीलाई कुटपिट गरेपछि प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको थियो।

राज्यमन्त्रीलाई आक्रोशित स्थानीयले बस्नेतकै घर भित्रै थुनेर राखेको खबर पाउना साथ पुगेको प्रहरी टोलीले उनलाई उद्धार गरि ल्याएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी नलप्रसाद उपाध्यायले सेतोपाटीलाई जानकारी दिए।

Europass CV in Nepal

उत्तेजित भिडले राज्यमन्त्री वली घरभित्रै रहेको र बाहिर दर्जनौं सर्वसाधारण मोसो लगाउनका लागि ठिक्क परी बसेको अवस्थामा ‘उद्धार’ गरी ल्याउनु परेको उपाध्यायले जानकारी दिए।

‘मिना भण्डारी बस्नेतको घरमा प्रवेश गरी उहाँहरूमाथि कुटपिट गर्नुका साथै दराज खोलेर सरसामान फालिदिएको हुँदा बाहिर मानिसहरू जम्मा भई मोसो दल्ने वा कुटपिटको तयारी भइरहेको रहेछ,’ डिआइजी उपाध्यायले भने, ‘त्यहीबेला प्रहरी पुगेर उहाँलाई उद्धार गरिएको हो।’

त्यहाँबाट भिड छिचोल्दै प्रहरीले राज्य मन्त्री वलीलाई झन्डै साढे ३ घन्टा जति इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेको थियो।

तर, राज्यमन्त्रीको ब्यवहारबाट आक्रोशित स्थानीय इप्रकामै पुगेर राज्यमन्त्री विरूद्ध नाराबाजी गर्दै कारबाहीको माग गरे।

घोराहीबाट जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्ले आफैं खबर सार्वजनिक हुनासाथ तुलसीपुर पुगिसकेका थिए।

तनावपूर्ण वातावरण मत्थर पार्ने प्रयास सफल नहुने देखेपछि मध्यान्ह १२ बजेतिर प्रहरीले कडा सुरक्षा बिच राज्यमन्त्री वलीलाई घोराही लगेको थियो।

राज्य मन्त्री वली बेलुका अबेरसम्म त्यही बसेको एसपी काफ्लेले जानकारी दिए। प्रहरी अधिकारीका अनुसार राज्यमन्त्री वलीले आफ्नो फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरिएको तथा आफ्नो पैंसासमेत नदिएकोले आवेगमा आएर बस्नेतको घर पुगेको उनले प्रहरीसमक्षा बताइन्।

‘एक राज बस्नेत र उहाँको बीचको आन्तरिक सम्बन्धको कुरा पनि होला,’ एक प्रहरी अधिकारीले सेतोपाटीसँग भने, ‘मुख्य कुरा आपसी लेनदेन रहेको प्रहरी समक्ष बताउनुभएको छ।’

वाइसिएलका नेता बस्नेत पेसाले काठ ब्यवसायी हुन्। उनको तुलसीपुरमा काठमिल पनि छ। प्रहरी अधिकारीका अनुसार घटना हुनुभन्दा केही दिन पहिले बस्नेत काठको खोजीमा अर्घाखाँची पुगेका थिए।

राज्य मन्त्री वली र बस्नेतका बिचमा भएको भनिएको लेनदेन कति हो? त्यो स्पष्ट नभएको ती प्रहरी अधिकारीले बताए।

‘राज्यमन्त्रीज्यूले लेनदेन कतिको हो भन्ने बारेमा हिसाब गर्नुपर्छ भनेर भन्नु भएको थियो,’ ती प्रहरी अधिकारीले भने, ‘विस्तारै तथ्य कुरा खुल्दै जाला।’

हाल राज्यमन्त्री वली बुटवल पुगिसकेकी छन्। उनका प्रेमी भनिएका बस्नेत पनि प्रहरी सम्पर्कमा आइसकेका छन्।

‘उहाँलाई हामीले बोलाएका छौं,’ एसपी काफ्लेले भने, ‘आज उहाँ प्रहरीको सम्पर्कमा आउँछु भन्नु भएको छ।’

घटनापछि बस्नेतकी श्रीमती मिना भण्डारी बस्नेतले इलाका प्रहरी कार्यालयमा राज्यमन्त्री बिरूद्ध उजुरी दिएकी छन्।

उजुरी दिए पनि दर्ता भएको छैन। हदम्याद भित्र प्रहरीले उजुरी दर्ता गर्ने एक अधिकारीले बताए। ‘हामीले बाहालवाला मन्त्रीलाई पक्राउ गर्न र थुन्न पाउने कानुन छैन,’ ती प्रहरी अधिकारीले भने, ‘ब्यवस्थापिका संसद चलिरहँदा सभामुखको पत्र वा आदेश बिना हामीले केही गर्न सक्ने अवस्था रहँदैन।’

प्रशासन र सभामुखबाट पत्राचार वा समन्वयमा मात्रै उजुरी दर्ता लगाएतका प्रक्रिया अगाडि बढ्ने ती अधिकारीले जानकारी दिए।

राज्यमन्त्रीको हर्कत सार्वजनिक भएपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ। नेकपा एमालेले उनलाई राज्यमन्त्रीबाट बर्खास्त गर्न माग गरिसकेको छ।

Europass CV in Nepal